पाउलान् त वाणिज्य बैंकले ब्रोकर लाइसेन्स «

पाउलान् त वाणिज्य बैंकले ब्रोकर लाइसेन्स

वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिएपछि लगानीकर्ताहरूलाई सहज हुने भने देखिन्छ भने यसका लागि सेयर बजारसम्बन्धी जनचेतना जगाउन पनि जरुरी छ ।

वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनु पर्दछ यानी सेयर दलालको काम गर्न दिनुपर्छ भनेर आवाज उठाइरहेको पनि धेरै भइसक्यो । तर, वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न दिने वा नदिने भन्ने निर्णय नियामक निकायले अझै गर्न सकिरहेको छैन । त्यसो त यसबारेमा पुँजी बजारसम्बन्धी अध्ययन गर्न भनेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय अर्थ समितिको उपसमितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर पनि नियामक निकायले निर्णय गर्न सकिरहेका छैन । कतिपयले त वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्न पाउनेमा शंका व्यक्त गर्न थालेका छन् भने कतिपयको भनाइमा पुँजीबजारका नियामक निकायहरूले विद्यमान ब्रोकर कम्पनीहरूको दबाबमा वा आर्थिक लोभमा परेर बैंकलाई ब्रोकर लाइसेन्स दिनमा आनाकानी गरिरहेको हुन सक्ने पनि आशंका जनाइरहेका छन् ।
वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिन विद्यमान ५० वटा ब्रोकर कम्पनीहरूले असन्तुष्टि जनाइरहेका छन् । वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न लाइसेन्स दिए आफ्नो व्यापार–व्यवसायमा नकारात्मक असर पर्ने डर विद्यमान ब्रोकर कम्पनीहरूमा रहेको देखिन्छ । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदैमा विद्यमान ब्रोकर कम्पनीहरू आफ्नो व्यापारमा नकारात्मक असर पर्छ कि भनेर आत्तिनुपर्ने भने छैन, अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो । अहिले हामी २१ औं शताब्दीमा छौं । अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो, कुनै पनि पेसा–व्यवसाय गरिरहेकाहरू प्रतिस्पर्धामा जान डराउन हुँदैन ।
वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्ने लाइसेन्स दिने कुरा भएसँगै केही विवाद भने सिर्जना भएको हो । वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिने कुरा गरे लगत्तै सेयर ब्रोकर कम्पनीहरूले विरोध गरे । स्टक ब्रोकर एसोसिएसनको पूर्वअध्यक्षले त्यस बेला नै खुलेरै यसको विरोध गरे । ब्रोकर कम्पनीहरूको बुझाईमा वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए इन्साइडर ट्रेडिङ हुन सक्छ । धितोपत्र बजारमा वाणिज्य बैंकहरूको सेयरको नै बाहुल्यता रहेको छ । धितोपत्र बजारमा बढी सेयरको कारोबार हुने भनेको वाणिज्य बैंकहरूको नै हो । वाणिज्य बैंकहरूलाई नै सेयर दलालको काम गर्न दिएपछि यसले इन्साइडर ट्रेडिङ हुन सक्ने पनि कतिपय बजार विश्लेषकहरू बिज्ञहरू र विद्यमान ब्रोकर कम्पनीहरूको पनि भनाइ रहेको छ । त्यसो त अहिले पनि बेलाबेलामा इन्साइडर कारोबारका समाचारहरू नआएको पनि होइन । वाणिज्य बैंकहरूलाई सेयर दलालको काम दिएपछि यो बढ्न सक्ने आश.का रहेको छ । कतिपयको भनाइमा वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनु भनेको दूधको पालो बिरालोलाई राख्ने जस्तो हो भनेर भन्नेहरू पनि नभएको होइन ।
यसबारेमा कतिपय ब्रोकर कम्पनीको भनाइमा विद्यमान ब्रोकर कम्पनीहरूलाई नै विभिन्न जिल्ला, गाउँठाउँमा शाखाहरू खोल्न दिनुपर्छ, विद्यमान ब्रोकर कम्पनीहरूले काम गर्न नसकेमा, शाखाहरू खोल्न नसकेमा मात्र अर्को विकल्प खोज्नुपर्छ र अरूलाई पनि लाइसेन्स दिनुपर्ने भनाइ रहेको छ । हामीले विभिन्न जिल्लाहरूमा शाखाहरू खोल्छु भन्दा नदिने नानाथरीको झन्झटहरू दिने झन्झटिलो मापदण्डहरू तेस्र्याउने अनि वाणिज्य बैंकहरूलाई भने सजिलै लाइसेन्स दिने भनेर पनि केही ब्रोकर कम्पनीहरूले आक्रोश पनि व्यक्त गरेका छन् ।
ब्रोकर कम्पनीहरूले वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए पनि सेयर बजारको समस्या तथा लगानीकर्ताहरूको सेयर बजारसम्मको पहुँचका समस्या समाधान हुनेमा शंका व्यक्त गरेका छन् । के वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएको सबै स्थानमा सेयर ब्रोकरको काम गनै सक्छन् त, हुम्ला, जुम्लामा पनि सेयर ब्रोकरको काम गर्छन् त भन्ने ब्रोकर कम्पनीहरूको भनाइ रहेको छ । सेयर ब्रोकरको लाइसेन्स लिएका सबै वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएका सबै स्थानहरूबाट ब्रोकरको काम गरे भने सेयर बजारका विस्तार हुने र बजारको लागी सकारात्मक हुने देखिन्छ । तर, कतै वाणिज्य बैंकका ब्रोकर कम्पनीहरू पनि सहरमुखी भए भने के गर्ने ।
धितोपत्र दलाल, धितोपत्र व्यवसायी वाणिज्य बैंक तथा बजार निर्माता नियमावली–२०४६ अनुसार प्रक्रिया पुगेपछि मात्र लाइसेन्सका लागि अनुमति प्राप्त गर्न सकिनेछ । तर, वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्नका लागि छुट्टै सहायक कम्पनी खोल्नुपर्ने हुन्छ ।
विगतदेखि नै केही सेयर लगानीकर्ताका नेताहरूले पनि वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न दिनुपर्छ भनेर माग गरिरहेको धेरै भइसक्यो । देशको ७७ वटै जिल्लामा वाणिज्य बैंकहरूको शाखा सञ्जाल रहेका कारणले वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्दा देशभरिबाट सेयरको कारोबार गर्न सकिन्छ भन्ने उनीहरूको तर्क छ । यसले सेयर बजारको दायरा बढ्नेछ र देशभरका लगानीकर्ताहरूका माझ सेयर ब्रोकर कम्पनी पुग्ने भएकाले लगानीकर्ताहरूलाई सेयरको कारोबार गर्न सहज हुने सेयर किनबेच गर्नका लागि राजधानी धाउन नपर्ने र सेयरको कारोबार पनि बढ्ने भन्ने उनीहरूको भनाइ हो । पछिल्लो समयमा सेयरको कारोबार अनलाइनबाट पनि गर्न सकिन्छ । इन्टरनेटको सुविधा भएको ठाउँबाट जहाँतहीं घर–पसल, कार्यालयमा बसी कम्प्युटर, लापटप, मोबाइलबाट सेयरको कारोबार गर्न सकिने भएको छ भने अनलाइनबाट कारोबार गर्नेहरू पनि बढिरहेको छ ।
अहिले सेयर कारोबारको दोस्रो बजारमा धेरैजसो राजधानी केन्द्रित छन् । त्यसो त केही ब्रोकर कम्पनीहरू काठमाडौंबाहिर केही जिल्लाहरूमा पनि आफ्नो शाखा कार्यालयहरू पनि सञ्चालन गरिरहेका छन् भने ती शाखा कार्यालयहरूबाट पनि सेयर कारोबार पनि भइरहेको बताउँछन् सरोकारवालाहरू । तर सेयर कारोबार राजधानी केन्द्रित नै भइरहेका छन् भन्दा पनि फरक नपर्ला । यसकारणले पनि केही लगानीकर्ताहरूको कथित नेताहरूले वाणिज्य बैंकहरूलाई पनि ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर मरिहत्ते गरिरहेका भन्दा पनि फरक नपर्ला । त्यसो त पछिल्लो समयमा उपत्यकाबाहिर पनि ब्रोकरको लाइसेन्स दिने प्रक्रियामा रहेको पनि बताउँछन् सरोकारवालाहरू ।
पछिल्लो समयमा सेयर बजारमा नयाँ–नयाँ कम्पनीहरूको सेयर धमाधम थपिँदैछन् । सेयर बजारमा सेयरहरूको संख्या पनि बढेको बढ्यै छ । सेयरको संख्या बढेको अनुपातमा सेयर बजारको दोस्रो बजारमा लगानीकर्ताहरू पनि बढ्नुपर्ने हुन्छ अनि मात्र सेयर बजारले गति लिने देखिन्छ । सेयर बजारका बारेमा जनचेतना जगाउनुपर्ने देखिन्छ भने नयाँ–नयाँ लगानीकर्ताहरूलाई प्रवेश गराउनका लागि नियामक निकायहरूले पहल गर्नुपर्ने देखिन्छ ।
देशभरिका लगानीकर्ताहरूको पहुँच सेयर बजारसम्म पु-याउन वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर भन्ने गरेको हुन सक्छ । तर पनि वाणिज्य बैंकहरूलाई लाइसेन्स दिनेबित्तिकै तत्कालै सेयर बजारले ठूलै फड्को मार्ने भने होइन सेयर लगानीकर्ताका नेताहरूले भनेजस्तै नेप्सेमा सेयर बजारमा उछाल नै आउने हो । देशमा रहेका सबै वाणिज्य बैंकहरूले ब्रोकर लाइसेन्स लिए अहिलेको बजारले धान्न सकिएला त भनेर आशंका गर्नेहरू पनि छन् । सबै विषय र क्षेत्रहरूमा सकारात्मक र नकारात्मक पाटोहरू हुन्छ नै, त्यस्तै बजार राम्रो बनाउने हो भने प्रतिस्पर्धा हुनु पनि जरुरी छ । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिएपछि लगानीकर्ताहरूलाई सहज हुने भने देखिन्छ भने यसका लागि सेयर बजारसम्बन्धी जनचेतना जगाउन पनि जरुरी छ । यसमा नियामक निकायहरूको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्