नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु

नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ ।
यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको प्रवक्ता उद्धव सिलवालले जानकारी दिए । योजनामा जुनसुकै व्यवसायमा संलग्न, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक र कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।
यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् ।
बचतकर्ताको आम्दानीको आधारमा मासिक र त्रैमासिक र अर्धवार्षिक र वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् ।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ ।