इन्टरनेट महँगिने

नेपाल विद्युत् प्राधिकरणले अप्टिकल फाइबरको भाडादर बढाउने भएको छ । प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्दै अप्टिकल फाइबरलगायत अन्य पूर्वाधारहरूको प्रयोगमा भाडादर बढाउने निर्णय गरेको हो ।
प्राधिकरणको विद्युत् वितरण पोल ट्रान्समिसन पोल, टावर प्रयोग गर्दै इन्टरनेट सेवाप्रदायक तथा टेलिफोन कम्पनीले सेवा दिँदै आएका छन् । पूर्वाधारको प्रयोग र भाडादरका विषयमा विगतमा पनि प्राधिकरण र सेवाप्रदायकबीच झमेला हुने गरेको थियो ।
प्राधिकरणको यो निर्णय लागू भएसँगै नेपालमा इन्टरनेट सेवा महँगिने देखिएको छ । पूर्वाधारमा बढेको भाडादर प्रत्यक्ष तथा परोक्ष रूपमा ग्राहकले तिर्ने महसुलमा जाने भएकाले यसको असर उपभोक्तामा पर्नेछ । यद्यपि इन्टरनेटको शुल्क वृद्धि भइसकेको भने छैन ।
इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष सुधीर पराजुली प्राधिकरणले अप्टिकल फाइबरको पूर्वाधार भाडामा लिई आफ्नो कम्युनिकेसन, इन्टरनेट तथा टेलिभिजन सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकहरूसँग माघ २ गतेसम्मलाई लागू हुने गरी सम्झौता गरेकोमा वृद्धि गरी नयाँ भाडादर कायम गरी नवीकरण गर्नुपर्ने व्यवस्था गरेको बताउँछन् । उनका अनुसार प्रत्यक्ष प्रभाव सेवामा पर्नेछ र संघले भाडादर वृद्धिको विरोधलाई जारी राखेको छ ।
इन्टरनेटको प्रयोग सर्वसुलभ बनाउनुपर्ने चुनौती थपिएको बेला सरकारी निकायले नै पूर्वाधारमा भाडादर बढाएपछि सरकारको नीतिविपरीत भएको उनी बताउँछन् । “बढेको भाडादर समायोजनका लागि पहल भएको छ, बोर्डबाट पारित भइसकेकाले मन्त्रिपरिषद्बाट निर्णय भएमा घटाउन सकिने भनिएको छ,” उनले भने, “यस विषयमा छलफलकै क्रममा छौँ, भाडादर समायोजनको विकल्प छैन ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्यालको संयोजकत्वमा गठित अध्ययन समितिले सुझाव पेस गरेको थियो । उक्त समितिको सुझावअनुसार प्राधिकरणले अप्टिकल फाइबर केबुल सेवा सञ्चालन निर्देशिका–२०७३ संशोधन गर्ने पनि निर्णय गरेको थियो ।
उक्त व्यवस्थाबमोजिम प्राधिकरणले ६६ केभी र सोभन्दा बढी भोल्टेज क्षमताको प्रसारण लाइनमा जडान भएको अप्टिकल फाइबर भाडामा लिएमा ३२ हजार रुपैयाँ कायम गरेको छ । ३३ केभी वा सोभन्दा कम क्षमताको वितरण लाइनमा जडित फाइबर कोरको हकमा प्रतिकिमि, प्रतिवर्ष, प्रतिफाइबर कोर १४ हजार रुपैयाँ भाडादर कायम गरेको छ ।
यसअघि प्राधिकरणले उक्त क्षमताको पूर्वाधारमा अप्टिकल फाइबर प्रयोगबापत टेलिकम एवम् आईएसपीहरूले प्राधिकरणलाई मासिक १५ हजार रुपैयाँ भाडा तिर्दै आएका थिए । यो भाडादर सोमबारबाट लागू हुने भए पनि समायोजनका लागि पहल भएको संघले जनाएको छ ।