कोरोना महामारी चरमोत्कर्षमा, राजधानी आसपास आपतकाल घोषणा «

कोरोना महामारी चरमोत्कर्षमा, राजधानी आसपास आपतकाल घोषणा

गोकर्ण अधिकारी
टोकियो
– प्रधानमन्त्री सुगा योशिहिदेले कोरोना भाइरसको विरुद्ध विशेष उपायहरूसम्बन्धी ऐनको आधारमा राजधानी टोकियो र आसापका क्षेत्रमा आपतकालीन अवस्था जारी गरेका छन् ।
जनवरी ७ तारिख साँझ प्रधानमन्त्री सुगाले राजधानी टोकियो, साइतामा, चिबा र खानागावा क्षेत्रहरूलाई समेटेर आपतकाल घोषणा गरेका हुन् ।

आपतकाल जनवरी ८ तारिखबाट लागू भइ फेब्रुअरी ७ तारिखसम्म जारी रहने घोषणामा उल्लेख छ । यसमा स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरिएको छ । रेस्टुरेन्ट र बारहरूलाई साँझ ७ बजेदेखि अल्कोहलको बिक्री वितरण बन्द गर्न र साँझ ८ बजे पसल नै बन्द गर्न अनुरोध गरिएको छ । जिम र डिपार्टमेन्ट स्टोर र मनोरञ्जन एकाइहरूले पनि सञ्चालन अवधि कम गर्नुपर्नेछ ।

टोकियोमा संक्रमितको संख्या २ हजार ४ सय ४७ को नयाँ उचाइमा उक्लिएकै दिन
यस्तो घोषण भएको हो । यो बुधबार कायम नयाँ उचाइभन्दा ८ सय बढी हो ।
शुक्रबार नै जापानमा कम्तीमा ७५ सय व्यक्ति कोरोना संक्रमित भएको
अधिकारीहरूले बताएका छन् । यो संख्या कोरोना महामारी यताकै सर्वाधिक भएको
यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
आपतकालले टोकियो, र आसपासका खानागावा, चिबा र साइतामा प्रिफेक्चरलाई समेटेको छ । यहाँ बासिन्दाहरूलाई विशेषगरी साँझ ८ बजेपछि अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान भनिनेछ । कम्पनीहरूलाई पनि कर्मचारीहरूलाई घरबाटै काम गर्न वा भिन्ना भिन्नै समयमा कार्यालयमा बोलाउन प्रेरित गरिनेछ । कार्यालयमा आएर काम गर्ने कर्मचारीको संख्या ७० प्रतिशत कम गर्ने सरकारी लक्ष्य छ ।
कार्यक्रमहरूमा दर्शकको संख्या कार्यक्रमस्थलको क्षमताको ५० प्रतिशत वा ५ हजारमा सीमित पारिनेछ । यी उपायहरू यस अघि अप्रिलमा घोषणा भएको आपतकालको भन्दा अलि खुकुलो हो । त्यति बेला देशभर विद्यालय र व्यवसायहरू अस्थायी रुपमा बन्द भएका थिए भने कार्यक्रमहरू पनि रद्द गरिएका थिए ।
अनुपालना नगर्नेहरूलाई सजायको पनि व्यवस्था छ । विश्वविद्यालयका प्रवेश परीक्षाहरू यही महिनाको अन्त्यतिर तय मितिमै हुनेछ । सरकारले पब, बार र रेस्टुरेन्टहरूलाई अनुरोध मानेर व्यवसाय सञ्चालन कम गरेबापत यसअघि दिँदै आएको दैनिक ४० हजार येन सहुलियत बढाएर अधिकतम् ६० हजार येनमा पुर्याउने भएको छ । अनुपालना गर्न नमान्ने व्यवसायको नाम र ठेगाना सार्वजनिक गरिने आधारभूत योजना छ ।

साँझ ८ बजेपछि बन्द गर्नुपर्ने व्यवस्थाबाट टेक आउट र डेलिभरीलाई छुट दिइनेछ । टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ५०० अर्थात् अहिलेको भन्दा २० प्रतिशतमा आयो भने आपतकाल हटाइने कोरोना भाइरस नियन्त्रणको जिम्मा पाएका मन्त्री यासुतोशी निशिमुराले बताएका छन् ।
अहिले देशव्यापी रुपमा संक्रमण बढिरहेको छ । बुधबार जापानमा दैनिक संक्रमितको संख्या पहिलो पटक ६ हजार नाघेको थियो । हालैका हप्तामा देशभर देखिएको संक्रमितमध्ये करीब आधा टोकियोका छन् ।

कोरोना महामारीले जापानमा ८० हजार व्यक्तिले रोजगार गुमाए

जापानमा कोरोना भाइरस महामारीको असरकै कारण ८० हजारभन्दा धेरैले रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको छ । श्रम मन्त्रालयका अनुसार गत वर्षको जनवरीको अन्त्यदेखि बुधवारसम्मको अवधिमा करीब ८० हजार १०० जना बेरोजगार भएको वा जागिर गुमाउने क्रममा छन् ।

मन्त्रालयको तथ्यांकले श्रम अधिकारी र सार्वजनिक कर्मचारी भर्ती कार्यालयसँग भएको तथ्यांकलाई मात्रै समावेश गरिएकोले वास्तविक आकार योभन्दा पनि धेरै हुन सक्ने अनुमान गरिएको छ । तथ्यांकअनुसार म्यानुफ्याक्चरिङ क्षेत्र महामारीको सबैभन्दा धेरै मारमा छ । डिसेम्बर २५ सम्ममा यस क्षेत्रबाट १७ हजार जनाले रोजगारी गुमाएका छन् । यस सूचीमा
दोस्रो स्थानमा रहेको रेस्टुरेन्ट उद्योगबाट रोजगारी गुमाउनेको संख्या ११ हजार छ । खुद्रा क्षेत्रमा १० हजारभन्दा थोरै बढीले रोजगारी गुमाएका छन् । होटल क्षेत्रबाट पनि ९ हजार ६०० जनाले जागिर गुमाएका छन् ।
बिहीबार टोकियो र आसपासका प्रिफेक्चरमा सरकारले आपतकाल घोषणा गर्दैछ । यसका कारण थप रोजगारी गुम्ने चेतावनी कर्मचारी संगठनहरूले दिइरहेका छन् । मन्त्रालयले रोजगारी जोगाउन कम्पनीहरूलाई सरकारले दिने सहुलियतका लागि आवेदन दिन अनुरोध गरिरहेको छ ।
अर्को तथ्यांकले भने महामारीले मानिसहरूको आम्दानी खुम्चिरहेको देखाएको छ । मन्त्रालयका अनुसार नोभेम्बरमा औसत मासिक तलब २ हजार ७०० रहेको छ ।
योसँगै आम्दानी लगातार ८ औं महीना पनि घटेको हो । गत वर्षको सोही अवधिको
तुलनामा भने यो येनमा २ दशमलव २ प्रतिशत कम हो । संकटका कारण केही
कम्पनीहरूले बोनस ह्वात्तै घटाएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्