हजार राहतको लोभमा करोडौंको मुद्दा «

हजार राहतको लोभमा करोडौंको मुद्दा

दोलखा-तामाकोसी गाउँपालिका वडा नं. १ साविक भीरकोट गाविस माझी गाउँका लछुमन माझीका नाममा उच्च अदालत पाटनबाट एक हप्ता अघि अदालतको आदेश बमोजिम हाजिर हुन तामेली आयो । घरमा एक्कासी अदालतबाट तामेली आउँदा लछुमन मात्र होइन, वरपरका छिमेकी नै छक्क परे । स्थायी लेखा नं. समेत थाहा नपाएका माझीको नाममा लेखा नं. सहित उल्लेख गरी राजस्व छलीको मुद्दामा १५ दिन भित्र हाजिरी हुनु भन्ने व्यहोरा थियो ।
१० दिनअघि तामेली बुझेका लछुमन अदालतमा कसरी जाने भन्नेमा अन्यौलग्रस्त छन् । अदालतका तामेली बुझेपछि माझी मात्र होइन, उनको परिवार समेत राम्रोसँग निदाउन सकेका छैनन् । राजस्व अनुसन्धान आयोगले राजस्व छली सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १६ गतेको फैसला अनुसार प्रतिवादी लछुमनलाई आफ्नो प्रमाणसहित हाजिरीका लागि आह्वान गरेको छ ।
लछुमनको नाममा दर्ता भएको पान नं. बाट ५ करोड २० लाख राजस्व छली भएकोले राजस्व अनुसन्धान विभागले अभियोग पत्र दर्ता गरेको थियो । परिवारको नाममा २ रोपनी समेत जग्गा नभएका माझीको परिवार चलाउने दैनिकी समेत तामाकोसीमा माछा मारेर दैनिकी चलाउँछन् । यस्ता व्यक्तिका नाममा एक्कासी अदालतबाट हाजिर हुन पत्र आएपछि स्थानीय जनप्रतिनिधि समेत चकित भएका छन् । कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालय समेत नटेकेका माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनलको नामबाट दर्ता भएको स्थायी लेखा नं. ६०५४२८२७२ बाट राजस्व छली गरेको अभियोग छ ।
‘अदालतको फैसलापछि राजस्व छलीको समाचार पढें, त्यसमा आफ्नै गाउँका लछुमन माझीको समेत नाम रहेछ,’ तामाकोसी गाउँपालिका वडा न. १ का वडाध्यक्ष महेश काफ्लेले भने, ‘समाचार पढ्दा समाचारै गलत रहेछ भन्ने लागेर वास्ता गरिनँ, यस्तो मान्छे नै छैन जस्तो लाग्यो ।’ अदालतको तामेली आएपछि अहिले अभियोग सहि रहेछ । तर गाउँका सोझा मान्छेहरु कसैले अपराध गरेर फसाएछ । पीडितहरु पनि अहिले आफूलाई बचाउन वडाध्यक्ष लगायत चिनेजानेकासँग हार गुहार गर्न थालेका छन् ।

राहतको लोभमा फसे
२०७२ सालमा विकासकारी भूकम्पले घरहरु ध्वस्त भए । भूकम्पपछि पीडितहरुका लागि खाद्यान्न, लत्ताकपडा, जस्तापाता सहितका राहत लिएर आउनेहरुको गाउँ गाउँमा ओइरो लाग्यो । त्यसमा पनि दलित, जनजाती र माझी जस्ता पिछडिएका वस्ती र समुदाय यसको निशानामा परे । स्थानीयहरु पनि खेतीपाती नै छाडेर राहत लिन लागे ।
तामाकोसी मन्थली सडक नजिकै वस्ती भएकाले धेरैको नजर पनि सडक नजिकैको बस्तीमा प¥यो । एक वर्षपछि गाउँमा कपडा बेच्न हिँड्ने मधेशी समुदायका एक जनाले आफूलाई ‘तपाईंको घर ढलेछ, राहत दिने मान्छे भेटाइदिन्छु, काठमाडौं आउनुस्’ भनेको पीडित लछुमन भन्छन् । उनैको भनाइबाट काठमाडौंमा एक जना मधेशीलाई भेट भयो । उनले ३ पटकसम्म काठमाडौं बोलाए, राहत भन्दै पटक पटक ३६ हजार ५ सय पनि दिए । त्यही बेला पहिलो पटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए ।
दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन्, सबैमा सही गर्न लगाएको माझी सम्झन्छन् । सही मात्र गर्न जान्ने तर राम्रो लेखपढ गर्न नसक्ने माझीले उनले भने अनुसार सही गरे । उनले नै विभिन्न ठाउँमा लगेर सही गराए तर पैसा सडकमै ल्याएर दिएको सम्झन्छन् । राहत पाएकाले उनलाई राहत दिनेको नाम, ठेगाना केही जानकारी छैन तर देखे अनुहारसम्म चिन्न सक्ने बताउँछन् ।
लछुमनले उनको एउटा सम्पर्क नं. समेत जनप्रतिनिधिलाई दिए । तर त्यो पनि लछुमनकै नाममा दर्ता देखियो । वडाध्यक्ष काफ्लेले भने, ‘जसले ठग्यो, उसैले पीडितकै नागरिकताको फोटोकपी र फोटो राखेर फोनको सिम लिएर प्रयोग गरेको देखियो ।’ सोझा गाउँले ठगीमा एउटा ठूलै गिरोह लागेको हुन सक्ने उनले आशंका गरे ।

गाउँका अरु पनि लछुमनकै लाइनमा
राहतका नाममा लछुमन मात्र होइन । माझीगाउँका अधिकांश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गर्नेहरु छन् । सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, मोहन खत्री काफ्ले र शरण माझी एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् । गरिबी निवारणका लागि राहत ल्याउनका लागि नागरिकता दिन भन्दै मागेको वीरबहादुर माझीले बताए ।
सर्लाहीको मलंगवा बोलाएर होटलमा ३ दिनसम्म राखे । फर्कने बेला ११ हजारका दरले २ जनालाई खर्च दिए । त्यसपछि सम्पर्क नभएको उनले बताए । आफू पनि काठमाडौं पुगेर १५ हजार राहत लिएर आएको अर्का पीडित मोहन काफ्लेले बताए ।
लछुमनको नाममा अदालतबाट तामेली आएपछि आफूहरु पनि ठगिएको अरुले महसुश गर्न थालेका छन् । हरेक व्यक्तिलाई छुट्टा छुट्टै रुपमा फरक फरक ठाउँमा बोलाएर नागरिकता लिएर विभिन्न कागजातमा सही गराएको उनीहरुले बताए । आफ्नो नागरिकता र फोटो लिएर गिरोहले नक्कली कम्पनी खडा गरी राजस्व छली गरेको हुन सक्ने उनीहरुले अनुमान गरेका छन् । अब आफ्नो नाममा पनि कहिले अदालतबाट कहिले पूर्जी आउने हो भन्नेमा गाउँमा त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्