चीनको म्यानुफ्याक्चरिङ वृद्धि घट्यो

अघिल्लो महिनाको तुलनामा डिसेम्बरमा म्यानुफ्याक्चरिङको वृद्धि थोरैले ओरालो लागेको चिनियाँ सरकारको सर्भेले देखाएको छ । बैंकिङ कर्जा प्रवाहमा सरकारी नियन्त्रण कायम भएपछि म्यानुफ्याक्चरिङ गतिविधि ओरालो लागेको हो ।
देशको म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्सको सूचक अघिल्लो महिनाको ५१.८ बाट ५१.६ मा ओर्लिएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
यो सूचक १०० अंकमा आधारित छ । ५० भन्दा माथिको अंकले क्षेत्रमा विस्तार भएको जनाउँछ भने मुनिको अंकले संकुचन भएको जनाउँछ । उत्पादन र नयाँ अर्डर नोभेम्बरको तुलनामा थोरैले मात्र कम भएको तर लगातार वृद्धि भएको छ । उत्पादन ५४ अंकमा रहेको र नयाँ अर्डर ५३.४ मा रहेको छ ।
पीएमआईलाई चिनियाँ अर्थतन्त्रको अत्यावश्यक अंशका रूपमा हेरिने गरिन्छ । तेस्रो त्रैमासिक अवधिमा चिनियाँ अर्थतन्त्र वार्षिक दरका आधारमा ६.८ प्रतिशतले वृद्धि भएको थियो । वृद्धिको यो दरलाई अझै पनि विस्फोटक मानिएको छ ।
बढ्दो अवस्थाको ऋण नियन्त्रण गर्न बेइजिङले कडाइ गरेसँगै गतिविधि कमजोर हुने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् ।