६ महिनालाई ३ अर्ब बढीको बजेट «

६ महिनालाई ३ अर्ब बढीको बजेट

भरतपुर महानगरपालिकाले ६ महिनालाई लक्षित गरी बजेट सार्वजनिक गरेको छ । पहिलो नगरसभाले चालू आवका लागि अनुमानित बजेट सार्वजनिक गरेको हो ।
भरतपुर महानगरपालिकाले चालू आवका लागि ३ अर्ब ५० लाख बराबरको बजेट प्रस्ताव गरेको छ । आव ०७४÷७५ का लागि आन्तरिक आयतर्फ ६४ करोड २७ लाख ९० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ७ करोड रुपैयाँ, जनसहभागिताबाट १७ करोड ६ लाख ७८ हजार रुपैयाँ र नेपाल सरकारबाट ससर्त अनुदान ५३ करोड २९ लाख तथा निःसर्त अनुदान ७९ करोड ७८ लाख, सामाजिक सुरक्षा भत्ता, ४५ करोड रुपैयाँ र अन्य आय २ करोड २५ लाख रुपैयाँ गरी कुल ३ अर्ब ५० लाख रुपैयाँ आय अनुमान गरिएको छ ।
खर्चतर्फ चालू खर्चमा १ अर्ब ४३ करोड ९१ लाख १८ हजार र पुँजीगत तथा विकास खर्चतर्फ १ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ, वित्तीय व्यवस्थापनमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ । ५१.७७ प्रतिशत विकास बजेट रहेको छ । विनियोजित बजेटको क्षेत्रगत रूपमा पूर्वाधार विकासतर्फ १ अर्ब ३४ करोड ४ लाख, वातावरण र विपद्तर्फ १३ करोड ८७ लाख, सामाजिक विकासतर्फ ६० करोड २७ लाख, कृषि, पर्यटनतर्फ ५ करोड ८१ लाख रुपैयाँ, वित्तीय व्यवस्थापन तथा सुशासनतर्फ ४१ करोड ४९ लाख र सामाजिक सुरक्षा भत्तामा ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
शुक्रबार भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले भनिन्, “आधा समय व्यतीत भइसकेको छ, यो वर्ष सम्भव हुने योजनामात्रै पेस गरेका छौं ।” उनले जग्गा बाँझो छाड्ने कामलाई निरुत्साहित गर्न सो जग्गामा हुने उत्पादनलाई आधार मानी क्षतिपूर्ति लिइने बताइन् । एक वडा एक उत्पादन, खरका घरमुक्त महानगर, महानगर छात्रवृत्ति कार्यक्रम, एक वडा एक उद्यान एक वडा एक पोखरी, एक वडा एक विपद सुरक्षितस्थल, एक मार्ग एक रंग, काजविहीन कार्यालय, घरभित्रको फोहर घरभित्रै जस्ता अभियान चलाइने उल्लेख छ । वडा नम्बर ३ मा अटोल्यान्ड विकास गर्ने, देवघाटमा विद्युतीय शवगृह निर्माण, सबै घरको नक्सापास यही वर्ष पूरा गर्ने जस्ता लक्ष्य लिइएको छ । आधुनिक ल्यान्डफिल साइट सञ्चालन गरी फोहरबाट ऊर्जा कार्यक्रम परियोजना सञ्चालन गरिने, तीन स्थानमा आकाशे पुल निर्माण गरिनेलगायतका योजना समावेश गरिएका छन् ।
नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । यस्तै दीर्घकालीन योजनासमेत अघि सारिएका छन् । करिब ९५ किमि रिङरोड, लिंक रोडको निर्माण, नारायणी नदीमा कम्तीमा ३ वटा पक्की पुलको निर्माण, केरुङ–ठोरी रेलमार्ग सञ्चालनका लागि संघीय सरकारसँग पहल गर्ने, देवघाट मौलाकालिका केवलकार निर्माण, देवघाटदेखि त्रिवेणीसम्म जलमार्ग सञ्चालन, पूर्व–पश्चिम रेलमार्ग सञ्चालन गरी महानगरलाई व्यापारिक हबको रूपमा विकास गरिने मेयर दाहालद्वारा सार्वजनिक योजनामा उल्लेख छ । महानगरको स्वामित्वमा रहेको लायन्स चोकको जग्गामा भूमिगत पार्किङसहितको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गरी महानगरको आयमा वृद्धि गरिने योजना ल्याइएको छ । स्थानीय तहको चुनावमा निकै चर्चामा रहेका केही एजेन्डा समावेश हुन सकेका छैनन् । भरतपुरलाई मेडिकल सिटी बनाइने, स्मार्ट सिटी निर्माण, पर्यटकीय गन्तव्य विस्तारलगायतका योजनासमेत समावेश हुन सकेका छैनन् ।

उद्योग संघ चितवनमा नयाँ कार्यसमिति
चितवन, २३ पुस(कास: चितवन उद्योग संघको नवौं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । भेषराज दुवाडीको अध्यक्षतामा २ वर्षे कार्याकालका लागि २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिलाई शुक्रबार नै पदस्थापन गरिएको छ ।
संघको उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यस्तै खुल्ला सदस्यहरूमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज वस्ती, पोखरेल मदन चिरञ्जीवी, राशी लामा, जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । यस्तै वस्तुगततर्फ ताराबहादुर कार्की, एसोसियट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन भए । यस्तै प्रिमियर एसोसिट्समा कसैको उम्मेदवारी नपरेपछि नवनिर्वाचित अध्यक्षले प्रकाशचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरेका छन् । यस्तै निर्वतमान अध्यक्ष भीमबहादुर पाण्डे र कार्यकारी निर्देशक हरिहर भट्टराई पदेन सदस्य छन् । यस्तै प्रिमियतर्फबाट १ जना सदस्य मनोनीत हुन बाँकी छ । ६ जना उपाध्यक्षमध्ये एक जनालाई वरिष्ठ उपाध्यक्ष एक वर्षभित्र चयन गर्ने व्यवस्था छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्