गाईपालनमा बढ्दो आकर्षण, विदेशबाट फर्किएर स्वदेशमै कमाउँदै

प्रकाश पाक्साँवा
तेह्रथुम २४ असोज/
छथर गाउँपालिका–१ आङदिमका ज्ञानेन्द्र कार्कीले वैदेशिक रोजगारी छाडी गाईपालनबाट मनग्ये आमदानी गरेका छन् । उनको गोठमा अहिले विभिन्न जातका १२ वटा दुहुना गाई छन् । उनले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गरेको बताए ।
२०६४ सालमा मलेसिया पुगेका उनले ७ वर्ष विदेशमा बिताए पनि आम्दानी गर्न सकेनन् । नेपाल फर्किएर उनले १९ लाख रुपैयाँ ऋण लिएर गाईपालन व्यवसाय सुरु गरेकोमा १० लाख रुपैयाँ तिरिसकेका छन् । उनले परिवारसहित तीन जनालाई रोजगारी समेत दिएका छन् ।
उनले गाउँमा नै छुर्पी उद्योग सुरु गरेका छन् । बर्षातको समयमा सडक अवरुद्ध हुँदा दूध बिक्रीमा समस्या हुने गरेकाले छुर्पी उद्योग सुरु गरेको उनले बताए । सरकारी अनुदानले यो पेसालाई निकै सहज बनाएको उनको भनाइ छ । तर, सरकारी अनुदानको रकम वास्तविक कृषकको हातमा भन्दा पनि झोले कृषकको हातमा पर्ने गरेकोमा उनको गुनासो छ ।
यस्तै स्नातकोत्तर सकेका सबिन भट्टराईले पनि दुध बेचेर नै वार्षिक १० लाख आम्दानी लिँदै आएका छन् । दुध बिक्रीबाटै मासिक ७० देखि ९० हजार आम्दानी लिदै आएका उनी यस व्यवसायबाट सन्तुष्ट छन् । गाउँमै गाई पालन गरी मनग्ये आमदानी दिन सकिए पछि अहिले यहाँका युवाहरू यसतर्फ आकर्षित भएका छन् । जिल्लामा उन्नत जातको गाई फर्म अहिलेसम्म १० वटा सञ्चालनमा आइसकेका छन् ।