२४३ नेपालीको श्रम गन्तव्यमै दाहसंस्कार «

२४३ नेपालीको श्रम गन्तव्यमै दाहसंस्कार

शव व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै दर्जन श्रम गन्तव्य मुलुकले ६० नेपालीको शव परिवारको अनुमतिबिना नै दाहसंस्कार गरेको पाइएको छ । कोरोना संकटका कारण लामो समय हवाई सेवा बन्द हुँदा शवगृहको अभावमा ६० नेपाली श्रमिकको गन्तव्यमा नै हतारमा दाहसंस्कार गरिएको हो । यसरी अनुमतिबिना दाहसंस्कार गरिएकामध्ये कोरोना संक्रमणका कारण मृत्यु भएर र लामो समयदेखि विभिन्न अस्पतालको शवगृहमा अलपत्र रहेका शव धेरै रहेका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरब, कतार, यूएई, कुवेत, मलेसिया र बहराइनमा धेरै नेपालीको शव दाहसंस्कार गरिएको छ । खाडी लगायतका १० श्रम गन्तव्य देशले नेपालमा रहेका परिवारको अनुमतिबिना नै नेपाली नियोगसँग समन्वय गरेर ६० मृतक श्रमिकको दाहसंस्कार गरेको हो । लकडाउन अवधिमा मृत्यु भएका र शवगृहमा रहेका नेपालीको शव यसरी दाहसंस्कार गरिएको हो । विदेशमा मृतक नेपालीको दाहसंस्कार गर्नुअघि परिवारको अनुमति अनिवार्य मानिन्छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ विदेशमा मृत्यु भएका नेपालीको श्रमिकको शव ल्याउन नसक्ने अवस्था भए नजिकका नातेदारको दाहसंस्कार अनुमति लिनुपर्ने बताउँछन् । उनका अनुसार यो अवधिमा विदेशमा रहेका २ सय ४३ मृतक नेपाली श्रमिकमध्ये १७४ जनाको परिवारले मात्र सम्बन्धित देशमा दाहसंस्कार अनुमति दिएका छन् ।
चैतयता सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरबमा भएको छ । यसरी मृत्यु भएका नेपालीमध्ये साउदी अरबमा मात्र १०३, यूएई ७०, कतार २८, कुवेत १२, बहराइन ६ रहेका छन् । यसरी मृत्यु भएकामध्ये १३१ कोरानाका कारण मृत्यु भएको छ भने बाकी आत्महत्या र अन्य कारण रहेको छ । कोभिड–१९ को विषम परिस्थितिमा विदशमा मृत्यु भएका श्रमिकहरूको शव नेपाल ल्याउनका लागि असहज भएको जनाउदै सम्बन्धित देशमा नै दाहसंस्कार गर्नु परेको नियोगले जनाएका छन् । यसरी विदेशमा दाहसंस्कार गरिएका श्रमिकका परिवारलाई राहतस्वरूप बोर्डले थप ५० हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ । हालसम्म विदेशमा दाहसंस्कार गरेकामध्ये ५२ जनाले बोर्डमा ५० हजारका दरले सहयोग लिइसकेका छन् ।
लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा मृत्यु भएर शव नेपाल ल्याउन नपाइ श्रम गन्तव्यमै दाहसंस्कार गरेका श्रमिकका आफन्तलाई सरकारले सहयोगस्वरूप ५० हजार रूपैयाँ सहयोग दिने निर्णय २ महिनाअघि गरेको थियो । यो निर्णयपछि विदेशमा मृत्यु भएका श्रमिकका आफन्तले यसअघि लिँदै आएको ७ लाखसहित थप ५० हजार रुपैयाँ पनि पाउने छन् ।
हालसम्म २ सय ३४ नेपालीको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गरिएका मध्ये पनि वैदेशिक रोजगार नियमावलीअनुसार आर्थिक सहयोग पाउने मादण्डमा परेकाको संख्या भने हालसम्म १७२ जना मात्र रहेको बोर्डले जनाएको छ । हाल भने कोरोना संक्रमणबाहेक अन्य कारणले मृत्यु भएका श्रमिकको शव भने नियमित ल्याइरहेको छ ।
बोर्डले सम्बन्धित गन्तव्यमा रहेको नेपाली दूतावासबाट शवदाह गरेको व्यहोराको पत्र भने आवश्यक पर्ने जनाएको छ । यसअघि ७ लाख रुपैयाँ लिएकाहरूले यो सहयोग कार्यक्रम लागू भएपछि थप ५० हजार पाउने जनाइएकोे छ । निर्देशक श्रेष्ठले अधिकांश श्रमिकका आफन्तलाई नियमित दिँदै आएको ७ लाखसहित हाल थप गरिएको ५० हजार एकै पटक उनीको बैंक खातामा जम्मा गर्न थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्