Logo

महिला घन्काउँछन् पञ्चेबाजा

रुकुम – लोकसंस्कृति संरक्षणका लागि रुकुम पश्चिमका महिला जागेका छन् । विभिन्न शुभ कार्यमा पुरुषले मात्रै बजाउँदै आएको पञ्चेबाजा हिजोआज महिलाहरूले पनि बजाउन थालेका छन् । उनीहरूको लोकप्रियता पनि बढ्दैछ ।
पछिल्लो समय पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेकोमा रुकुमका महिला भने झनै उत्साहित छन् । महिलाले बाजा बजाउने र नृत्यसमेत देखाउने भएकाले महिला समूहको लोकप्रियता बढेको छ ।
मुसीकोट नगरपालिका–१ की ५८ वर्षीया पुतला दमाई गृहिणी हुन् । घरको कामकाजको सम्पूर्ण चाँजोपाँजो मिलाउने र घरको बाँकी काम गर्ने उनको मुख्य जिम्मेवारी हो । तर, पछिल्लो ४ वर्षदेखि जिल्लामा आयोजना हुने मेला, महोत्सव, पर्व, उत्सव, दिवसमा बाजागाजा बजाउने जिम्मेवारी पनि उनकै हो । घरको कामकाज बाँडफाँड गरेर उनी बाजा बजाउन निस्किन्छिन्, त्यो पनि पञ्चेबाजाको साथमा ।
सृजनशिल महिला पञ्चेबाजा समूहकी सदस्य पुतलाको काँधमा दमाहा हुन्छ । उनले बिना कुनै थकावट निरन्तर दमाहा बजाइरहेकी छिन् । बिहे, पूजाआजादेखि दिवस, मेला, महोत्सवमा बजाइने पञ्चेबाजा पुतलाजस्तै गृहिणिहरूले धानेका छन् । २०७१ सालको फागुन महिनादेखि निरन्तर रुपमा महिलाका काँधमा दमाहा र ट्याम्की, मुखमा सनही र नरसिङा, हातमा छिल्लरलगायतका बाजा छन् ।
जब कुनै कार्यक्रम, अवसर, दिवस, मेला, पर्व, चुनावजस्ता कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल, गैरसकारी तथा सामाजिक संघसंस्थाहरूले पञ्चेबाजाका लागि यीनै महिलाहरूलाई गुहार्ने गर्छन् । स्थानीय तहदेखि पछिल्लो पटक भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि सबै राजनीतिक दलले आफ्ना सबै कार्यक्रममा महिलाबाटै पञ्चेबाजा बजाएका थिए ।
“केही वर्षयता जिल्ला सदरमुकाममा आयोजना हुने कुनै पनि कार्यक्रम, मेला, पर्व र दिवसहरूमा पुरुषले पञ्चेबाजा बजाएको देखेको छैन,” खलंगा निवासी निखिल खड्काले भने, “पहिले पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे, अब पुरुषले बजाउन हुँदैन कि जस्तो भैसक्यो । पुरुषले कहिल्यै बजाएको देखिँदैन ।” त्यस्ता अवसरमा बाजा बजाउनु परे सबैले महिलाहरूलाई नै सम्झन्छन् । हरेक कार्यक्रमको ¥याली तथा जुलुसमा सबैभन्दा अगाडि तिनै महिलाहरू हुन्छन्, जसले पञ्चेबाजा बजाउँछन् । एकै किसिमका पोशाकमा महिलाहरूले पञ्चेबाजा बजाउँदा हेर्नेहरूको भीड पनि उत्तिकै हुन्छ ।
“महिलाहरूले पञ्चेबाजा बजाउनु नौलो नै हो, त्यो आकर्षक पनि देखिन्छ, त्यसैले महिलाले बाजा बजाएको हेर्न धेरै झुम्मिने गर्छन्,” खलंगा बजारकै पुष्पा केसीले भनिन् । महिलाले पञ्चेबाजा बजाउन थालेपछि पञ्चेबाजासहित पुरुष बजारमा नदेखिएको उनको भनाइ छ ।
केही समयअघि कुनै पनि कार्यक्रमा कार्यक्रममा पनि पुरुषले नै पञ्चेबाजा बजाउने चलन थियो । महिलाहरूकै कार्यक्रममा पनि पुरुषले पञ्चेबाजा बजाउँथे । आफ्नो कार्यक्रममा बाजा पनि पुरुषले बजाइदिने र त्यसबापतको शुल्क पनि लिइदिने भएपछि महिलाहरू पञ्चेबाजा बजाउन अग्रसर भएका थिए । “कार्यक्रम महिला समूहका हुन्थे, बाजा बजाउन पुरुष डाक्नुपथ्र्यो र पारिश्रमिक पनि दिनुपथ्र्यो । त्यसको अन्त्यका लागि आफैं बाजा बजाउन सुरु गरेका हौं,” सृजनशिल महिला पञ्चेबाजा समूहकी अध्यक्ष हिरा परियारले भनिन् ।
महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर बजाउन सुरु गरेको उनले बताइन् । सुरुका केही दिनसम्म पुरुषहरूले बाजा बजाउन सिकाइदिएका थिए । “सुरुका केही दिन बाजा बजाउने ताल र दाप्कोबारे सिकाउनु भएको थियो । पुरुषको सहयोगले हामी यहाँसम्म आएका छौं,” अध्यक्ष परियारले भनिन् । सुरुमा बाजा बजाउन लाग्दा समाजमा अलि अलि कुरा काट्न सुरु गरिएपनि यहाँसम्म आइपुग्दा त्यसो नभएको अनुभव पञ्चेबाजा बजाउने महिलाहरूसँग छ ।
पञ्चेबाजा अब महिलाको आम्दानीको स्रोत बनेको छ । महिलाहरूले सृजनशिल महिला पञ्चेबाजा समूहलाई दर्ता गरेका छन् । उनीहरूको समूह समाज कल्याण परिषद्सम्म दर्ता भएको छ । एउटा कार्यक्रममा पञ्चेबाजा बजाएबापत १२ हजारसम्म लिने गरेका छन् । अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन् । ६ हजारदेखि १२ हजारसम्म शुल्क लिने गरेको उनले जानकारी दिइन् । उनीहरूको समूह पछिल्लो पटक जिल्लाका अन्य ठाउँमा पनि पञ्चेबाजा बजाउनका लागि जान थालेको छ ।
५ दिनसम्म चलेको दोस्रो स्यार्पू पर्यटन महोत्सवमा पनि उनीहरू पञ्चेबाजासहित डाकिएका थिए । अवसर पाएपछि महिलाहरू पनि कम छैनन् भन्ने पुष्टि सृजनशिल महिला पञ्चेबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । महिलाले बाजा बजाउनै हुँदैन भन्ने मान्यता तोडेर पुरुषभन्दा उत्कृष्ट बाजा बजाएकै कारण उनीहरू सबैको रोजाइमा परेको उनको भनाइ छ । सुरुमा साविकको जिल्ला विकास समितिले उनीहरूलाई पोशाक बनाउनमा आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्