प्रधानमन्त्री ओली अराजक : कोइराला «

प्रधानमन्त्री ओली अराजक : कोइराला

विराटनगर-नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप आरोप लगाएका छन् ।
विराटनगरमा शनिबार आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले प्रधानमन्त्री अराजक बन्दै गएको आरोप लगाएका हुन् । ओलीलाई स्वेच्छाचारी र अराजक बनाउन माधव नेपाल र प्रचण्डको पनि भूमिका रहेको कोइरालाको भनाइ छ । “विगत तीन वर्षदेखि संविधानविपरीत काम गर्दा पनि माधव नेपाल र प्रचण्डजीहरू बोल्नुभएन,” उनले भने, “त्यसमा प्रमुख प्रतिपक्ष दल कांग्रेस पनि चुकेकै हो ।”
मैले जे बोलें त्यही हो संविधान र कानुन भन्ने ओलीको मनसाय नेपाली जनताले नस्वीकार्ने कोइरालाले स्पष्ट पारे । कोइरालाले निर्वाचन कि ससंद पुनस्र्थापना भनेर कांग्रेस अलमलिएको आरोप लागिरहेको बताए । उनले कांग्रेस अलमलमा नरहेको स्पष्ट पार्दै प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले अदालतले गर्ने निर्णयको पर्खाइमा कांग्रेस रहेको उल्लेख गरे । कोइरालाले अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने पनि स्पष्ट पारे । “अदालतको निर्णयलाई कांग्रेस स्वीकार्छ,” उनले भने । कोइरालाले माधव नेपाल प्रचण्ड समूह निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको बताए । वर्तमान सरकारले संविधान धुजाधुजा पारिसकेको बताउँदै उनले प्रधानमन्त्रीले अदालतलाई समेत कुर्लीकुर्ली धम्क्याइरहेको आरोप लगाए ।
मानअधिकारवादी नेता कृष्ण पहाडीले अदालतले संसद पुनस्र्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताए । अदालतले फोहोर नखाए संसद पुनस्र्थापना हुने पहाडीको दाबी छ । उनले संविधानविपरीतको काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको आरोप लगाए । पार्टीका नेता, कार्यकर्ताले काम गर्न नदिएपछि र दलभित्र किचलो भएपछि प्रतिनिधिसभा विघटन गरेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको पहाडीको आरोप छ ।
कार्यक्रममा प्रदेश–१ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टी प्रदेश–१ का संसदीय दलका नेता जयराम यादव, मानवअधिकारवादी सोमराज थापा, महेन्द्र सिटौला, पत्रकार गणेश लम्साललगायतले प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले सच्याएर नेपालको राजनीतिलाई सहि ट्याकमा ल्याउनुपर्ने धारणा राखे ।
यसैबीच साधारणसभाले भेषराज पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन भए । त्यस्तै साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापालगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्