१५ औं अन्तर्राष्ट्रिय सफल म्याराथन फागुन १ गते हुने «

१५ औं अन्तर्राष्ट्रिय सफल म्याराथन फागुन १ गते हुने

यस वर्षदेखि महिलाहरूका लागि २१ किलोमिटरको हाफ म्याराथन हुने

पोखरा-१५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आउदो फागुन १ गते हुने भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालले यस वर्षको उक्त प्रतियोगिताको मुख्य इभेन्ट म्याराथन ४२.१९५ किलोमिटर दौड प्रतियोगिता फागुन १ गते हुने भएको सोमबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
मञ्चले यस वर्षदेखि महिला धावकहरूलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितासमेत आयोजना गर्ने भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए । म्याराथनका विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणापत्र प्राप्त गर्ने भएका छन् । त्यसैगरी महिलातर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको छ ।
कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको मञ्चका पूर्वअध्यक्ष खड्गबहादुर रानाभाटले बताए । त्यसै १० किलोमिटर महिला तथा पुरुषतर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुषतर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको वार्षिकोत्सको अवसरमा ५ किलोमिटर विद्यालय स्तरीय छात्र÷छात्रा दौड प्रतियोगिता हुने भएको पूर्वअध्यक्ष रानाभाटले जनाए ।
यस वर्ष भने रन फर फनको कार्यक्रम कोभिड—१९ ले गर्दा नहुने भएको मञ्चले जनाएको छ । महिला र पुरुष दुवैतर्फका १० किलो मिटर दौडका विजेताले जनही १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १० हजार , उपविजेताले ७÷७ हजार पुरस्कार प्राप्त गर्ने भएका छन्। त्यसै गरी दृष्टिविहीनतर्फको पुरुष महिला विजेताले ७ हजार, उपविजेताले ५÷५ हजार, ह्विल चियरकातर्फ मलिहा तथा पुरुषतर्फका विजेताले जनही ७÷७ हजार, उपविजेताले भने ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विभिन्न प्रतियोगिताको परस्कार राशिमा मात्र ८ लाख २ हजार रुपैयाँ खर्च हुने भएको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दूधले यस वर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए । त्यसैगरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघीय सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताको लागि १०÷१० लाख रुपैयाँ विनियोजन भएको छ ।

कोरोनाको बाबजुत पनि भगिनी सम्बन्ध गासिएका छिमेकी मुलुकका केही शहरबाट केही धावकहरूलाई सहभागि गराउने आफूहरूको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । २०५८ सालमा स्थापना भएको मञ्चले उक्त प्रतियोगिताबाट बचत भएको केही रकम सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको मञ्चका महासचिव खेमबहादुर गुरुङले बताए । हरि पराजुलीको संयोजकत्वमा विभिन्न उपसमितिले आ–आफ्नो तयारीलाई अघि बढाएको मञ्चका सीईओ केशव पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्