सेयर बजार परिसूचक २३ सय नजिक «

सेयर बजार परिसूचक २३ सय नजिक


सेयर बजारमा नेप्से परिसूचक २३ सय अंक नजिक पुगेको छ ।
लगातार उकालो लागेसँगै सेयर बजार मापन गर्ने नेप्से परिसूचक बुधबार झण्डै १९ अंकले बढेर २३०० अंक नजिक पुगेको हो । साताको चौथो कारोबार दिन बुधबार बजार खुलेदेखि नै उकालो लागेर नेप्से परिसूचक २२९६.०४ अंकसम्म पुगेको थियो । करिब २३ सय अंकनजिक पुगेको परिसूचक पछि सामान्य करेक्सन हुँदै १८.८१ अंकले बढेर २२८६.५४ अंकमा बन्द भएको छ ।
यसरी नेप्से परिसूचक बढ्दा बुधबार कारोबार रकमसमेत बढेको छ । मंगलबार ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर २०७ कम्पनीको १ करोड ३२ लाख कित्ता सेयर ५० हजार ९ सय ५० पटक किनबेच भएको छ ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्ट माइक्रो फाइनान्स, इन्फिनिटि लघुवित्त, युनाइटेड फाइनान्स नारायणी डेभलपमेन्ट बैंक र गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्रभु लाइफ, समृद्धि फाइनान्स, गणपति माइक्रोफाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी वृद्धि भएको छ । बुधबार उत्पादन, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचकमा उछाल आएको छ । वाणिज्य बैंक र होटल समूहको सूचक भने सामान्य घटेको छ । नेपाल टेलिकमको २६ करोड रुपैयाँको कारोबार हुँदा पुनर्बिमा कम्पनीको २० करोड, माथिल्लो तामाकोसीको १८ करोड, शिवम् सिमेन्टको १६ करोड र एनआईसी एसिया बैंकको १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्