हाम्रो पात्रोको म्यासेज तथा भिडियो कलिङ सेवा «

हाम्रो पात्रोको म्यासेज तथा भिडियो कलिङ सेवा

हाम्रो पात्रो एपले अडियो तथा भिडियो कल र म्यासेज सेवा सुरु गरेको छ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि इन्स्ट्यान्ट म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज सञ्चालनमा ल्याएको हो । आईओएस प्रयोगकर्ताले भने यो सुविधा प्रयोग गर्न थप केही समय कुर्नुपर्नेछ । हाल आईओएसका लागि आन्तरिक टेस्टिङको काम चलिरहेको भन्दै हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले मार्चसम्म लाइभ गर्ने योजना रहेको जानकारी दिए ।
यससँगै भाइबर, ह्वाट्सएप, इमो, म्यासेञ्जर लगायतका एपहरुको बीचमा स्वदेशी विकल्प तयार भएको छ । अब हाम्रो पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइल साइन अप गरी सहजै हाम्रो म्यासेज प्रयोग गर्न सक्नेछन् ।
यसमा प्रयोगकर्ताको गोपनीयताका लागि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर प्रयोग गरिएको छ । यसको अर्थ हाम्रो म्यासेजअन्तर्गत हुने अडियो तथा भिडियो कुराकानी वा च्याटमा सम्बन्धित प्रयोगकर्ता बाहेकको अन्य कसैको पनि पहुँच हुने छैन ।
हाल यसमा अडियो तथा भिडियो कल गर्न सकिने, च्याट गर्न तथा फोटो र स्टिकरहरु पठाउन सकिने फिचर उपलब्ध छ । हाम्रो म्यासेज सेवा प्रयोग गर्दा अन्य एपको भन्दा डेटा खपत समेत कम हुनेछ । एप अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिनेछ । यससँगै हाम्रो पात्रो नेपाली भाषामा म्यासेजिङ सर्भिस दिने पहिलो एप समेत बनेको छ ।
भिडियो कल गर्दा इन्टरनेटको ब्याण्डविथ अनुसार गुणस्तर घटबढ हुने गरी एडप्टिभ बनाइएको छ । गुणस्तरिय तथा फास्ट इन्टरनेट भएको अवस्थामा हाम्रो म्यासेजमा एचडी अर्थात उच्च गुणस्तरमा भिडियो कल गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्