खिचरा महोत्सवको तयारी

खिचरा महोत्सवको तयारी
चितवन, २३ पुस (कास: पूर्वी चितवनमा खिचरा महोत्सव हुने भएको छ । थारु संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २८ गतेदेखि पूर्वीचितवनको खैरहनी–५ जवकौलीस्थित गौचरनमा खिचरा महोत्सव हुन लागेको हो । थारु समुदायको मुख्य पर्व माघी (खिचरा) को अवसर पारेर सो महोत्सव हुन लागेको हो ।
महोत्सव आयोजक मूल समितिका संयोजक नारायण महतोले थारु संस्कृतिको संरक्षण गर्न महोत्सवले सघाउने बताए । थारु खानाका परिकारहरूको प्रचारप्रचार, थारु सस्कृति र सांस्कृतिक सीपको विकास तथा समग्र कृषि, पर्यटन, व्यापार व्यवसायको प्रर्वद्धन हुने बताए । विगत पाँच वर्षदेखि यो समुदायले खैरहनीमा खिचरा महोत्सव गर्दै आएको छ । महोत्सवमा करिब २ सयवटा स्टल रहने छन् । यस वर्ष महोत्सवलाई थप आकर्षक बनाउन थारु जातिका मुख्य खानामध्ये घोंघी र चिचरको पाँच फिट अग्लो मूर्ति प्रर्दशनी, प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला प्रर्दशनी, सेल्फी फोटो प्रतियोगिता, ४० वर्ष उमेर नाघेका महिला पुरुषहरूको छुट्टा छुट्टै दौड प्रतियोगिता, राष्ट्रियस्तरको नकाआउट भलिबल प्रतियोगिता, कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारीको व्यवस्था रहेको महोत्सवका संयोजक महतोले जानकारी दिए । माघ ८ गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । करिब २ लाख दर्शकले अवलोकन गर्ने सो महोत्सवमा १० करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवका अवधिमा आयोजना हुने विभिन्न प्रतियोगितामा विजयी हुनेलाई सम्मान र पुरस्कृत गर्न झण्डै ४ लाख बढी खर्च हुने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका ५० रुपैयाँ र विद्यार्थीका लागि परिचयपत्रका आधारमा ३० रुपैयाँ तोकिएको छ ।