पर्यटन व्यवसायीका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक «

पर्यटन व्यवसायीका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक


टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) ले नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरेको छ ।
कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) का संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एचएचएस प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालिम म्यानुअल गरे ।
कार्यक्रममा डा.रोसेकले कोभिड–१९ विश्वव्यापी स्वास्थ्य संकट मात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताए ।
डा. रोसेकले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्नका यसले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । नेपालको आशालाग्दो पर्यटन गन्तव्यका रुपमा रहेको लुम्बिनी र त्यहाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशमा चलिरहेका अन्य परियोजनाहरूका पर्यटनमा स्वास्थ्य स्वच्छतासम्बन्धी परियोजना सहायकसिद्ध हुने उनको विश्वास थियो ।
कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाहरूबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीहरूले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो रहेको संयोजक जोशीले बताए ।
यस परियोजनाले कोभिड–१९ महामारीपछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकहरूका लागि महामारी र महामारीपछिका अवस्थामा पर्यटनसम्बन्धित सेवा तथा व्यवसाय सुचारु राख्न मद्दत गर्ने छ । सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल बनाउने लक्ष्य राखेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका छनौटमा परेका ११ वटा नगरपालिकामा प्रशिक्षक विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार परिएको हो । कार्यक्रमको पहिलो चरणपछि, प्रशिक्षित व्यावसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकहरूलाई थप प्रशिक्षण प्रदान गर्ने लक्ष्य लिएको छ । यसरी पश्चिम नेपालमा कूल २ हजार ७५० सेवा प्रदायकहरू स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन हुने छ ।

प्रतिक्रिया दिनुहोस्