ग्लोबल आइएमई बैंकको १६% लाभांश पारित «

ग्लोबल आइएमई बैंकको १६% लाभांश पारित

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को कुल मुनाफाबाट सेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए । उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए ।
साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आर्थिक वर्ष २०७६÷०७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाइरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ । हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
१४औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ, रामबहादुर भण्डारी, सुदर्शन कृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दिपक शर्मा पोखरेल रहेका छन् ।
नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बुधबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्