प्रधानमन्त्री ओली देशलाई संकटमा पार्न चाहन्छन् : नेपाल «

प्रधानमन्त्री ओली देशलाई संकटमा पार्न चाहन्छन् : नेपाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित कार्यकता भेलामा अध्यक्ष नेपालले आफ्नो पार्टी मूल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गरेका हुन् ।
ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धति को भएको भन्दै उनले आफूहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए । पार्टीको बहुमत आफूहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गरे ।
आफ्नो पार्टीमा आउनेहरुको उचित मूल्यांकन र सम्मान गरिने उनको भनाइ छ । उनले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतिक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफूहरु नै हुने दाबी गरे । सूर्य चिन्ह आफूहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उनले भ्रममा नपरी आफ्नो पार्टीमा लाग्न आह्वान गरे ।
प्रधानमन्त्री ओलीको देशलाई संकटमा पु¥याउने चाहना रहेको अध्यक्ष नेपालको भनाइ छ । वैशाखमा निर्वाचन नहुने उनले दाबी गरे । प्रतिनिधि सभा विघटनको कदम विरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए ।
आफूहरु पद प्राप्तिको लागि नभई नागरिक जिम्मेवारी र कमयुनिष्ट कर्तव्य निर्वाह गर्नको निम्ति संघर्षको मैदानमा उत्रिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाए । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उनको भनाइ छ । ओलीले मदन भण्डारी फाउन्डेशन मार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै शुरु गरेको उनले बताए । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफूहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाइ छ । एकिकरणको यस अवधिमा पार्टी विचारको आधारमा नचलेको, नेता कार्यकतालाई संगठित नगराइएको उनले बताए ।
अध्यक्ष नेपालले ओलीले पार्टी चोइट्याउन लागेको भन्दै भ्रमको पछि लागेर उता लाग्नेहरुलाई बुझाउनुपर्ने जिम्मेवारी रहेको बताए । संगठित गराएर पार्टीलाई धारिलो र गतिशिल बनाउन उनले पार्टी नेता कार्यकर्तालाई ध्यानाकर्षण गराए । साथै प्रतिनिधि सभा विघटनको विरुद्धमा दृढता साथ उभिनुपर्ने उनको भनाइ छ । आफूहरुको संघर्षले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका राजनीतिक उपलब्धीको रक्षा गर्न सक्नुपर्ने उनले बताए ।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्बन्धमा प्रश्न पनि उठाए । उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे । प्रधानमन्त्री ओलीले पार्टीमा सधै बेइमानी र जालझेल गरेको उनले बताए ।
भेलामा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाइन् । बागमति प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओली प्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाइन् ।
उनले केन्द्रीय कमिटीमा आफुहरुसंग बहुमत रहेको दाबी गरिन् । उनले केपी ओली कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अघि बढेको आरोप लगाइन् ।
काठमाडौवासी निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै उनले काठमाडांैबासी प्रतिगमन नसच्चिएसम्म सेलाएर नबस्ने चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस्