पोखरामा विदेशी पर्यटक ८६ प्रतिशत घटे «

पोखरामा विदेशी पर्यटक ८६ प्रतिशत घटे

पोखरा-सन् २०२० मा पोखरामा ९ हजार ३ सय ३८ जना विदेशी पर्यटक हवाई उडानबाट भित्रिएका छन् । सन् २०२० मा हवाई उडानबाट पोखरा आउने तथा पोखराबाट अन्यत्र जाने २५ हजार ५ सय ८५ जना पर्यटकमध्ये ९ हजार ३ सय ३८ पर्यटक विभिन्न क्षेत्रबाट पोखरा भित्रिएको पोखरा नागरिक उड्डयन कार्यालय, पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
सन् २०२० मा पोखराबाट हवाई उडान हुँदै १६ हजार २ सय ४७ जना पर्यटक काठमाडौं, चितवन, भैरहवालगायतका क्षेत्रतर्फ बाहिरिएको उनले जनाए । सन् २०१९ मा भने ८२ हजार ३ सय १ जना विदेशी पर्यटक हवाई उडानमार्फत पोखरा भित्रिएका थिए भने पोखराबाट १ लाख ११ हजार १ सय ४१ जना विदेशी पर्यटक बाहिरिएको कार्यालयले जनाएको छ ।
सन् २०२० मा हवाई उडानबाट पोखरा आउने तथा पोखराबाट अन्यत्र जाने पर्यटकहरूको संख्यामा भारी गिरावट आएको छ । सन् २०१९ भन्दा २०२० मा हवाई उडानबाट ८६ प्रतिशतजसो पर्यटक आगमनमा गिरावट आएको छ । सन् २०१९ मा पोखरामा हवाई उडानबाट १ लाख ९३ हजार ४ सय ४२ जना पर्यटक आउने तथा जाने गरेका थिए भने सन् २०२० मा भने २५ हजार ५ सय ८५ जना मात्र पर्यटक पोखरा आउने तथा पोेखराबाट अन्यत्र जाने गरेको सूचना अधिकारी सुवेदीले बताए ।
सन् २०२० मा भन्दा सन् २०१९ मा १ लाख ६७ हजार ८ सय ६७ जना बढी पर्यटक हवाई उडानबाट पोखरामा आउने तथा जाने गरेको उनले जनाए ।
सन् २०१९ भन्दा सन् २०२० मा हवाई उडान ७२ प्रतिशतले कमी भएको छ भने हवाई उडानमा यात्रा गर्ने पर्यटकको समग्र पर्यटकको संख्यामा ६४ प्रतिशतले ¥हास आएको सूचना अधिकारी सुवेदीले बताए । सन् २०१९ मा पोखराबाट ३९ हजार ९ सय २० वटा हवाई उडान हुँदा भन्दा सन् २०२० मा भने ७२ प्रतिशतले कमी आउँदा ११ हजार १ सय १८ वटा मात्र हवाई उडान भएको उनले जनाए ।
त्यस्तै सन् २०२० मा भन्दा सन् २०१९ मा २ लाख ३१ हजार ४ सय ३५ जना बढी पर्यटक हवाई उडानबाट पोखरा आउने तथा जाने गरेका थिए ।
सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा जनवरी र फेब्रुअरीमा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा भने हवाई उडानसँगै विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट अन्य ठाउँमा जानेको संख्या वृद्धि भएको थियो । सन् २०१९ को जनवरीमा २ हजार ९ सय १० वटा हवाई उडान हुँदा १२ हजार ९ सय ५५ जना विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट बाहिर जाने गरेको सूचना अधिकारी सुवेदीले बताए ।
सन् २०२० को जनवरीमा भने ३ हजार ६५ वटा हवाई उडान हुँदा १३ हजार २ सय ५६ विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट बाहिर जाने गरेको उनले जनाए । त्यसैगरी सन् २०१९ को फेब्रुअरीमा २ हजार ७ सय ४८ वटा हवाई उडान भयो भने सन् २०२० को फेब्रुअरीमा २ हजार ३ सय ८१ पोखरामा हवाई उडान भएको थियो ।
कोरोना भाइरसले गर्दा नेपालको इतिहासमा पहिलो पटक लगातार रूपमा हवाई उडान बन्द हुन पुग्यो । सन् २०२० को लगातार पाँच महिना अप्रिल, मे, जुन, जुलाई र अगस्टमा पोखरामा न्यून संख्यामा हवाई उडान भए पनि विदेशी पर्यटक भने एक जना पनि यात्रा नगरेको कार्यालयले जनाएको छ । जुलाईदेखि हवाई उडान सुरु भए पनि हाल पर्यटक आगमनमा केही सुधार हुँदै आएको सूचना अधिकारी सुवेदीले बताए ।
पोखरामा हाल पोखरा अल्ट्रालाइट, हेलियरको सेवा जारी छ भने एभिया क्लब र फिस्टेल अल्ट्रालाइटले पूर्ववत् रूपमा अझै आफ्नो सेवा सञ्चालनमा ल्याउन सकेको छैन । पोखरालाई बेस बनाएर प्रभु हेलिकप्टरले सेवा दिइरहेको छ ।
बुद्ध एयर, यति एयरलाइन्स, सिम्रिक एयर र तारा एयरले पोखरा–काठमाडौं, काठमाडौं–पोखरा, पोखरा–भरतपुर, पोखरा–भैरहवा, भैरहवा–पोखरा, पोखरा–जोमसोम, जोमसोम–पोखरालगायतका ठाउँमा हवाई उडान गर्दै आएका छन् । त्यसैगरी पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनका लागि विभिन्न कम्पनीका हेलिकप्टर तथा अल्ट्रालाइटसमेत सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्