जुम्लाका ४७ हजार जनाको स्वास्थ्य बिमा «

जुम्लाका ४७ हजार जनाको स्वास्थ्य बिमा

जुम्ला-स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरु आएपनि स्वास्थ्य बिमितको संख्यामा उल्लख्य रुपमा वृदि हुँदै गएको छ । जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिब तीन वर्षमा यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् ।
जुम्लामा करिब २० हजार घरधुरी छन् । २०६८ को जनगणना अनुसार २० हजार घरधुरीको १ लाख २० हजार कुल जनसंख्यामध्ये ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए ।
उनले भने, “ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रम अन्तर्गत १ हजार ९ सय ७८ जना बिमित छन् । महिला स्वयंसेविका १ सय ८० जना, पूर्ण अपांगता भएका २६ र एचआईभी संक्रमित १ जनाले निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।”
सामाजिक सुरक्षा भत्ता वितरणका लागि कर्णालीका ६० वर्षमाथि उमेर भएका व्यक्तिलाई जेष्ठ नागरिकको मान्यता दिइएको छ । तर स्वास्थ्य बिमा ऐन २०७४ ले भने,७० वर्षमाथिका व्यक्तिलाई मात्रै ज्येष्ठ नागरिकको मान्यता दिएको छ ।
जसका कारण ६० वर्ष नाघिसकेका सयौ जेष्ठ नागरिकहरु बिमाको पहुँचमा पुगेका छैनन् । यसमा सामाजिक सुरक्षा र स्वास्थ्य बिमा बोर्डको ऐन आसपमा बाझिँदा जेष्ठ नागरिक बिमा सेवाबाट बन्चित भएको जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले बताए ।
उनले भने, “कर्णालीमा स्वास्थ्य बिमाका लागि पनि ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्छ । बिमा ऐनलाई जेष्ठ नागरिकमुखी बनाउन आवश्यक छ । अन्यथा आश्रित जेष्ठ नागरिक मर्कामा पर्ने छन् ।”
स्वास्थ्य बिमितहरुले सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मात्रै सेवा पाउने गरेका छन् । तर ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने अस्पताल घरदेखि टाढा दूरीमा रहेकाले आउजाउमा समस्या देखिएको स्थानीयको गुनासो छ । स्वास्थ्य बिमा गराएकाले अस्पतालबाट निःशुल्क पाउनुपर्ने औषधीमा ढिलासुस्ती हुने भनेकै बेला नपाइने गुनासो पनि गरेका छन् ।
बिमाकर्ताले वार्षिक ३ हजार ५ सय तिरेर १ लाख रुपैयाँसम्मको औषधी उपचार निःशुल्क पाउनुपर्ने प्रावधान छ । तर, अस्पतालको फार्मेसीमा पर्याप्त औषधी नहुँदा निजीमा औषधी किन्नुपर्ने स्वास्थ्य बिमितहरुको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्