अस्थिर राजनीतिले अर्थतन्त्रमा पारेको प्रभाव «

अस्थिर राजनीतिले अर्थतन्त्रमा पारेको प्रभाव

पछिल्लो पटकको प्रतिनिधिसभा विघटन दलहरूको हानथापले गर्दा हो, जसले थप राजनीतिक अराजकता सिर्जना गरेको छ ।

अंग्रेजीमा एउटा भनाइ छ, स्टेट इज द नेसेसरी एभिल, अर्थात् राज्य भनेको नागरिकको आवश्यक शत्रु हो । सबैको माउ नीति राजनीति नै हो, जसले सबैलाई डो-याउँछ । पछिल्लो समयमा हाम्रो देशमा फेरि राजनीतिक संकट आएको छ । दुईतिहाइको बहमतमा पनि दलहरूको सत्तालिप्साले कानुन बनाउने थलो प्रतिनिधिसभाको अकाल मृत्यु भएको छ । सत्ताधारी दलहरू एकछिन पनि सत्ताबाहिर बस्नै सक्तैनन् र त कुर्सीबाट झरेको ६ घण्टा नबित्तै हामी यहाँ छौँ भन्दै सडकतिर देखा पर्छन् । आपसी झगडा हुँदा छिमेकीले कान ठाडो त पार्ने नै भयो । त्यसैले त उत्तर छिमेकी नेकपालाई सुपरग्लु लगाउन हतारिन्छ, टिमै बोकेर यता आउँछ । अर्को दक्षिणतिरको छिमेकी देशकोे यस्तो खबरलाई आफुले नोटिसमा राख्छ ।
अहिले देशमा पाँच जनाको हालीमुहाली छ । छेपारोले सिलिङमा टाँस्सिएर घरको छत पूरैै मैले बोकेको छु भनेझैं एक जनाले देश बोकेका छन् । प्रतिनिधिसभा विघटन हुँदा पनि बहुमतकै शैलीमा मन्त्रिपरिषद् विस्तार हुन्छ । अदालतमा मुद्दाको पोको तेर्सिन्छ । चार–चार जना पूर्व प्रधान न्यायाधीशहरूको वक्तव्यको ओइरो लाग्छ । अदालतले प्रतिधिसभाको पुनर्जीवन दियो भने पनि यिनै पाँच प्रमुखहरूको हालीमुहाली यथावत् हुने हो । प्रतिनिधिसभा भंग भएको सदर भएमा अहिलेकै प्रावधानमा वैशाखमा चुनाव भइहाल्यो भने पनि यिनै पाँच जनाको हालीमुहाली यथावत् हुने हो । ओली, प्रचण्ड, नेपाल, झलनाथ, शेरबहादर भनौँ आगामी संसद् त्रिशंकु नै बन्ने हो ।
अन्य दलहरू आउलान् तर कम, राजनीतिमा स्थायी शत्रु हुन्नन् भन्ने मान्यता र सुपर ग्लुले काम गर्दा मिलीजुली सरकार बन्ने हो । एक्लैको बहुमत आउँदैन, आउँदाको हालत देखियो नै । यसै आवको पाँच महिनामा १२ प्रतिशत पनि पँुजीगत खर्च बढ्न नसकेको बेला १०–२० अर्ब खर्च गरेर चुनाव त होला, जनता एक दिनका लागि शासक पनि बन्लान्, बाँकी हात लाग्यो शून्य नै हुने हो, दिन फेरि हुने आजकै जस्तै हो । यी सबै पहिले पनि पटक–पटक बालुवाटार गएकै हुन्, रडाको उस्तै हुने हो !
शासकहरूमा हिटलरी शैली देखिएकै हो, यद्यपि विश्व लहरसँगै आएको शैली मतपेटिकालाई सबैजसोले साक्षी राख्ने गरेका छन् ।
हिटलरले पनि मतपेटिकाको नाटक गरेका हुन् र उनी शाकाहारी पनि थिए । पछिल्लो पटक बालुवाटारको पूmमन्तरले ढलेको प्रतिनिधिसभामा दुईतिहाइको मतपेटिकाको बल थियो । स्वतन्त्र भनिएका संवैधानिक आयोगहरूमा फुमन्तरको शैलीले अध्यादेशबाट पदपूर्ति हुने, मोटो थैलीले व्यापारी मन्त्री हुने, घरमा काम गर्नेहरू सांसद हुने, छोरी, बुहारी, जोडीले मूल ढोकाको साँचो पाउने, प्रख्यातभन्दा कुख्यातले टिकट पाउने, दलले लौरोे उठाए पनि जित्ने, समानुपातिकमा उम्मेदवारको मुखै नदेखी मतपेटिका ढोगेर जनता घर फर्कनुपर्ने, दिउँसै बत्ती बाल्नु परी नागरिक आजित हुने प्रणालीको जग बसेको छ । संंसारलाई देखाउन लोकतन्त्र भन्ने, काम गर्दा एकतन्त्री हुने हाम्रो संस्कृति नौलो भने होइन ।
लोकतन्त्रको गर्भबाट पटक–पटक तानाशाहहरू जन्मिनु पनि अस्वाभाविक होइन । ७० वर्षमा ७ वटा संविधान, अचम्मको अवस्था छ । २ सय वर्षअघि बनेको संविधान आवश्यकतानुसार संशोधन भई अमेरिकामा एउटै संविधानले अहिलेसम्म काम गरेको छ, लोकतन्त्रको जननी देश बेलायतमा संविधान लिखित छैन । टाढा नजाऊँ, भारतको संविधान बनेको तीन दशक हुन लाग्यो, संशोधन भएको छ, पूरै बदलिएको छैन ।
अघि सर्जक ब्रह्माका मानसपुत्र कश्यप र उनकी पत्नी दितीको गर्भबाट कुख्यात दुई पुत्र जन्मिए— हिरण्याक्ष र हिरण्यकशिपु । दुवैले पृथ्वीलाई तहसनहस पार्दा उनै सर्जकले अनौठो अवतार बाराह र नृसिंह अवतार लिएर दुवैको अन्त्य गरी पृथ्वीलाई त्राण दिएको कथा–व्यथा सुनिएको हो । दुई विश्वयुद्धको चपेटापछि संसारलाई त्राण दिन यूएनओको स्थापना भए पनि नेपालजस्तो देशमा ०४६ पछिको ३० वर्षमा खास गरी १० वर्षे जनयुद्धमा १८ हजार नेपालीको एक चिहान भएकै हो । जसरी सन् २०२० मा चीनबाट उठेको कोरोनाको मुस्लोले सन् २०२१ नपुग्दै एक वर्षमा १८ लाख मान्छेलाई निल्दा त्यसको छाता संस्थाहरू हेरेको हे¥यै भए, कसैले मल्हमपटी लाउन सकेन । संसारलाई टक्कर दिने अर्थतन्त्र बोकेको अमेरिकालाई घुँडा टेकायो, बेलायतबाट यसको अझ अर्को रुरू देखिँदैछ भन्ने खबर छ अहिले ।
चीनले यसलाई सजिलै नियन्त्रणमा लियो । अर्थ–राजनीतिमा चीनको शैली फरक छ । उसले आफुलाई अहिले पनि समाजवाद भन्छ, माओले लिएको सिद्धान्तलाई परिमार्जन गर्दै देङ सिआओ पिङ हुँदै आजको दिनसम्म आइपुग्दा चीनले धेरै प्रगति ग-यो । यतिमात्रै नभएर अमेरिका र चीनको व्यापारिक शीतयुद्ध हुँदै अवको सात वर्षपछि सन् २०२८ मा ऊ संसारको पहिलो अब्बल दर्जाको अर्थतन्त्र बोकेको देश हुँदैछ । आन्तरिक रूपमा चीनको कडा नीति छ भने बाह्य रूपमा उसको खुला नीति छ । अमेरिकाजस्तो खुला बजारबाट दीक्षित भई अमेरिका अध्ययन गरेर फर्केकाहरूले त्यहाँ प्रश्रय पाएका छन् । चीनको अर्थिक विकास लोभलाग्दोे त छँदैछ, विश्वलाई आफ्नो बजार बनाउन भ्याएको छ भने नजिकै रहेको अर्को शक्ति भारत सन् २०३० भित्रै तेस्रो अर्थतन्त्रको शक्ति राष्ट्र हुँदैछ । यी दुवैका बीचमा विदेशी भिक्षा माग्दै सुखी र समृद्धिको नारा अलापेकोे धेरै भयो हामीले । अर्थतन्त्र जर्जर छ हाम्रो !
देशको इतिहास हेरौँ, क्रूर भनिएका राणाहरूले एकतन्त्री शासन गरे । देशको एकीकरण गर्ने नायक पृथ्वीनारायण शाहका वंशलाई खोपामा राखे । यस्तो परम्परा सुरु गर्ने जंगबहादुरले राजाभन्दा शक्तिशाली बनेर कोत पर्वमा गगन सिंहसहित ३२ जना, अन्य सबै गरी ४० र भण्डारखाल पर्वमा थप १३ जना गरी ५३ जनालाई मारे । पृथ्वीनारायण र उनका अनुयायीले देशको नक्सा धेरै बढाए । भीमसेन थापाका पालामा सिमाना संकुचन भयो । रणबहादुरका पालासम्म आउँदा सत्ता संघर्षमा ९२ जनालाई मारेको इतिहास छ भने रणबहादुरको हत्यापछि उनकी रानी ललितत्रिपुराको पालामा भीमसेन थापाको ३० वर्षको स्थिर शासनकाल बितेको देखिन्छ ।
रानीको मृत्युपछि भीमसेन थापा जेल परे, जेलमै आत्महत्या गरे, उनको शवको सद्गत् भएन, विष्णुमती किनारामा स्याल, कुकरहरूले खाइदिए, पत्तै साफ भयो । भीमसेन थापाको अन्त्यपछि उनका भाइ–भतिजा माथवर सिंह, फत्येजंगहरूको मृत्युपछि जंगबहादुरको उदय भयो, जसका अनुयायीले १ सय ३ वर्षसम्म राजालाई खोपाका देउता बनाए, एकछत्र शासन गरे, सिंहदरबारका इँटाहरूमा समेत आफ्नो नाम लेखाए । जंगबहादुरले भारतको सिपाही म्युटिनीमा कम्पनी सरकारलाई सघाएबापत केही भूमि बक्सिस पाए, जुन बाँके, बर्दिया नयाँ मुलुकको नामले चिनिएको छ अहिले पनि । देश ०७ सालको परिवर्तन हुँदै १७ सालमा आइपुग्यो ।
उदारवादी राजा वीरेन्द्रले जनमत–संग्रहको घोषणा गरे भने ०४६ को परिवर्तनपछि देशमा प्रजातन्त्रको पुनर्बहाली भएको हो । नेता मदन भण्डारीको मृत्युको कारण पत्तो लागेन, उदारवादी राजा वीरेन्द्र र उनको वंश नाशको घटना पनि त्यसै सेलायो । बाँकी भाइ ज्ञानेन्द्रबाट दलहरूले दिल्लीकोे १२ बुँदे सम्झौताअनुसार सत्ता खोेसे । विगतको इतिहासलाई कोट्याउँदा सबैभन्दा बढी हजारौँ हजारको ज्यान गएको अवस्था हाल सञ्चालित दलहरूको शासनकाल विगतको ३१ वर्ष नै हो । दलहरूले मतपेटिकालाई साक्षी राख्दै, भए नभएको सपनाहरू जनतालाई बोकाउँदै झूटको खेती गरे, अहिले देश खोक्रो बनेको छ । पछिल्लो पटकको प्रतिनिधिसभा विघटन दलहरूको हानथापले गर्दा हो, जसले थप राजनीतिक अराजकता सिर्जना गरेको छ । र, नागरिक अगुवालगायत देशका सबैजसो दलहरू सडकभरि पोखिएका छन् । सत्ता उन्मादले आपूmमा भएको शक्ति आफैंले गुम गराएका छन् । दलहरूकै पालामा २१ ठूला उद्योगहरू बेचिए, धर्म, संस्कार, संस्कृति हरायो । एकता हरायो, मौलिक सभ्यता पनि !
संघीयता र गणतन्त्रको भारी बोक्दै करको मारमा पिल्सिँदै जनता कोरोनाबाट किचिएका छन् । भएभरको राज्य संयन्त्र कमजोर छ । देश जिम्मा लिने दलहरू अझै राष्ट्रिय एकता दिवसलाई खुलेर मान्न अझै हिचकिचाएको अवस्था छ । इतिहासलाई सत्तोश्राप गर्दै प्रस्तावनादेखि नै पूर्वाग्रहमा परेको पछिल्लो संविधानको धारा नै नटेकी अहिले काम भइरहेको छ, देश अहिले थप संकटमा छ ।

प्रतिक्रिया दिनुहोस्