संसद् पुनस्र्थापना नगरी चुनाव गर्न खोजे रक्तपात : कोइराला «

संसद् पुनस्र्थापना नगरी चुनाव गर्न खोजे रक्तपात : कोइराला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद् पुनस्र्थापनाबिना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको बताइन् ।
सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो । असंवैधानिक तरिकाले संसद् विघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनले बताइन् । उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने जानकारी दिइन् ।
‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ ? आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’
देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा उनले आपत्ति जनाइन् । उनले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’
संसद्विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा उनले आंैल्याइन् । उनले भनिन्, ‘संसद बिना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको उनले बताइन् ।
ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनै पनि सम्झौता गर्न नसक्ने उनले बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्