लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ «

लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ

लमजुङमा सामाजिक न्यायमा आधारित स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भएको छ । नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पु-याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा पहिलो पटक सुरु भएको हो ।
नेपालको ६४ औं जिल्ला र गण्डकी प्रदेशको आठौं जिल्लाको रूपमा बुधबारदेखि स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ गरिएको हो । औपचारिक कार्यक्रमका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाका जनप्रतिनिधीहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
२०७२ सालमा कैलालीबाट सुरु गरिएको उक्त कार्यक्रम अन्य जिल्लाहरूमा लागू भए पनि यसअघि लमजुङ जिल्लाका बासिन्दाहरू भने बञ्चित बनेका थिए । स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ७५ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो ।
नेपालको संविधानमा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ । राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरूको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बिमा ऐन विसं २०७४ र स्वास्थ्य बिमा नियमावली विसं २०७५ जारी भई कार्यान्वयनको चरणमा रहेका छन् ।
नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति विसं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।
तोकिएको रकमअनुसार स्वास्थ्य बिमा हुने व्यवस्था छ । स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् ।
स्वास्थ्य बिमा गरेपछि स्वास्थ्य विमाले परिचयपत्र उपलब्ध गराउने र सोहि परिचय पत्रको आधारमा नै बिरामीपश्चात्त तोकिएको रकम बराबरको सेवा लिन सकिने व्यवस्था छ । यदि तोकिएको रकमभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैंले बेहोर्नुपर्ने प्रावधान रहेको छ । वर्षौंपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ ।

स्वास्थ्यलाई नाफाको विषय बनाउन हुँदैन : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकतालाई नाफा नोक्सानको विषय बनाउन नहुने बताएका छन् । लमजुङमा आयोजित स्वास्थ्य विमा सदस्यता दर्ता शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले शिक्षा स्वास्थ्य जस्ता क्षेत्रलाई व्यवसाय वा नाफाको विषय बनाउँदा महामारीका बेला देशमा झनै संकट आईलाग्ने दावि गरे । शिक्षा र स्वास्थ्यलाई नाफाको क्षेत्र बनाएका अमेरीका युरोप जस्ता विश्वका विकसित राष्ट्रहरू पनि विश्वव्यापी कोभिड–१९ को प्रभावमा हार खानुपरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
“शिक्षा र स्वास्थ्य नाफाको क्षेत्र होईन, सेवाको क्षेत्र हो,” मुख्यमन्त्री गुरुङले भने, “यस्ता विषयमा राज्य बलियो नभए संकटमा सामना गर्न सकिँदैन, राज्य संकटमा परेका बेला निजि क्षेत्रले गर्दैनन् ।”
उद्योग व्यवसायमा निजिक्षेत्रलाई बलियो बनाउनुपर्ने तर संकटको सामना गर्न शिक्षा स्वास्थ्य जस्ता आधारभुत विषयमा राज्य बलियो बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भन्दै गरिब, पिछडिएका अतिविपन्न, महिला, दलित, जनजातिले यसबाट फाइदा लिनसक्ने उल्लेख गरिन् ।
स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा साँसदहरू, स्थानीय तहका प्रमुख एवं विभिन्न तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्