पाँच महिनामा चार खर्बभन्दा बढी रेमिट्यान्स «

पाँच महिनामा चार खर्बभन्दा बढी रेमिट्यान्स


चालू आर्थिक वर्षको पाँच महिनामा १०.९ प्रतिशतले रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको भए पनि रेमिट्यान्स आय बढेको देखाएको हो ।
प्रतिवेदन अनुसार, रेमिट्यान्स १०.९ प्रतिशतले बढेर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्सको आप्रवाह ६.४ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । तर, रेमिट्यान्स बढ्दा र कोभिडको कारणले चैतदेखि प्रभावित भएको अर्थतन्त्र सुधारोन्मुख हुँदा पनि चालू खाता २१ अर्ब ३२ करोडले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोहि अवधिमा चालू खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । तर, गत साउनदेखि लगातार चार महिना बचतमा रहेको चालू खाता पछिल्लो महिनाहरुमा आयात बढ्दै जाँदा मंसिर महिनाको अन्त्यसम्ममा २१ अर्ब ३२ करोड रूपैयाँले घाटामा पुगेको हो ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म २० अर्ब ४२ करोड रूपैयाँले बचतमा रहेको चालू खाता घाटा एक महिनामै २१ अर्ब नाघेको हो । शोधनान्तर स्थिति भने १ खर्ब ६ अर्ब ४७ करोड बचतमा छ ।
यस अवधिमा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । निर्यात भने ५.१ प्रतिशतले बढेर ५० अर्ब ६ करोड पुगेको छ । यस्तै, राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मंसिर महिनामा मूल्यवृद्धि २.९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ६.५ प्रतिशत रहेको थियो । सबैन्दा धेरै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१ प्रतिशत रहेको छ । खासगरि फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडीमा मूल्यवृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्