कर्णाली प्रदेश सरकारका मन्त्री फेरिने «

कर्णाली प्रदेश सरकारका मन्त्री फेरिने

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिट्टै नै प्रदेश सरकार पुनर्गठन गर्ने बताएका छन् ।
मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाीले छिट्टै नै मन्त्रिपरिषद पुर्नगठन गर्ने मनस्थितिमा रहेको बताएका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विभाजनले नेकपाकै सरकार रहेको कर्णाली प्रदेशलाई पनि प्रभावित गरेको छ ।
आफ्नो नेतृत्वको सरकार जोगाउन मुख्यमन्त्री शाहीले सांसदहरूलाई मन्त्रीको लोभ देखाएर बहुमत पु¥याएका छन् । हाल प्रदेशसभाका ४० मध्य २२ जना सांसदको समर्थन मुख्यमन्त्री शाहीले पाएका छन् । तर, नेकपामा विभाजन देखिनु अघिदेखि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको कर्णाली प्रदेशमा अब कहिले पुनर्गठन हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा मुख्य मन्त्री शाहीले चाँडै पुनर्गठन गर्ने र त्यसका लागि उपयुक्त समय हेरिरहेको प्रतिक्रिया दिए । मन्त्रिपरिषद्मा मन्त्री फेरबदल गरिए पनि मन्त्रालय भने नथपिने उनले स्पष्ट पारे । मुख्य मन्त्री शाहीले बहुमतको सरकार भए पनि आफू अहिलेसम्म अल्पमतको सरकार चलाए जस्तो अनुभूतिभएको बताए ।
कर्णालीको विकासका लागि सबै एकताबद्ध हुनुपर्ने बेलामा सरकार जोगाउनतर्फ ध्यानदिनु परेको उनले आशय व्यक्त गरे । ‘कर्णाली सरकारले सुरुदेखि नै सहज रुपमा काम गर्ने वातावरण भएन’ उनले भने, ‘काम गर्न खोज्दाबार हालेर कामगर्न दिइएन ।’ समस्याकाबीच पनि कर्णाली सरकारले तीव्र रुपमा काम बढाएको मुख्यमन्त्री शाहीले दाबी गरे । विगतमा नै पछाडि परेकाले कर्णालीको विकास नदेखिएको भन्दै प्रदेश सरकारले अन्य प्रदेशभन्दा उत्कृष्ट काम गरेको उनको भनाइ छ । ‘कर्णालीमा भौगोलिक विकटताका कारण तराईको जस्तो थोरै पैसाले धेरै काम गर्न सकिँदैन’, उनले भने, ‘तराईमा किलोमिटर सडक खन्ने रकमले कर्णालीमा एउटा चट्टान फोड्नुपर्ने हुन्छ ।’
कर्णाली सरकारले भौतिक पूर्वाधार, त्यसमा पनि सडकको विकासमा जोड दिने घोषणा स्मरण गर्दै शाहीले हरेक वडा वडामा सडकका ट्रयाक खोलेको तथा स्वास्थ्य र शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा उल्लेखनीय काम भएको बताए ।
यस्तै अर्काे प्रसंगमा मुख्य मन्त्री शाहीले सुर्खेत विमानस्थल विस्तारका लागि सर्वपक्षीय रुपमा छलफल गरिने बताए । विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सम्झौता प्रक्रिया अगाडि बढाउन खोज्दा स्थानीयको बिरोधले रोकिएको भन्दै विवाद समाधान गरेर मात्र अघि बढ्ने उनले बताए । सहजीकरणका लागि आफ्नो नेतृत्वमा सबै राजनीतिक दललगायत सरोकार बालसहितको सहजीकरण समिति बनाएर अघि बढ्ने उनको भनाइ छ । विमानस्थल विस्तारका लागि १ अर्ब बजेट छुट्याइएको बताउँदै मुख्य मन्त्री शाहीले तत्कालका लागि अन्यत्र विमानस्थल बनाउने उपयुक्त ठाउँ नभएकाले स्थानीयसँग छलफल गरेर सुर्खेत विमानस्थल नै विस्तार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्