धम्पुसपिकको ६ जनाद्वारा सफल आरोहण «

धम्पुसपिकको ६ जनाद्वारा सफल आरोहण

पोखरा-कोभिड–१९ बाट सुस्ताएको नेपालको पर्यटनलाई आन्तरिक पर्यटन प्रवर्धनमार्फत पुनरुत्र्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले मुस्ताङमा रहेको ६०१२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् ।
पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा उनीहरूले उक्त पिक हालै आरोहण गरेको नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश)का प्रमुख काशीनाथ भण्डारीले बताए । माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोली शिखरमा पुगेर नेपालको झण्डा फहराएको आरोहण दलका संयोजक जीवनराज सापकोटाले बताए । पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीहरू, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) का प्रतिनिधिहरू, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहितको २६ जनाको टोलीलाई नेपालको, गण्डकी प्रदेश सरकारको, नेपाल पर्यटन बोर्डको र नेपाल पर्वतारोहण संघको झण्डा हस्तान्तरण गरि धम्पुस पिकको सफल आरोहणको शुभकामना दिएको थियो । उक्त धम्पुस पिकको सफल आरोहण गर्ने पर्वतारोहीहरूमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दिपेशबाबु सूबेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी),
सुदीप गौतम (कास्की) र हीराकुमारी मल्ल (स्याङजा) रहेका छन् ।
तीव्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरू शिखर नजिकै पुगेर पनि फर्कन बाध्य भएको आरोहण दलका संयोजक सापकोटाले बताए । त्यसैगरी पोखराका पत्रकार दिपक परियार लेकलागेका कारण आधार शिविरबाट फर्केको उनले जनाए । पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहेता पनि आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य राखेर नेपालीहरूलाई पनि तुलनात्मक रूपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिक जस्ता धेरै हिम शिखरहरूको आरोहण गराउन सकिन्छ भन्ने सन्देश दिन यो अभियानको सुरुवात भएको प्रमुख भण्डारीले जनाए । हाल आन्तरिक पर्यटकहरू दृश्यावलोकन पदयात्रा, प्याराग्लाइडिङ, राफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिहरूमा अत्याधिक रमाउने गरेका छन भने धम्पुस पिकको सफल आरोहणले अब उप्रान्त आन्तरिक पर्यटकहरूका लागि पर्वतारोहण पनि आर्कषक पर्यटकीय उपजको रुपमा स्थापित हुने विश्वास लिइएको उनले जनाए । साथै आरोहण टोलीमा पदयात्रा पर्यटन व्यवसायीहरू समेत रहेको र उनीहरूले प्रशिक्षकहरूबाट तालिमसमेत लिएकाले आन्तरिक पर्यटकहरूका लागि उपयुक्त पर्वतारोहणको प्याकेज तयार गर्नसमेत मद्दत पुग्ने भएको संयोजक सापकोटाले जनाए ।
फ्रेन्च नागरिक मौरिस हर्रजोगले सन् १९५० को जुनमा गण्डकी प्रदेशमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१मी) चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भए तापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिम श्रृंखलामा रहेका शिखरहरूको आरोहण गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको रोजाइमा ८००० मिटर भन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्याण्ड पिक, पिसाङ पिकहरू पर्दछन । यीमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपूर्ण श्रृंखलामा पर्दछ भने अन्य पिकहरू सगरमाथा क्षेत्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्