Logo

आम्दानी १६ लाख, खर्च ३४ लाख

रुकुम-देशकै नमूना तरकारी बीउ उत्पादन केन्द्रको रूपमा रहेको रुकुम पश्चिम चाँफास्थित समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्रले बीउ बिक्रीबाट खर्चभन्दा कम आम्दानी गर्ने गरेको छ । प्रत्येक वर्ष बीउ उत्पादनका लागि सरकारबाट खर्च हुने बजेटको आधा मात्र राजस्व उठ्ने गरेको हो ।
आर्थिक वर्ष २०७४-७५ मा तरकारी मूल बीउ उत्पादनका लागि आएको ३४ लाख ८ हजार रूपैयाँ खर्च भए पनि १६ लाख २९ हजार रूपैयाँ मात्र राजस्व संकलन भएको तरकारी बीउ उत्पादन केन्द्र चाँफाका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताए । सरकारबाट आएको बार्षिक बजेट मूल बीउ उत्पादनका लागि मल, बीउ र अन्य कामका लागि खर्च हुने गरेको छ भने आम्दानी उक्त उत्पादित मूल बीउ कृषकलाई बिक्री वितरण गरेर हुने गरेको छ ।
उनका अनुसार यस आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा करिब ४ लाख बजेट घटेर आएको छ । जसले गर्दा उत्पादन र राजस्वमा पनि केही घट्न सक्ने अनुमान गरिएको छ । कार्यालयले केही दिनअघि आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका खर्चको करिब आधा मात्र आम्दानी भइरहेको भन्दै सरोकारवालाले अब यस तरकारी बीउ उत्पादन केन्द्रलाई फरक तरीकाले सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्काले तरकारी बीउ उत्पादनका लागेको लागतको करिब आधा मात्र आम्दानी हुनु दुखद भएको भन्दै केन्द्रलाई सरकारी निकायभन्दा पनि नीजि क्षेत्रलाई ठेक्कामा दिनुपर्ने बताए । “अघिल्लो वर्ष तरकारी बीउ उत्पादनका लागि करिब ३४ लाख खर्च भएको रहेछ, आम्दानी भने करिब १६ लाख मात्र छ,” उनले भने, “बर्सेनि खर्च र आम्दानीको रेसियो यस्तै हो भन्ने कुरा पनि आयो, यसरी घाटामा त कति दिन चल्न सक्छ ।” कार्यालयले नीजि बीउ उत्पादन कम्पनीलाई वा समूहलाई ठेक्कामा दिँदा उत्पादन पनि राम्रो हुने र कार्यालयको बीउ उत्पादन प्रणाली पनि पुरानैभन्दा हाईटेक प्रविधि अपनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले तरकारी बीउ उत्पादन केन्द्रले सरकारी खर्च अनुसारको आम्दानी बनाउन अधिकतम पहल गर्नुपर्ने बताए । “वार्षिक बजेटभन्दा आधामात्र आम्दानी हुँदो रहेछ, यसलाई सुधार गर्नुपर्छ,” प्रजिअ रेग्मीले भने, “तर खर्च अनुसारको आम्दानी नभए पनि खासै चिन्ता भने नगरौं, किनकी यो बिउ उत्पादन केन्द्रबाट मूल बीउ लिएका कृषकको आम्दानी कस्तो छ, त्यसको पनि समीक्षा गरौं ।” मूल बीउ उत्पादन गर्दै आएको तरकारी बिउ उत्पादन केन्द्रले कमै आम्दानी गरे पनि जिल्लामै मूल बीउ उत्पादन हुँदा कृषकलाई फाइदा हुने उनको भनाइ थियो ।
कार्यालय प्रमुख चौबेले कृषकलाई सहुलियतमा बीउ वितरण गर्दा र बेलाबेला बीउ उत्पादनमा हुने कमीले पनि खर्चभन्दा आम्दानी थोरै हुने गरेको बताए । उनले असिनापानी र रोगकिराले बीउ नष्ट गर्दा आम्दानी कम देखिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्