Logo

‘पहिरोको त्रासले निन्द्रा पर्दैन’

लमजुङको क्होलासोँथार गाउँपालिकाअन्तर्गत भोजेको पहिरोबाट वर्षौंदेखि स्थानीय जोखिम मोल्दै आएका छन् । क्होलासोँथार गाउँपालिका–७ भोजेमा करिब दुईदशक अघिदेखि पहिरो बग्दै आए पनि उचित व्यवस्थापन हुन नसक्दा जोखिम मोल्न स्थानीय बाध्य भएका हुन् ।
प्रत्येक वर्ष बर्खाको समयमा निरन्तर बगिरहने पहिरोबाट लमजुङको भोजे गाउँका बासिन्दा दिनरात त्रासमा कटाउँदै आएका छन् । क्होलासोँथार–७ भोजेमा दुईदशक अघिदेखि सुरु भएको पहिरोले एक सामुदायिक विद्यालयसहित केही घर र खेतीयोग्य जमिन बगाइसकेको छ भने अहिले सिँगो गाउँनै जोखिममा परेको छ ।
प्रत्येक वर्ष दिनको समयमा जसोतसो बसे पनि रातमा भने खान र सुत्नसमेत नसकेको स्थानीय बताउँछन् । गाउँको छेउमा रहेको एक विद्यालय र केही घर पहिरोले बगाइसकेको छ । अहिले गाउँकै छेउमा पहिरो आएको हुँदा पूरै गाउँबासीले असुरक्षित महसुस गर्नु परेको छ ।
पहिरोको जोखिम बढ्दै गएपछि सरकारी विज्ञटोलीले पहिरो निरीक्षण गरी गाउ“ नै स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । पहिरोले सिंगो गाउँ च्याप्न थालेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगे पनि सरकारले उचित पहल नगरिदिँदा आफूहरू जोखिम मोलेर गाउँमै बस्न बाध्य भएको स्थानीयको गुनासो छ ।
सरकारले यथाशक्य आफ्नो सुरक्षाको पहल गरिदिनुपर्ने स्थानीय चन्द्रकाशी गुरुङ बताउँछिन् । प्रत्येक बर्खामा जोखिम थपिँदै गर्दा त्रास पनि बढ्दै गएको भन्दै छिटो विकल्प खोज्न सरकारसँग स्थानीयको माग छ । “हामी जोखिममा बसेकोवर्षौं भइसक्यो, सरकारले हाम्रो सुरक्षाका लागि पहल गर्नुपर्दैन ?” गुरुङले भनिन् “हामीलाई जतिसक्दो छिटो सुरक्षित व्यवस्थापनको निम्ती पहल होस् ।”
स्थानीय सरकार आएसँगै पहिरो नियन्त्रणका लागि सम्भावना नभएपछि पुनर्निर्माण प्राधिकरणमार्फत हाल १८ घर विस्थापनको तयारीमा छन् । अतिजोखिममा रहेका १८ घरलाई गाउँनजिकैको साल्मेमा घर निर्माण गरी स्थायी स्थानान्तरणको पहल भएको हो ।
पहिलो चरणमा भोजेका ३७ घर परिवारलाई स्थानान्तरणको निम्ती गत आर्थिक वर्षमा रकम विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई लमजुङले जनाएको छ । भोजेका ३७ घर परिवारमध्ये सबै घर परिवारले पुनर्निर्माणको निम्ती पहिलो किस्ता लिएका छन् भने दुई घर परिवारले तेस्रो किस्तासमेत लिएको पाइएको छ । ३७ घर परिवारमध्ये १८ घर परिवारले जग्गा खरिदको निम्तीसमेत रकम लिएको इकाइले जनाएको छ ।
झण्डै दुई दशक अघिदेखिको मेघा पहिरोको जोखिममा रहेकालाई स्थानान्तरण गर्ने क्रममा भूमिविहीनका लागि जग्गा खरिद गर्न प्रतिपरिवार दुई लाख रुपैयाँ आएको थियो । सोबाहेक घर निर्माणका लागि तीन लाख रुपैयाँ सरकारले अनुदान दिएको छ । मेघा पहिरोको जोखिममा रहेको सिंगो गाउँमा प्रत्येक वर्ष सम्बन्धित सरोकारवाला निकायबाट स्थलगत अवलोकनसमेत हुँदै आएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पनि भोजे पहिरोको स्थलगत अवलोकन गरेका छन् ।
“सानो रकमले नियन्त्रण गर्न सकिने पहिरो रहेनछ,” प्रजिअ शर्माले भने, “सिंँगो गाउँ नै जोखिममा छ, सबै घर परिवारको व्यवस्थापनको निम्ती समय लाग्छ ।” केहि वर्Èअघि तत्कालीन भौतिक तथा सहरी विकास मन्त्रालयको नेतृत्वमा विज्ञ टोलीले पनि भोजे पहिरोको अध्ययन गरेको थियो । अध्ययनले भोजेको पहिरो नेपालकै मेघा पहिरोमा पर्ने निश्कर्ष निकालेको थियो । भोजेसँगै लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ चिप्लामा पनि ठूलो पहिरोले गाउँ नै विस्थापित हुने अवस्थामा पु-याएको छ ।

६८ घर स्थानान्तरणको तयारीमा
लमजुङको भोजेसहित विभिन्न स्थानका मेघा पहिरोको जोखिममा रहेका ६८ घर परिवारको स्थानान्तरण सुरु भएको छ । जिल्लास्थित क्होलासोँथार–७ भोजेसहित मस्र्याङ्दी, दोर्दी र दूधपोखरीका पहिरो जोखिम परिवारहरू स्थानान्तरणको क्रम सुरु भएको हो ।
जिल्लास्थित पुनर्निर्माण प्राधिकरणको संयोजनमा चारवटै स्थानीय तहका ६८ घर परिवारलाई स्थानान्तरण सुरु भएको हो । पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई लमजुङका अनुसार जोखिमयुक्त बस्तीका लाभग्राहीको जग्गा खरिद तथा घर पुनर्निर्माण प्रक्रिया सुरु भएको हो ।
भोजेका ३७ परिवारबाहेक मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुअन्तर्गतका २१ घर परिवारको पनि स्थानान्तरण सुरु भएको छ । वर्षौंदेखि घेर्मुको चिप्ला पहिरोको जोखिममा रहेका सबै घर परिवारले स्थानान्तरणको क्रममा घर पुनर्निर्माणको निम्ती पहिलो किस्ता लिइसकेका छन् । सोमध्ये तीन घर परिवारले तेस्रो किस्ता लिएका छन् भने १९ घर परिवारले पहिलो किस्ता लिएका छन् ।
चिप्ला पहिरो प्रभावितमध्ये आठ घर परिवारको जग्गा खरिदका लागि समेत रकम निकासा भइसकेको प्राधिकरण इकाइले जनाएको छ । घेर्मुको पहिरो प्रभावितमध्ये दुई घर परिवारको सम्झौता सूचीमा नाम नहुँदा रकम पाउन नसकेको तथ्याँकमा देखिएको छ ।
यसैगरी दूधपोखरी गाउँपालिकाअन्तर्गत वडा नम्बर १ का पहिरो प्रभावित घर परिवारमध्ये सबैले पहिलो किस्ता लिइसकेका छन् । सोमध्ये तीन घर परिवारले तेस्रो किस्ता बुझिसकेको र दुई परिवारले जग्गा खरिदका लागि समेत रकम लिएको तथ्याँकमा उल्लेख छ । यस्तै दोर्दी गाउँपालिकाअन्तर्गत वडा नम्बर ७ साविक फलेनीका पहिरो प्रभावित चार घर परिवारको पनि स्थानान्तरणको क्रम सुरु भएको छ । फलेनीका पहिरो प्रभावितले भने पहिलो किस्तामात्रै बुझेको तथ्याँकले देखाएको छ ।
चारवटै स्थानीय तहका पहिरो जोखिम घर परिवारमध्ये कुल २८ घर परिवारका लागि जग्गा खरिद भएको छ । स्थानीय लाभग्राहीले आफूलाई पायक पर्ने ठाउँमा जग्गा खरिद गरी घर निर्माणको प्रक्रिया अघि बढाएका हुन् । प्राधिकरणले लाभग्राहिको नाममा जग्गा पास भएपछि जग्गा खरिदवापतको रकम सम्बन्धित जग्गा धनीलाई दिएको र पुनर्निर्माणको रकम प्रक्रियाअनुसार सम्बन्धित लाभग्राहीलाई दिएको जनाएको छ ।
प्राधिकरण कार्यान्वयन इकाईका अनुसार हालसम्म स्थानान्तरण भएका घर परिवारमध्ये आठ परिवारले मात्रै तेस्रो किस्ता लिएका छन् । कतिपयको अन्यत्र सुरक्षित ठाउँमा पनि जग्गा भएकाले उनीहरूले आफ्नै जग्गामा घर बनाएका हुन् ।
यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञसहितको टोलीले जिल्लाका विभिन्न स्थानीय तहका मेघा पहिरो अध्यनपछि जोखिमयुक्त पाँच गाउँलाई स्थानान्तरण गर्ने सुझाव दिएका थिए । टोलीले केही वर्षअघि जिल्लाको साविक १३ गाविसका जोखिम बस्तीको विस्तृत अध्ययन गरेको थियो । टोलिमा भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद्, जलउत्पन्न प्रकोप व्यवस्थापन विज्ञको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्