२२ वर्षदेखि सडकमै बास «

२२ वर्षदेखि सडकमै बास

महेन्द्रनगर-पुस महिनाको कठ्याङ्रिँदो चिसो, त्सयमा पनि सडक पेटी । दिउँसो मागेर गुजारा चलाउने राती शान्त सडक पेटीमा सुतेर बिहान देख्ने । २२ वर्षदेखि महेन्द्रनगरको सडक पेटीमा यस्तै समस्या भोग्दै आएकी वृद्धा हुन् भीमदत्त नगरपालिका–१८ धोली दमाई । ७३ वर्ष टेकेकी वृद्धा गएको २२ वर्षदेखि सडकपेटीमा बसोबास गर्दै आएकी छिन् । पुख्यौली घर डोटी जिल्लाको शिलगढी भएको दमाइ वृद्धाले बुढेशकाल लागेपछि सडकको जीवन धान्नु परेको छ । चिसोको महिना चिसो भन्न नसक्ने गर्मीको महिना गर्मी भन्ने नसक्ने अवस्थामा बाध्यता झैं लामो समयदेखि सडक पेटीमा बसोबास गर्दै आएको धौली दमाई बताउँछिन् । श्रीमान् शंकर दमाईको मृत्यु भएपछि बेसहारा बनेकी वृद्धा दमाई पुसको कठ्याङरिँदो चिसोमा पनि सडक पेटीमा बसोबास गर्दै आएकी छिन् । विगतमा श्रीमान्सँग हुँदा भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकनजिकै एउटा झुपडीमा बसोबास गर्दै आएकी धौली दमाई श्रीमान्को मृत्यु पश्चात भने झुपडीबाट विस्थापित भएर बेसहारा भएर सडकमा बसोबास गर्ने बाध्य भएकी हुन् ।
“श्रीमान्को मृत्यु भएपछि भएको झुपडीबाट पनि विस्थापित भएँ, बाँचेका छोराले पनि साथ छोडे, श्रीमान्बाट टाढा भएपछि छोराहरूको नि अत्तोपत्तो छैन ।” वृद्धा धौली दमाईले भनिन्, “सडकमा बसोबास गर्दै आएको लामो समय भएको छ, सडकबाट उद्धार गरिदिन बाटोमा हिन्ने धेरै मानिसलाई गुनासो पोख्दै आएकी छु, मेरो कुरा सुन्ने कोही छैन ।” वृद्धा दमाईका ६ जना छोरा भए पनि ४ छोराको भने सानै उमेरमा मृत्यु भएको उनले बताइन् । बाँकी २ छोरा पनि सम्पर्कविहीन भएको उनले बताइन् । शारीरिक रूपमा अशक्त भएपछि छोराहरूले पनि सम्पर्क केही नगरेको वृद्धा दमाई गुनासो गर्छिन् ।
वृद्धा दमाईलाई भने कसैले वृद्धाश्रम पठाइदिए हुन्थ्यो भन्ने लाग्छ । तर उनको कोही आफन्त नभएका कारण उनी वृद्धाश्रम पनि जान पाएकी छैनन् । सडकको बसाइभन्दा वृद्धाश्रमको बसाइ सुखद हुने भएकाले वृद्धाश्रम जान दमाई वृद्धाको रहर छ । सडकमा राती सुत्दा एकतर्फी चिसोले च्याप्ने डर र अर्काेतिर जाँडरक्सी खाएको मान्छेको डरले पनि दमाईलाई सताएको हुन्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित कटानकी धोली दमाई । तस्बिर कारोबार

प्रतिक्रिया दिनुहोस्