‘मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ’ «

‘मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने दाबी गरेका छन् । उनले भने, “यसबारेमा हामी दुवै तर्फका सदस्यहरूबीच कुराकानी भैरहेको छ । हाम्रोतर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर अहिले मिति तोक्दैनौं ।”
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पुनरावलोकन गरेको दाबी गरे । उनले थपे, “ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल ग¥यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।” भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्