कोभिड–१९ को कारणले सिकाइमा पुगेको क्षति न्यूनीकरणका लागि नेपाल सरकार तथा विकास साझेदारहरूद्वारा अभियानको शुभारम्भ «

कोभिड–१९ को कारणले सिकाइमा पुगेको क्षति न्यूनीकरणका लागि नेपाल सरकार तथा विकास साझेदारहरूद्वारा अभियानको शुभारम्भ

विद्यालयको सुरक्षित पुनःसञ्चालन तथा वैकल्पिक शिक्षाका विभिन्न विधिहरूको प्रयोगमार्फत कोभिड–१९ महामारी तथा यसपछि पनि बालबालिकालाई निरन्तर सिकाइमा सघाउनका लागि नेपाल सरकारले साझेदारहरूको सहयोगमा आजबाट एउटा शैक्षिक अभियानको शुभारम्भ गरेको छ ।
नेपालमा महामारी रोकथामका लागि लागू गरिएका स्थानीय तथा राष्ट्रिय बन्दाबन्दीको कारणले विद्यालयहरू लामो समयसम्म बन्द रहँदा झन्डै ८५ लाख बालबालिकाको सिकाइ प्रक्रिया जोखिममा परेको थियो । स्थानीय सरकारहरूले कोभिड–१९ को जोखिम कम भएको वा नियन्त्रणमा आएको आंकलन गर्दै केही क्षेत्रहरूमा विद्यालयहरू पुनःसञ्चालन गरे तापनि अझै पनि संक्रमणको जोखिम व्याप्त रहेकाले विद्यालय पुनःसञ्चालनमा थप चुनौतीहरू देखिएका छन् ।
यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युनिसेफ नेपाल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघ र नेपाल शिक्षा समूहसँगको सहकार्यमा विद्यालय सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ मा आधारित रही सिकाइ निरन्तरता अभियानको विकास गरेको हो । यसमा सी.एम.सी नेपाल, एजुकेसन पेजेज, एन्फो, प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, युनाइटेड मिसन टु नेपाल, बीबीसी मिडिया एक्सनमार्फत यूकेएड, यूएसए आइडीको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम २, भीएसओ र विश्व शिक्षासँगको सहकार्य छ । अन्य संघ–संस्थाहरूलाई पनि अभियानमा जोड्ने क्रम जारी छ ।
कोभिड–१९ को सन्दर्भमा सरकारद्वारा जारी गरिएको विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा अनुरुप यस अभियानले विद्यालयहरू पुनःसञ्चालनमा आएका क्षेत्रहरूमा संक्रमण रोकथाम गर्नपालना गर्नुपर्ने जनस्वास्थ्य सुरक्षा मापदण्डको बारेमा जानकारी प्रदान गर्दै अभिभावक, स्याहारकर्ता, शिक्षक, विद्यालय व्यवस्थापन पदाधिकारी तथा स्थानीय सरकारहरूलाई संलग्न गराउनुका साथै यस चुनौतीपूर्ण समयमा बालबालिकाको सिकाइले निरन्तरता पाएको सुनिश्चित गर्नका लागि वैकल्पिक शिक्षाका विधिहरूको प्रभावकारी प्रयोग गर्न पनि प्रोत्साहन गर्छ । विशेष गरी विपन्न, दुर्गममा बसोबास गर्ने तथा सिमान्तकृत बालबालिकाको निरन्तर सिकाइको लागि थप एवं लक्षित सहयोग प्रदान गर्न तथा उनीहरूले विद्यालय छाड्ने अवस्था आउन नदिन अभियान केन्द्रित रहनेछ ।
‘यो अभियानबाट सम्पूर्ण विद्यार्थीहरूको सिक्न पाउने हक सुनिश्चित गर्न तथा विद्यार्थीहरूले उपलब्ध सुविधाअनुरुप सिकाइका लागि सहज वातावरण सृजना गर्न मद्दत गर्ने छ भन्ने अपेक्षा गरिएको छ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, घनश्याम अर्यालले भने ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न वैकल्पिक शिक्षाका विधिहरू तयार पार्नका लागि प्रदेश तथा स्थानीय सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्दै आएको छ। वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्ने सरकारी निर्देशिका अनुरुप यी नमुना तयार पार्ने क्रममा विद्यार्थीहरूलाई पाँचवटा समूहमा वर्गीकरण गरिएको छ, जसमा (क) कुनै पनि सञ्चार माध्यममा पहुँच नभएका (ख) रेडियोमा पहुँच भएका (ग) टेलिभिजनमा पहुँच भएका (घ) कम्प्युटरमा पहुँचभएका तर इन्टरनेट सुविधा नभएका (ङ) इन्टरनेटमा पहुँच भएका बालबालिकाका समूह छन् ।
यी वैकल्पिक शिक्षाका विधिहरूको प्रभावकारी प्रयोगमा सिकाइ निरन्तरता अभियान केन्द्रित रहेको छ, जसअन्तर्गत नेपाल टेलिकमको सीयुजी सेवालाई क्रियाशील बनाउँदै टेलिफोन र एसएमएस जस्ता प्रविधिको कम प्रयोग हुने विधिको प्रयोग गरीशिक्षकहरूलाई परिचालन गर्ने योजना छ । साथै, बालबालिकाको शिक्षामा अभिभावकहरूको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै विशेष रेडियो कार्यक्रम, गृह विद्यालय कार्यक्रमतथा सिकाइ सहयोगका लागि अभिभावक समूहको प्रवद्र्धन गरिनेछ ।
विद्यालय पुनः सञ्चालन हुने क्रममा रहेका स्थानहरूका लागि पनि महत्वपूर्ण सावित हुन सक्छन्, “नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विसले भने । “शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पदाधिकारीहरूलाई यी निर्देशिका, सिकाइका साधन एवं दृष्टिकोणहरू उपलब्ध गराइएमा भविष्यमा आउन सक्ने संकटको समयमा पनि बालबालिकाको सिकाइ निरन्तर रहने कुरा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्