धमिलो खोलामा माछा मार्ने खेलको अन्त्य कहिले होला ? «

धमिलो खोलामा माछा मार्ने खेलको अन्त्य कहिले होला ?

नेपाल एक विकासोन्मुख देश हो । यहाँका अधिकांश मानिस कृषि क्षेत्रमा आश्रित छन् । कृषिबाहेक अन्य क्षेत्रमा लगानी गर्ने अवसरहरू कम मात्रामा रहेको छ । त्यसैको परिणामले नेपालले तीव्र विकास हासिल गर्न सकेको छैन । औद्योगिक क्षेत्रको विकास पनि पछिल्ला दिनहरूमा बढ्दै गइरहेको छ, तर त्यस औद्योगिक क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नहुँदा नेपालले अर्बौं रुपैयाँ विदेशी कम्पनीको नाममा बाहिर पठाउनुपरेको छ ।
आज नेपालमा निर्माणाधीन आयोजनाहरूमा अधिकांश विदेशी कम्पनीले ठेक्का प्राप्त गर्छन् । ती विदेशी कम्पनीले ठेक्का प्राप्त गरेका आयोजनाहरूको निर्माण सम्पन्न गर्न समय लागेका प्रशस्त उदाहरणहरूबाट प्रस्ट थाहा पाउन सकिन्छ कि नियमनकारी निकायले त्यस्ता आयोजना निर्माण गर्ने कम्पनीलाई संरक्षण गरी कतै धमिलो खोलामा माछा मार्ने खेल त गरेका छैन ?
आफ्नो सत्ता र शक्तिको आडमा सरकार सञ्चालनरत दल र ती दलका नेता–कार्यकर्ताले आफ्नो नाममा प्रतिष्ठानहरू सञ्चालन गर्ने र राज्यकोषबाट अर्बौं रकम निकासा गर्ने र कमाउ धन्दा चलाउने अचुक औषधिका रूपमा राज्यकोष प्रयोग गर्ने गरेको पछिल्ला दिनमा विनियोजन गरिरहेको बजेटले देखाएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एक प्रतिष्ठित नेताले सर्पको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले ६० करोड रुपैयाँ राज्यकोषबाट निकासा गरेबाट हामी सबै प्रस्ट हुन सक्छौं कि सुनियोजित रूपमा यसरी बजेट निकासा गर्न हाम्रो सरकार तयार भइरहेको छ ।
आज नेता, मन्त्री र कार्यकर्ता बन्नका लागि लगानी गरेको पैसालाई उल्ट्याउने खेल सुरु भएको छ । चुनावमा भोट माग्न आउँदा जनतालाई बाँडेका आश्वासन पूरा गर्नेतर्फ कोही नेताज्यूको कहिल्यै ध्यान गएको छैन । चुनाव जितेपछि त्यस क्षेत्रमा भएका गतिविधिलाई नजिकबाट कसैले हेरेको छैन । बजेट सक्न र कमिसनको लोभमा मध्यअसारमा विकासका नाममा पहाड फोरिन्छ, पाखापहरामा रातरात डोजर चलाइन्छ, भएका संरचना बिगारिन्छ, कामचलाउ सडक भत्काइन्छ र बजेट सकिन्छ । आधा काम भएपछि बजेट सकियो भन्न लगाइन्छ अनि ठेकेदार कम्पनीहरू पनि कानमा तेल हालेर बस्छन् र विकास–निर्माणको कामलाई बन्धक बनाइन्छ । यो त सबैको मिलेमतोमा राज्यसत्ताको चरम दुरुपयोग भएको कहलिन्छ । त्यसैले यस्ता राज्य कोष दुरुपयोग गर्ने जोकोहीलाई पनि तह लगाउने एक सच्चा, देश भक्ति राजनीति गर्ने देशभक्तको खोजीमा आमजनता रहेका छौं ।
राजनीतिमा निःस्वार्थ समाज र देशको सेवा हुन्छ । आज विश्वका शक्तिशाली देशहरू राजनीतिमा संलग्न बनेका पनि छन् । उनीहरूको मरेपछि पनि उच्च सम्मान गरिन्छ । आज माउत्सेतुङ्ग, महात्मा गान्धी, नेल्सन मन्डेला अब्राहङ लिङ्कनजस्ता व्यक्तिहरूले एक आदर्श नेताको छवि बनाएका छन् । जसले आफू र आफ्नो देशलाई युगान्तकारी परिवर्तन गरेर एक सच्चा राजनीतिज्ञको नाम राखेर बिदा भए । ती र तिनले जनता र सिङ्गो देश अनि विश्वलाई दिएको सन्देश र सद्भावनालाई आज पनि सारा विश्वले नमन गर्छ, आत्मसात् गर्छ ।
तर, नेपालमा एक सच्चा, कर्तव्यनिष्ठ र कर्मठ राजनीतिज्ञको उपस्थिति आजसम्म देख्न पाइएको छैन । एक चुनौतीलाई अवसरमा परिणत गर्नुपर्ने बेलामा चुनौतीलाई लुटतन्त्र मच्चाउने र कमाउ धन्दा चलाउने अचुक औषधिका रूपमा हाम्रा राजनीतिक दलका नेताहरूले प्रयोग गरेका छन् । आफू सत्तामा हुँदा राज्यकोषलाई दोहन गर्ने शीर्ष नेताहरूको हाली–मुहाली दिनदिनै बढिरहेको तर्फ सम्बन्धित निकाय अख्तियारको ध्यान जाओस् र दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही होस् ताकि सबै नेपालीले गौरवका साथ सङ्लो खोलामा माछा मार्न सकून् र चुनौतीलाई एक अवसरमा बदली एक इमानदार, कर्मठ, सच्चा, समाजवाद उन्मुख देशको परिचय दिन नेतृत्वलाई अनुरोध गर्छाैं ।

प्रतिक्रिया दिनुहोस्