भत्ता वितरण नहुँदा लक्षित समुदाय मर्कामा

पुरचौडी नगरपालिकाले यस आवमा एक पटक पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन् । आव ०७-७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्नेमा कर्मचारीको लापरबाहीका कारण सामाजिक सुरक्षा भत्ताको बजेट निकासासमेत हुन सकेको छैन ।
यस आवको दोस्रो चौमासिकको दोस्रो महिना बित्दासमेत सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति, दलितलगायत लाभग्राही मर्कामा परेको ६८ वर्षीया वृद्धा हरिना महराले बताए । असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबाट ठूलो आशा गरेका नागरिकले झन समस्या भोग्नु परेको गुनासो गरेका छन् । “जनप्रतिनिधि आउनुभन्दा अघि बरु चार–चार महिनामा भत्ता पाइन्थ्यो,” महराले भनिन् ।
यस कारण रोकियो बजेट
कतिपय स्थानीय तहका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका बेला पुरचौडी नगरपालिकाका जनप्रतिनिधि भने निर्वाचित भएपछि एक पटक पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न पाएका छैनन् । साउनदेखि कात्तिकसम्मका लागि पहिलो चौमासिकमा २ करोड २२ लाख रुपैयाँ निकासा हुनुपर्नेमा १ करोड १७ लाखमात्रै बजेट निकासा भएकाले वितरण नगरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लाभग्राहीको सही विवरण स्थानिय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाउन नसक्दा रकम रोकिएको नगरपालिकाका उपप्रमुख जयन्ती ऐरबमले बताइन् । “विगतमा वडासचिवहरूले मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता वितरण गरेछन्,” उनले भनिन्, “पूर्ण व्यक्तिगत विवरण बिना नै भत्ता वितरण गरिएकाले अहिले समस्या आयो ।” सबै वडाबाट लाभग्राहीको विवरण अपुग भएकाले रकम रोकिएको वडा नम्बर ८ मल्लादेहीका सचिव उत्तमबहादुर विष्टले स्वीकार गरे । “हरेक वडाबाट कमजोरी भएको छ,” उनले भने, “कसैको नागरिकता छुटाएका छन् कसैले मृत्यु भइसकेका व्यक्तिको विवरण पनि समावेश गरेकाले विवरण पेस गर्न नसकिएको हो ।”
दबाबमा जनप्रतिनिधि
सामाजिक सुरक्षा भत्ता वितरण गर्न नपाउँदा जनप्रतिनिधिहरू नैतिक दबाबमा परेका छन् । चुनावमा गरेका बाचाअनुसार भत्ता समयमै वितरण गर्न नपाउँदा नागरिकबाट दबाब आउन थालेको वडा नम्बर ८ वडाध्यक्ष जनक विष्टले बताए । “वृद्धवृद्धा, एकल महिलाले बाटोमा हिँड्दा पनि किन भत्ता दिनु भएन भनेर सोध्ने गर्छन्,” उनले भने, “निर्वाचित भएपछि एक पटक पनि भत्ता बाँड्न पाएका छैनौ ।” कर्मचारीले गरेको प्राविधिक त्रुटिले आफूहरू समस्यामा परेको उनको आरोप छ । अहिले लाभग्राहीको पूर्ण विवरण मन्त्रालयमा पठाउने काम अन्तिम चरणमा पुगेकाले अब यसै महिनाभित्रै सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु हुने नगरउपप्रमुख ऐरबमले बताइन् ।