मेहनत गरे नेपालमै अवसर छ «

मेहनत गरे नेपालमै अवसर छ

विश्वभरि नै कोरोना महामारीका कारणले हजारौं–लाखौं मानिसले आफ्नो परिवार त गुमाएका छन् नै, साथै रोजगारीसमेत गुमाएका छन् । यस्तो विषम परिस्थितिमा रोजगारी गुमाएका मानिसहरू घरमा बस्न बाध्य छन् । यति बेला विश्वकै अर्थतन्त्र डामाडोल भएको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख देशका जनतालाई यस्तो अवस्थाबाट माथि उकासिन झनै गाह्रो परेको छ । यतिबेला धेरैजस्तो व्यापार–व्यवसायहरू बन्द भइसकेका छन् ।
उपत्यकामा घरभाडामा बसेका मानिसहरू रोजगारी गुमाएका कारण घरभाडा तिर्न नसकेर आ–आफ्नो जन्मथलो फर्किन बाध्य भएर उपत्यका छाडेर गएका छन् । त्यसैले अहिले विश्वभरि नै श्रमको आवश्यकता बढ्दो दरमा रहेको छ ।
प्रत्येक दिन हजारौं मानिस श्रमको सिलसिलामा आफ्नो जन्मथलो छाडेर विदेश पलायन तथा अन्यन्त्र जाने गर्छन् । मानिसहरूको मनस्थिति नै यो छ कि विदेशमा दुःख गरे पैसा धेरै कमाइन्छ, तर यो सोच्दैनन् कि त्यहाँ खटेको जति नेपालमा पनि खटेर काम गर्ने हो भने पैसा र इज्जत कमाइनुका साथै आफ्नो परिवारसँग बस्न पाइन्छ, दुःखसुखमा आफ्नाको साथ तथा हौसला पाइन्छ । तर, मानिसहरू यसको ठीक विपरीत व्यवहार गर्छन् । त्यहाँ दिनरात नभनी १० देखि १२ घण्टासम्म काम गर्छन्, तर यहाँ यो काम नारीले गर्नुपर्छ, त्यो काम पुरुषले गर्नुपर्छ भनेर विभेद गर्छन् । विदेशमा हाँसीखुसी लाखौं खर्च गरेर यहाँ नेपालमा नारीले गर्ने काम गरिरहेका हुन्छन् ।
त्यसैले काम कहिले पनि सानो या ठूलो हुँदैन । जसले जतिसम्म काम गर्न सकिन्छ त्यति गर्नुपर्छ । आफूले नजानेको कुरा आफूभन्दा सानाबाट सिक्दैमा आफू सानो भइँदैन । विदेश जान लाखौं खर्च गर्न तयार हुन्छन्, तर त्यति नै लगानी स्वदेशमा गर्न पछि हट्छन् अनि कसरी उँभो लाग्छ हाम्रो देश ?
समाजमा कतिपय ज्वलन्त उदाहरणहरू सामाजिक सञ्जालहरूमार्फत देख्न र सुन्नमा समेत आउँछ कि आठ–नौ वर्ष विदेशमा बसेर स्वदेश फर्केर खेती, पशुपालन, माछापालन तथा अन्य व्यवसायहरू गरेर स्वदेशमै सफल जीवनयापन गरेका छन् । एउटा उखान नै छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ यही सन्दर्भसँग मिल्दोजुल्दो दुई उदाहरणीय व्यक्तित्वहरू मैले स्वयम् देखेकी छु । टीकाथलीवासी एक महिला हुनुहुन्छ, उहाँले आफ्नो सानो ठेलामा कपडाहरू बेचबिखन गर्नुहुन्छ । उहाँ यति धेरै मेहनती हुनुहुन्छ कि लकडाउनको समयमा समेत बिहान होलसेल पसलमा हिँड्दै गएर सामानहरू ल्याएर दिनहुँ व्यापार गरेर आफ्नोे परिवार पाल्नुहुन्थ्यो ।
त्यसैले परिश्रमीलाई कहिल्यै दुःख हुँदैन । उहाँको यस्तो लगन र मेहनत देखेर सबै जना छक्क पर्थे । देशभर कोरोनाको संक्रमण रोक्नलाई लकडाउन गरे पनि उहाँले आफ्नोे कामलाई सधैँ निरन्तरता दिइरहनुभयो ।
यस्तै अर्को एक परिवार जहाँ दुई साना साना बाबुहरू छन्, उनीहरूको खाजा पसल छ र उक्त खाजा पसल टोलकै प्रख्यात खाजा पसल मानिन्छ । ती दुइ दम्पती यति धेरै कामका लागि खट्ने गर्छन् कि न त उनीहरूको खाना तथा खाजा खाने समयको टुंगो छ, न त आफ्ना बाबुहरूलाई अन्य बच्चाहरूसरह समय दिएर स्याहारसुसार गर्न नै पाउँछन् ।
उक्त होटलमा यति धेरै भीड हुन्छ कि बस्ने ठाउँसमेत पाइँदैन । राम्रो व्यवहार, बोलीचाली र खानेकुराहरू सफा हुनुका साथै एकदम मीठो पनि हुनाले होला, त्यहाँ सदावहार भीड हुने गर्छ । यस्तो परिस्थितिमा समेत यसरी व्यापार–व्यवसाय गर्नुलाई एकदम राम्रो उपलब्धि मानिन्छ । त्यसैले परिश्रम गरे यहाँ के गर्न सकिँदैन र ? विदेशमा भाडा माझ्दा सम्मान र यहाँ आफ्नो जन्मथलोमा आफ्ना परिवारसँग बसेर घरको काम गर्दैमा अपमान भन्ने हुन्छ र ? त्यसैले कर्म गरौं भविष्यमा फल अवश्य नै राम्रो पाइनेछ ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्