आम्दानीसँगै विद्युतीय फोहोरको हिस्सा बढ्दो «

आम्दानीसँगै विद्युतीय फोहोरको हिस्सा बढ्दो


नेपालीको प्रतिव्यक्ति आम्दानी बर्सेनि बढ्दै गएअनुसार त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर विद्युतीय फोहोरमा देखिएको छ । वैदेशिक रोजगारीका लागि जाने नेपालीले पठाएको रेमिट्यान्सको प्रयोग विलासिताका वस्तुमा खर्च हुनु, सूचना प्रविधिमा प्रयोग बढ्नु र सरकारी तथा निजी कार्यालयहरूमा प्रविधिको प्रयोग बढ्दै गएसँगै विद्युतीय फोहोर पनि बढ्दै गएको हो । विद्युतीय सामग्रीको खरिद नेपालमा बढ्दैै गएको संकेत विद्युतीय फोहोरले पनि देखाएको छ ।
औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नसकेको नेपालमा विद्युतीय फोहोरको जोखिम झन् चनौतीपूर्ण देखिएको छ ।
विद्युतीय सामग्रीको बढ्दो उपयोग र त्यसको उचित व्यवस्थापन नहुँदा जोखिम बढ्दै गएको विद्युतीय फोहोरसम्बन्धी अनुसन्धानकर्ता त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक ज्योति गिरीले बताइन् । शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरीले विगतमा अत्यधिक प्रयोगमा रहेका विद्युतीय सामग्रीको व्यवस्थापकीय नियमन अभावले भविष्यमा ठूलो समस्या ल्याउन सक्ने बताइन् । नेपालीहरूको आम्दानी बढ्दै जाँदा विद्युतीय सामग्री खरिदको अनुपात पनि बढ्ने हुँदा यसले भविष्यमा अझ समस्या दिने उनको भनाइ थियो ।
उनका अनुसार अहिले नै देशमा कुल फोहोरको ५ प्रतिशत विद्युतीय फोहर हुने गरेको छ । अहिले आउने फोहोर भनेको विगतमा न्यून विद्युतीय सामग्री प्रयोग हुँदाको हो । अहिले जसरी पछिल्लो समय यस्ता सामग्रीहरूको उपयोग बढेको छ, भविष्यमा त्यो ५ प्रतिशतबाट निकै मात्रामा बढेर जाने उनले बताइन् ।
विद्युतीय फोहरको प्रशोधन तथा व्यवस्थापन पनि विशिष्ट हुने भएकाले अहिलेकै अवस्था र संयन्त्रबाट व्यवस्थापन हुन नसक्ने उनको निष्कर्ष छ । सर्वसाधारणले चलाउने मोबाइल, टेलिफोन, टेलिभिजन, ल्यापटप, बिजुलीको फ्युज, ब्याट्रीजस्ता सामग्रीको उपयोगिता सकिएपछि फालिएको अवस्था नै विद्युतीय फोहोर हो । आयु सकिएका यस्ता यन्त्र तथा उपकरणको उचित व्यवस्थापन हुन नसके गम्भीर वातावरणीय प्रभाव पर्न सक्ने उनको भनाइ छ ।
पछिल्लो दशकमा विस्तार भएको विद्युतीय सामग्रीको उपयोग अबको दशकमा फोहोरका रूपमा आउनेछ । यही दशकमा व्यवस्थापनका लागि आवश्यक कदम नचाल्ने हो भने गम्भीर समस्याका रूपमा आउने पूर्व विज्ञान प्रविधि मन्त्री गणेश साहले बताए । “अहिलेसम्म नेपालमा कुनै पनि नीतिगत व्यवस्था छ जस्तो लाग्दैन, वातावरणलाई चुनौती दिने यो नयाँ खतरा टार्नका लागि सरकारले व्यवस्थित रूपमा नियमन गर्न आवश्यक छ,” उनले भने । वातावरण संरक्षणको जिम्मा पाएको वातावरण विभागले पनि अहिलेसम्म विद्युतीय फोहोर व्यवस्थापनका लागि कुनै ठोस काम गर्न सकेको छैन ।
विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले आफूहरूलाई यसका बारेमा जानकारी भए पनि अहिलेसम्म औद्योगिक फोहोरलगायतको व्यवस्थापनमै लागिपरेको बताए ।
“विद्युतीय फोहोर व्यवस्थापनका लागि हामीलाई जानकारी त छ, तर यसैका लागि हामीले छुट्टै नीतिगत व्यवस्था भने गरेका छैनौं,” उनले भने, “यसबारेमा हाम्रो तर्फबाट प्रशस्त अध्ययन–अनुसन्धान पनि भएको छैन ।” उनले थपे, “अब हामीले यसमा अघि बढ्नुपर्ने समय आएको छ ।”
नेपालमा विद्युतीय फोहोर व्यवस्थापनको विषयमा आवश्यक कानुनी व्यवस्था गर्न दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गराएको थियो । केही वर्षपहिले प्राधिकरणले गरेको उक्त अध्ययनका आधारमा कानुन बनाउन सरकारसमक्ष सिफारिस पनि गरिसकेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कानुनी फ्रेमवर्कका लागि सरकारसमक्ष प्रस्ताव पठाइसकिएको जानकारी दिए । तर, हालसम्म सरकारका तर्फबाट त्यसलाई पूर्णता दिने काम भने हुन सकेको छैन । जुन रूपमा प्रयोग बढ्दै गएको छ, त्यसैगरी यसको हिस्सा पनि बढ्दै जाने निश्चित छ । यसमा ब्याट्रीमा हुने हानिकारक एसिडसमेत हुन्छ । त्यतिमात्र होइन, बहुमूल्य धातु पनि यही फोहोरमा मिसिएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्