भरतपुरमा अलमलमा गौरवका आयोजना «

भरतपुरमा अलमलमा गौरवका आयोजना

भरतपुर महानगरले तीन वर्षे कार्याकालको समीक्षा गरेको छ । महानगरले ३ वर्ष पहिले जनप्रतिनिधि आएपछि भएका मुख्य कार्यको विवरण सार्वजनिक गरेको छ । महानगरले ७ वटा नगरसभा गरिसकेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरले ३ वर्षमा ४ सय ७० किमि सडक कालोपत्रे गरेको बताए । उनका अनुसार १ सय ८५ किमि नयाँ सडक कालोपत्रे, १ सय ७५ किमि मर्मत, प्रदेश र संघीय बजेटबाट ९० किमि नयाँ कालोपत्रे र २१ किमि मर्मत भएका छन् । महानगरले करिब ४ सय किमि सडकमा ग्राभेल राखेको छ भने १ किमि सडक ढलान गरेको छ ।
मेयर रेनु दाहालले विकासको मुख्य मेरुदण्ड सडकलाई लिएकाले सडक स्तरोन्नती तथा सडक सञ्जाल विकास तीव्र गतिमा गएको बताइन् । उनले महानगरभित्र ९५ किमि रिङरोड र लिंकरोडको काम सुरुवात भइसकेको बताइन् । उनका अनुसार यो आर्थिक वर्षबाट १० किमि रिङरोड र ६५ किमि लिङरोड बनाउन १ अर्ब ५६ करोड बजेट छुट्टाइएको छ । रिंगरोड र लिंकरोडको अन्य ठाउँको ईआइए र डीपीआर बनाउने काम भइरहेको छ । मेयर दाहालले ठूला पूर्वाधारमा विशेष जोड दिइएको बताइन् । अत्याधुनिक सुविधासम्पन्न सिटी हल निर्माण गर्न २ अर्ब १८ करोडको लागतमा टेण्डर प्रक्रियामा छ ।
देवघाटमा सहरी विकास तथा भवन डिभिजन कार्यालयसँगको समन्वयमा देवघाटमा ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाह गृह निर्माणको काम अगाडी बढेको छ । महानगरले ३६ वटा गौरवका आयोजना निर्धारण गरेको छ । तर, गौरवका आयोजना निर्माणले गति लिन सकेको देखिँदैन । भरतपुर विमानस्थलाई प्रादेशिक बनाउने योजना, विमानस्थल विस्तार गर्न नेपाली सेनाको व्यारेक र घोडा फर्म अन्यत्र सार्ने चर्चाले अझै मूर्तरुप पाएको छैन ।
आँपटारीमा बनाउने भनिएको ल्याण्डफिल साइटको योजनाको गति पनि उस्तै छ । फोहरबाट उर्जा उत्पादन गर्ने गरी कोरियाली सरकारसँग सहकार्यमा सुडोकोनसँग डीपीआर सम्बन्धि सम्झौता भएपनि काम बढेको छैन । सुविधासम्पन्न अटोल्याण निर्माण गर्ने भनिएको वडा नम्बर ३ को नारायणी नदी किनारको जग्गा छनौट नै अन्यौलमा छ । लायन्स चोकमा भरतपुर मेट्रो प्लाजा निर्माणको चर्चा भएअनुसारको काम भएको छैन । प्लाजा निर्माण सार्वजनिक निजी साझेदारी मोडेलमा गर्ने भनिएको छ ।

विकास खर्च न्यून
भरतपुर महानगरपालिकामा विकास लक्षित बजेटको खर्च न्यून भएको छ । पुस अन्तिमसम्म आइपुग्दा विनियोजित पुँजीगत बजेटको २१.१५ प्रतिशत मात्रै खर्च भएको महानगरपालिकाले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा विकास निर्माणका काममा महानगरले २ अर्ब २७ करोड ९८ लाख ८० हजार रुपैयाँ बजेट छुट्याएकोमा पुस २३ गतेसम्म ४८ करोड २२ लाख ५१ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । महानगरपालिकामा विकास निर्माण खर्च भन्दा चालु खर्च बढी भएको छ । पुँजीगत खर्च २१.१५ हुँदा चालु खर्च २७.६८ प्रतिशत पुगेको छ । चालु तर्फको १ अर्ब ८७ करोड ६६ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ५१ करोड ९५ लाख ७८ हजार रुपैयाँ खर्च भइसकेको छ । महानगरले आर्थिक बर्ष २०७७÷०७८का लागि ४ अर्ब १५ करोड ६४ लाख बजेट विनियोजन गरेको थियो ।

राजस्व संकलनमा कमी
भरतपुर महानगरपालिकाको राजस्व संकलनमा कमी आएको छ । गत आर्थिक वर्षको तुलनमा ४.४१ प्रतिशत राजस्व संकलनमा कमी आएको हो । महानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको तुलनामा ९८ लाख ३३ हजार ४ सय ३६ रुपैयाँले कमी आएको हो । आन्तरिक आम्दानी ९० करोड अनुमानित गरिएकोमा २२ करोड २७ लाखमात्र संकलन भएको छ ।

विदेश भ्रमणको मोह
भरतपुर महानगरबाट ३ वर्षमा २९ जना जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमणमा गएका छन् । मेयर रेनु दाहाल चीन दुई पटक, थाइल्याण्ड, इन्डोनेसिया, बेल्जियम गएकी छिन् । उपमेयर पार्वती शाह ठकुरी चीन, दक्षिण कोरिया, बेल्जियम एक एक पटक गएकी छिन् । भ्रमण गर्नेमा चीन जानेमा ३ जना, दक्षिण कोरिया जानेमा ७ जना, फिलिफिन्स जानेमा २ जना वडाध्यक्ष छन् । यस्तै १५ जना कर्मचारीले भ्रमण गरेका छन् । भ्रमण खर्च र उपलब्धिबारे महानगरले तीन वर्षे समीक्षामा समेटेको छैन ।

प्रतिक्रिया दिनुहोस्