नेपाल पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते काठमाडौंमा «

नेपाल पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते काठमाडौंमा

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले फागुन ४ र ५ गते काठमाडौंमा महासंघको २६ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा सम्पन्न भएको बैठकले उक्त निर्णय गरेको महासंघले जनाएको छ । प्रदेशका अध्यक्षहरू र सिन्धुपाल्चोक शाखा अध्यक्षसमेत आमन्त्रित उक्त बैठकका निर्णय जानकारीका लागि प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघले आफनो विधानको व्यवस्था र प्रक्रियालाई ध्यान दिँदै फागुन ४ र ५ गते काठमाडौंमा महासंघको २६ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको तयारीसम्बन्धी कार्यका लागि केन्द्रीय कार्यालयलाई जिम्मा दिने निर्णय गर्दै बैठकले केन्द्रीय महाधिवेशन अघि नै प्रदेश र शाखाहरूको अधिवेशन (साधारणसभा) सम्पन्न गरिसक्नुपर्ने विधानको व्यवस्था एवम् यसअघिको बैठकबाट भएको निर्णयबमोजिम माघ २० गतेसम्म शाखाको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारणसभा सम्पन्न गरिसक्न आगह पनि गरेको छ ।
यसअघिको बैठकले नयाँ सदस्यता आवेदन प्रक्रिया बन्द गरिसकेकाले शाखाहरूले सदस्यता स्वीकृत गरी अनुमोदनका लागि प्रदेशमा पठाएका सदस्यताबारे आवश्यक निर्णय गरी अनुमोदन भएका नयाँ सदस्यहरूको विवरण माघ १५ गतेसम्म केन्द्रीय कार्यालयमा सबै प्रदेश समितिले पठाइसक्नु पर्ने बैठकले जनाएको छ ।
केन्द्रीय महाधिवेशन सम्पन्न भएको कम्तीमा ३० दिनभित्र महासंघका केन्द्र, प्रदेश र शाखा गरी तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बैधानिक व्यवस्थाबमोजिम निर्वाचन प्रक्रिया सम्पन्न गर्न १ जना वरिष्ठ पत्रकारको संयोजकत्वमा ४ जना अधिवक्ता र समावेशी क्षेत्रका पत्रकारको समेत प्रतिनिधित्व हुने गरी ७ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, प्रतिनिधिसभा विघटन र त्यसपछिका राजनीतिक घटनाक्रमवाट संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको संविधान, नागरिक अधिकार एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिनेतर्फ महासंघ सजग र थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको पक्षमा महासंघ दृढतापूर्वक उभिने निर्णय गर्दै महासंघले संघ, प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका र गर्ने क्रममा रहेका कानुनहरूमा प्रेस स्वतन्त्रता विरोधी कुनै पनि प्रावधानहरू नराख्न आग्रह गरेको र्छ । मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रसारण विद्येयक लगायत विभिन्न विधेयक र पारित कानुनमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन महासंघको अभियान जारी राख्ने निर्णय गर्दै महासंघले श्रमजिवी पत्रकारको अधिकार प्राप्तिका लागि गरिरहेको दवावमूलक संघर्षसहितका गतिविधिप्रति सकारात्मक रहँदै कतिपय सञ्चार प्रतिष्ठानहरूमा श्रमजीवी पत्रकारहरूलाई बिना नियुक्ति पत्र काममा लगाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिने, नियमित पारिश्रमिक भुक्तान नगर्ने, पारिश्रमिक कटौती गर्ने, बेतलवी बिदामा राख्ने र गैरकानुनी तबरले निष्कासन गर्ने गतिविधि नरोकिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कोभिड–१९ महामारीबाट प्रभावित सञ्चारमाध्यम र पत्रकारहरूलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन महासंघ आग्रह गर्दै महासंघले स्वरोजगारमूलक मिडियालाई सम्वद्र्धन र प्रवद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष आग्रह पनि गरेको छ ।
कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगर्ने संवैधानिक हकको सम्मान गर्दै अनलाइनलगायतका सञ्चारमाध्यमको नवीकरणलाई सहज बनाउन आग्रह गर्दै बैठकले स्थानीय तहबाटै मिडियाको दर्ता, नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास वितरण र विमाको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
यस्तै, आमपत्रकारहरूलाई आफ्नो पेसाको मार्यादा र प्रतिष्ठा कायम राख्न पत्रकार आचारसहिंता पालनाप्रति संवेदनशील हुन आह्वान गर्दै बैठकले सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा हालै सर्वोच्च अदालतबाट जारी भएको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्