सुगम भए पनि बस्ती बसेको दुई दशकपछि बिजुली «

सुगम भए पनि बस्ती बसेको दुई दशकपछि बिजुली

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला मछेट्टीकी उमादेवी भण्डारीले बसोबास गरेको १२ वर्ष भयो । ऐलानी जग्गा फाँडेर द्वन्द्वकालमा बसोबास गरेकी भण्डारीसँगै अन्य परिवारलाई सुविधा के हो भन्ने थाहा नै थिएन । सुगम जिल्ला मानिने कञ्चनपुरको उत्तरी क्षेत्र महाकाली नदी किनार खल्लाकी भण्डारीको जीवनस्तर १२ वर्षपछि फेरिएको छ । विकासबाट निकै टाढा तथा सदरमुकाम महेन्द्रनगर क्षेत्रबाट अतिदुर्गम रहेको खल्ला मछेट्टी क्षेत्र सडक सञ्जालसँगै विद्युत् पनि जोडिएको छ । विगतमा विद्युत्बाट टाढा रहेको जनजीवन विद्युत्को पहुँचमा आएपछि लवाइखवाइमा पनि परिवर्तन आएको भण्डारी बताउँछिन् ।
“विद्युत्सँग जोडिन नपाउँदा सामान्य मोबाइल चार्ज गर्नलाई पनि एक घण्टाको दूरी जानुपर्ने अवस्था थियो, यस्तै कुटानीपिसानी गर्न पनि एक घण्टाको सहारा लिनुपर्ने बाध्यता थियो ।” उमादेवी भण्डारीले भनिन्, “नदी किनारको बस्ती भए पनि सिँचाइ गर्न मोटर नलाग्ने अवस्था थियो, विद्युत््को पहुँच भएपछि सबै कुराको परिपूर्ति भएजस्तो लागेको छ ।”
विगतमा खल्ला मछेट्टीका स्थानीय विद्युत्को उपभोग गर्न एक घण्टाको दूरीमा अवस्थित ब्रह्मदेव बजार जाने गरेका थिए । नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखा महेन्द्रनगरले विद्युत्को लाइन जोडेपछि गाउँ झिलिमिली भएको छ । गाउँका अधिकांश घरमा बिजुली बत्ती बलेको भण्डारीले बताइन् । भीमदत्त नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच साझेदारी भएपछि विकट गाउँ खल्ला मछेट्टीमा विद्युत् विस्तार भएको हो । २०५५ सालदेखि बस्दै आएको बस्तीमा बिजुली बलेको देख्दा आफूलाई धेरै खुसी लागेको भण्डारी बताउँछिन् ।
“हाम्रो गाउँको पारि अर्थात् नदी पारि भारत पर्छ, विगतमा पारि उज्यालो वारि अँध्यारो हुने गरेको थियोे ।” भण्डारीले भनिन्, “अहिले भने विगत–विगत जस्तो रहेन, पारि बिजुली हेरेर चित्त बुझाउने पुराना दिन गए, हाम्रो घरमा पनि बिजुली बलेको छ, त्योसँगै वारि पनि झिलिमिली भएको छ ।” सदरमुकामबाट टाढा रहेको चुरेफेदीको बस्ती ३ वटा गाउँ मिलेर बनेको छ । खल्ला मछेट्टी र टुँडिखेल गरेर चार सय बढी घरधुरी ओगटेको सो क्षेत्र विगतमा विकासको दृष्टिले ओझेलमा परेको थियो । सिँचाइमा आकाशे पानीको भरपर्ने यहाँका स्थानीयलाई विद्युत् आउँदा मोटरबाट सिँचाइ गर्न पनि विद्युत्ले सहज भएको स्थानीय भण्डारीको भनाइ छ ।
यसैगरी लिला पुन मगरले पनि गाउँमा बिजुली बल्दा आफूलाई खुसीको सीमा नभएको बताउँछिन् । पुन मगरले बिजुलीका कारण पढाइबाट वञ्चित भएका बालबालिकाले पनि पढ्न पाएको बताइन् । “विगतका दिन अँध्यारोमै बिताएको हुँदा झट्ट उज्यालो आउँदा खुसीको सीमा नै रहेन, दुईटा छोरी छन् उनीहरू बिजुली बत्ती बल्दा खुसीले उफ्रिन थाले ।” बिजुली आउनुभन्दा अघि गाउँमा अधिकांश परिवारले सोलार लगाएको थियो । त्योभन्दा पुराना दिनमा आगो बालेर टुकी बालेर साँझ काट्ने गरेको पुन मगरले बताइन् ।
“पुराना दिनमा अझै स्मरणीय छन्, कुनै दिन त आगो बाल्न पनि दाउरा हुँदैन्थ्यो, छोराछोरीलाई पढाउनका लागि टुकी बालेर जेनतेन पढाइन्थ्यो ।” उनले भनिन्, “सोलार आएपछि पनि पैसा हुनेले सोलार लगायो नहुनेले आगो नै बाल्नु प¥यो अब भने पैसा नुहनेका पनि दिन आए ।”
यसैगरी मछेट्टीका स्थानीय खेमसिंह साउदले बिजुली बत्ती आएपछि दुर्गम विकटका स्थानीयले विकासको महसुस गर्न पाएको बताउँछन् । विगतका दिनमा विकट क्षेत्र भनेर हेपिँदै आएको क्षेत्र पछिल्लो पटक भने विकाससँग जोडिँदै गएको साउदको भनाइ छ । विगतमा दुर्गम तथा विकट क्षेत्र भनेर हेपिएको क्षेत्र अहिले विकासका थुप्रै पूर्वाधारसँग जोडिएको छ । बिजुली, सिँचाइ, सडकजस्ता कुरामा गाउँको पहुँच पुगेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मछेट्टी । तस्बिर : कारोबार

प्रतिक्रिया दिनुहोस्