पोखरा विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न «

पोखरा विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न

पोखरा-पर्यटनमन्त्री भानुभक्त ढकालले पोखरा विमानस्थलको निर्माणकार्य समय सीमाभित्र सक्न सरकारले आवश्यक पलह गर्ने बताएका छन् ।
हालै पर्यटन मन्त्रालय सम्हालेका मन्त्री ढकालले निमार्णाधीन विमानस्थलको अध्ययन अवलोकन गर्ने क्रममा बिहीबार पोखरा आएको सन्दर्भमा पत्रकारसँंग संक्षिप्त कुराकानी गर्दै पोखरा विमानस्थल समय सीमाभित्र सम्पन्न गर्न सरकारले आवश्यक पहल गर्ने बताएका हुन् । उनले भने, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनामा सम्पन्न भएसँंगै छिट्टै कार्यान्वयनमा आउँछ, यथासक्दो छिटो कार्यान्वयनमा ल्याउनका लागि हाल निर्माणको क्रममा बाधा अवरोध भएका कुरालाई समाधान गर्न सरकारले आवश्यक पहल गर्छ ।” निर्माणकार्यमा विलम्ब भएका विषयलाई सरकारले सरोकारवालासँंगको सहकार्यमा छिट्टै अघि बढाउने गरी समन्वय गर्ने मन्त्री ढकालले जनाए ।
भैरहवा विमानस्थलसमेत अवलोकन गरी पोखरा आएका मन्त्री ढकाललाई पत्रकारले पोखरा र भैरहवाको विमानस्थलको बारेमा के फरक पाउनु भयो भन्ने प्रश्नमा दुवै विमानस्थलको आआफ्नो महत्व रहेको बताउदै मन्त्री ढकालले बनावटको हिसाबले भने पोखरा नै राम्रो लागेको उनले दाबी गरे । हवाई रुटको विषयमा हाल के कस्तो भइरहेको छ भन्ने प्रश्नमा उनले त्यसका लागि समेत कुरा अघि बढेको र समयअनुसार सबै कुराको व्यवस्थापन सरकारले गर्ने उनले जनाए ।
कोभिड—१९ ले गर्दा हाल उक्त परियोजना सोचेअनुसार निर्माणकार्य हुन नसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए । कोभिडले गर्दा चिनियाँ कामदारलाई समयमै ल्याउन नसक्दा निर्माणकार्यमा केही ढिलाइ हुन गएको बताएका उनले अहिलेको अवस्थामा कुनै बाधा अड्चन बिना काम गर्ने वातावरण भएको खण्डमा निर्धारित समय सीमाभित्र उक्त परियोजना सम्पन्न हुने जनाए । उक्त परियोजनाको हालसम्म करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीको भनाइ छ ।

इन्धन डिपो निर्माण कार्यका लागि नेपाल आयल निगमले ठोस रूपमा काम अघि नबढाएको र हवाई रुटमा पर्ने रिठ्ठेपानीको डाँडा करिब ४० मिटर कटान गर्नुपर्ने त्यसको काम ढिलाइ भएको मुनाकर्मीको भनाइ छ । बिमानस्थल क्षेत्रभन्दा बाहिर वर्षात्को समयमा बग्ने पानी, भित्री सडक र पृथ्वी राजमार्गको नालाबाट र सिँंचाइको नहर बगेर आउने पानीका कारण विमानस्थलको पूर्वी भागमा बाढी पहिरोको समस्या रहेको र पोखरामा ल्याण्डफिल्ड साइट हालसम्म स्थानान्तरणको कुनै प्रक्रिया अघि नबढेको प्रमुख मुनानकर्मीले बताए । विमानस्थलभित्र, टर्मिनल भवन, एसिटी टावर, ह्याङगरलगायत १४ वटा भवन संरचना र छानो हाल्ने कार्य सम्पन्न भई हाल फिनिसिङको अन्तिम चरणमा पुगेको उनले जनाए । पोखरा विमानस्थलमा हाल करिब ३ हजार ८ सय ९९ रोपनी जग्गा रहेको जसमध्ये ९८ प्रतिशत आयोजनाको नाममा आएको मुनानकर्मीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्