जिम्मेवारी अनुसार काम गर्न सहकारीलाई अर्थमन्त्रीको निर्देशन «

जिम्मेवारी अनुसार काम गर्न सहकारीलाई अर्थमन्त्रीको निर्देशन


अर्थमन्त्री विष्णु पौडेलले सहकारीकर्मीलाई गुनासो गर्न छोडेर आफ्नो जिम्मेवारी अनुसारको काम गर्न निर्देशन दिएका छन् । संविधानमा राज्यको तीन आर्थिक आधारस्तम्भका रुपमा सहकारीलाई समेटिएपनि त्यस अनुसार भूमिका निर्वाह गर्न नसके भन्दै उनले राष्ट्रिय सहकारी महासंघको साधारणसभामा बोल्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
“राज्यले सहकारीलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा स्वीकार गरिसकेको छ” अर्थमन्त्री पौडेलले भने, “अब गुनासो गर्न छोडेर आफूलाई प्राप्त जिम्मेवारी सतप्रतिशत पूरा गर्नुहोस् ।” सहकारीलाई काम गर्नका लागि कुनै समस्या भए हल गर्न आफू तयार रहेको उनको भनाई थियो । “सहकारीलाई काम गर्नका लागि कुनै समस्या छ प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनरसहित सबै एउटै टेवलमा बसौं” उनले भने, “एउटै राउन्ड टेवलबाट समस्या समाधान गर्न सकिन्छ ।”
साधारणसभामा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले केही संस्थाले सिद्धान्तलाई नपछ्याउँदा सहकारी आन्दोलनमा नै प्रश्नचिन्ह देखापरेको भन्दै यसमा सुधारका लागि महासंघले पनि भूमिका खेल्नुपर्ने वताइन् । “केही सहकारी संस्थाले सिद्धान्त पालना नगर्दा समस्याग्रस्त समेत भएका छन्” उनले भने, “ती संस्था हाम्रो नेटवर्कमा छैन भनेर तपाईहरु पन्छिन मिल्दैन, समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न तपाईहरु पनि योजना बनाएर लाग्नुहोस् ।” सहकारीमा देखिएको विकृति एकैपटक नआएको भन्दै यसतर्फ सहकारी अभियान पनि चनाखो हुनुपर्ने उनको भनाइ थियो । सहकारी अभियानले विभिन्न ऐन संसोधनको माग राखेपनि त्यो तत्काल सम्भव नभएको उनले स्पष्ट पारिन् ।
साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई व्यवस्थित महासंघले भूमिका निर्वाह गरेको जानकारी गराए ।
साधारण सभालाई महासंघका सल्लाहकारहरु सांसद उषा झा, महासंघका पूर्वअध्यक्ष दिपकप्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी अभियानका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरुले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने, सरकारसँग लविङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरु दिगोपना र स्तरवृद्धिका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
सभामा निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले लेखेको १६ औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरुको मार्गदर्शन समेत विमोचन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्