कृषिजन्य उत्पादन निर्यातमा समस्या «

कृषिजन्य उत्पादन निर्यातमा समस्या

लमजुङ-लमजुङबाट वार्षिक ७ सय क्वीन्टलभन्दा बढी अलैंची निर्यात हुने गरेको छ । जिल्लाबाट निर्यात भएको अलैंची अन्तर्राष्ट्रिय बजारसम्म पुगे पनि स्थानीय कृषकले फाइदा लिन सकेका छैनन् ।
सरकारको वाणिज्य नीति प्रभावकारी कार्यान्वयन नहुँदा उत्पादन तथा निर्यात भएको वस्तुबाट अपेक्षित फाइदा लिन नसकेको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । “अलैंची पर्याप्त मात्रामा उत्पादन भए पनि निर्यातमा समस्या हुँदा किसानले अपेक्षित फाइदा लिन सकेका छैनन्,” उनले भने ।
अलैंचीसँगै जिल्लाबाट चिया, अदुवा, अल्लोलगायत विभिन्न बहुमुल्य जडिबुटी पनि निर्यात हुने गरेको छ । निर्यात व्यवस्थापन कमजोर हुँदा गैरकानुनी गतिविधि पनि भएको हुनसक्ने सरोकारवालाहरूको शंका छ । जिल्लाबाट निर्यात हुनसक्ने सम्भावित वस्तुको अध्ययन गरी व्यवस्थित निर्यातका लागि विकल्प खोजिरहेको व्यवसायीहरूको संस्था लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । “निर्यात व्यवस्थित छैन,” अध्यक्ष थापाले भने, “जिल्लामा उत्पादित कच्चा पदार्थलाई प्रशोधनको विकल्प खोजिरहेका छौं ।”
पहाडी र ग्रामिण भेगबाट अन्तराष्ट्रिय बजारमा बिक्री हुन सक्ने उल्लेख्य उत्पादन भए पनि प्रशोधित सामग्री निर्यात हुन चाहिँ सकेको छैन । कच्चापदार्थमै बिचौलियाको चलखेलका कारण बजार व्यवस्थित हुन सकेको छैन । जिल्लामा उत्पादित वस्तुलाई प्रशोधन गरी आफ्नै ब्राण्डमा बिक्री गर्न सके अन्तर्राष्ट्रिय बजार सजिलै लिन सकिने व्यवसायीहरूको धारणा छ ।
जिल्लामा अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री हुन सक्ने कृषिजन्य तथा जडिबुटीजन्य वस्तु प्रशस्तै छन् । कच्चापदार्थका रुपमा रहेका बहुउपयोगी पदार्थलाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नु अपरिहार्य छ । राज्यको नीति प्रभावकारी कार्यान्वयन र स्रोतसाधनको समूचित प्रयोग गर्न सके व्यक्ति मात्रै नभई मुलुकको अपेक्षित समृद्धि हुने सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्