देवघाटमा ल्याण्डफिल साइट बनाइने «

देवघाटमा ल्याण्डफिल साइट बनाइने

भरतपुर-देवघाट गाउँपालिकाले ल्याण्डफिल साइट निर्माण गर्ने भएको छ । वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनमा १० लाख खर्चेर ल्याण्डफिल साइट बनाउने तयारी छ ।
खोल्साको भागमा ग्याबिनसहितको तटबन्धन गरेर फोहर व्यवस्थापन गर्ने गरी योजना थप भएको पूर्वाधार विकास शाखाका इन्जिनियर तीर्थराज ढुंगानाले जानकारी दिए । देवघाटमा दैनिक एक ट्र्याक्टर फोहर संकलन हुने गर्छ । गाउँपालिकालाई सरसफाइको नमुना बनाउन ल्याण्डफिल साइट बनाउन लागिएको हो । गाउँपालिकाको सातौँ गाउँसभामा २४ बुँदे प्रस्ताव तथा कार्यसूचीमाथि छलफल भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनका अनुसार देवघाट आधारभूत अस्पताल निर्माणका लागि १६ करोड ५० लाख बराबरको डीपीआर तयार भइसकेको बताए ।
मंसिर १५ गते शिलान्यास भएको अस्पतालका लागि १२ करोड ९७ लाख बराबरको ठेक्का आह्वान गर्न लागेको जानकारी दिए । गाउँसभामा देवघाट–५ मा आरएमसी प्लान्ट निर्माण गर्ने, नगरप्रहरीलाई रासन भत्ता ५ सय थप गरी ४ हजार रुपैयाँ पु¥याउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने लगायतका विषयमा छलफल भएको छ । उपाध्यक्ष विमला थापाले यो वर्ष १ सय ४७ स्वीकृत योजनामध्ये १ सय १० वटा योजना योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको बताए ।
२४ नदी तथा घाटको आईईई प्रतिवेदन स्वीकृत भई चुरे क्षेत्रमा नपर्ने १३ वटा घाटको ठेक्का लगाउन थालिएको छ । यस्तै ११ वटा घाटको जिल्ला अनुगमन समितिबाट सिफारिस राष्ट्रपति चुरे संरक्षण विकास समितिमा सहमतिका लागि पठाइएको थियो । गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले हालको ५ नम्बर वडा भवनमा अस्पताल बनाइने भएकाले मर्ज हुन लागेको चक्रवती आधारभूत विद्यालय भवनमा सार्ने तयारी भएको बताए । गाउँपालिकाले यो वर्ष करिब ३ सय किमि दूरी सडक मर्मत गरिएको जनाएको छ ।
यसैबीच देवघाट गाउँपालिका तनहुँका १० स्थानीय तहमध्ये कोरोना रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीका अनुसार मंसिर तेस्रो साता गण्डकी प्रदेशले तनहुँका स्थानीय तहमध्ये देवघाटलाई उत्कृष्ट घोषणा गरेको थियो । देवघाटमा हालसम्म ४ सय ८२ जनाको पीसीआर गरेकोमा ४० जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये ३ जनामात्रै अस्पतालमा भर्ना भएका थिए । हाल गाउँपालिकामा २ जना सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । गाउँपालिकाले यो वर्षमात्रै कोरोना रोकथाम तथा नियन्त्रणमा १९ लाख ४० हजार खर्चेको छ । गाउँपालिकाले कोभिड अस्थायी अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्