खाद्य संस्थानले ९१ करोडको धान खरिद गर्ने «

खाद्य संस्थानले ९१ करोडको धान खरिद गर्ने

सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार नै केही दिनमै धान खरिद प्रक्रिया सुरु गर्ने संस्थानले जानकारी दिएको छ ।

नेपाल खाद्य संस्थानले यस वर्ष किसानबाट ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । संस्थानले आन्तरिक कार्यक्रमअन्तर्गत ९१ करोड रूपैयाँ बराबरको ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार नै केही दिनमै धान खरिद प्रक्रिया सुरु गर्ने संस्थानले जानकारी दिएको छ ।
किसानलाई उचित मूल्य दिई सहुलियतर दरमा चामल वितरण गर्न संस्थानले विभिन्न जिल्लाबाट धान खरिद गर्न लागेको हो । संस्थानका प्रवक्ता शंकर सापकोटाले आन्तरिक कार्यक्रमअन्तर्गत ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको बताए । “अहिले हामीले ९१ करोड रूपैयाँ बराबरको धान खरिद गर्न लागेका छौं,” उनले भने, “आवश्यकताअनुसार थप परिणाममा धान खरिद गर्दै जान्छौं ।” सरकारको निर्देशन अनुसार खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले धान खरिद गर्न संस्थानलाई निर्देशन दिइसकेको छ । कूल उत्पादनको एक प्रतिशत धान खरिद गर्न सरकारले निर्देशन दिएको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार संस्थानले धान खरिद गर्ने छ । सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ र मध्यम धान प्रतिक्विन्टल २ हजार ४ सय ६० रूपैयाँ मूल्य निर्धारण गरेको छ ।
धान खरिद गर्न आवश्यक पर्ने रकम उपलव्ध गराउन अर्थ मन्त्रालयले सहमति दिएको मन्त्रायलले जानकारी दिएको छ । बजारमा सस्तो मूल्यमा बिक्री भइरहेका बेला किसानलाई उचित मूल्य उपलब्ध गराउन सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको हो । व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्ने हुँदा किसानलाई लागत मूल्यसमेत उठाउन कठिन हुने गरेको थियो । संस्थानले गत वर्ष ५८ करोड रूपैयाँको १ लाख ८५ हजार क्विन्टल धान खरिद गरेको थियो । किसानबाट खरिद गरेको धान संस्थानले आफ्नै मिलमा कुटाएर उपभोक्तालाई सहुलियत दरमा वितरण गर्ने गर्छ । संस्थानले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सिरहा, धनुषा, पर्सा, रूपन्देही, मोरङ, झापालगायतका जिल्लाबाट धान खरिद गर्ने गर्छ ।
संस्थानले अघिल्ला वर्ष जिल्लाअनुसार फरक–फरक मूल्यमा धान खरिद गरेको थियो । यो वर्ष समर्थन मूल्यअनुसार मात्र खरिद गर्ने छ । भारतीय व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्ने गरेका छन् । स्वदेशबाट खरिद गरेको धान भारतमा लगेर पुनः चामल आयात हुने गरेको छ । गत वर्ष नेपालमा ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष मौसम अनुकूल भएकाले धानको उत्पादन बढ्ने कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्