भरतपुरमा खुल्यो टोयटाको पहिलो सर्भिस सेन्टर «

भरतपुरमा खुल्यो टोयटाको पहिलो सर्भिस सेन्टर

भरतपुर- चितवनको भरतपुर स्थित बालमन्दिर रोडमा टोयटाको पहिलो सर्भिस सेन्टर सञ्चालनमा आएको छ । जेनयुन अटो वल्र्ड प्रालिले २ करोड खर्चेर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । आज(आइतबार) टोयटा गाडीको नेपालको लागि आधिकारिक डिस्ट्रीब्युटर युनाइटेड ट्रेडस सिण्डीकेट (युटिएस) का जनरल म्यानेजर महेशकुमार एमले सर्भिस सेन्टरको उद्घाटन गरे ।
सवारी धनीले गाडी रंगाउनेदेखि मर्मत, जेनयुन पार्टस जडानलगायतका सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । सञ्चालक तथा म्यानेजिङ डाइरेक्टर इन्द्र रेग्मीले दैनिक ६ वटा टोयटा गाडीले सर्भिस लिन सक्ने बताए । टोयटाको सफ्टवेयरमार्फत गाडीको समस्या सजिलै पहिचान गर्न स्क्यानिङ गरेर मर्मत गरिने बताए । सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिहरु जडान गरिएको छ ।
उनका अनुसार एकै पटकमा ४ गाडी मर्मत गर्न सकिने पूर्वाधार बनाइएको छ । अटोमेटिक इयर चेकअप, हाइड्रोलिक वासिङ, थ्रिडी ह्विल एलाइमेण्ट, सेरामिक कोटिङलगायतका सेवा दिइने रेग्मीले बताए । सर्भिस सेन्टरमा अन्य ब्राण्डका गाडीले पनि सेरामिक कोटिङ, डिस्इन्फेक्स र वासिङ सुविधा लिन पाउने छन् ।
सर्भिस सेन्टरमा २ जना इञ्जिनियर, ५ जना मेकानिक्स रहेका छन् । अटोमेसन सेनिटाइजर मेसिन मार्फत कोरोना निसंक्रमण गरि टोयटा गाडी मर्मत गरिने व्यवस्था मिलाइएको छ । सेनिटाइज सुविधा होटल, रेष्टुरेण्टले समेत लिन पाउने जनाइएको छ । सर्भिस सेन्टरमा ४ जनाले लगानी गरेका छन् । देशभर टोयटाको १० वटा सर्भिस सेन्टर छन् । चितवनमा ३ सय ५० बढी टोयटाका गाडी चल्ने गरेको अनुमान छ ।
सर्भिस सेन्टर सञ्चालनमा आएको उपलक्ष्यमा ४ दिनसम्म ५१ प्रतिशतसम्म छुट दिने जनाएको छ । लुब्रिकेण्टमा ५, स्पेयर्स पार्टसमा १५, डेण्टपेण्टमा ३०, मेजर वर्कमा लेभर चार्जमा ५० र सेरामिक कोटिङमा १५ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको कम्पजीले जनाएको छ । मेम्बरसीप कार्ड लिने सवारीधनीलाई विविध छुटका अफर दिने योजना बनाइएको बताइएको छ ।
५ हजार तिरेर सिल्भर कार्ड लिनेलाई १२ पटक सम्म वासिङ फ्रि, स्पेयर्स पार्टसमा १० प्रतिशत, लेभर चार्जमा २० प्रतिशतसम्म छुटको योजना छ । यस्तै १० हजार रुपैयाँ तिरेर गोल्ड कार्ड लिनेलाई २४ पटकसम्म वासिङ फ्रि, स्पेयर्स पार्टसमा १५ प्रतिशत र लेभर चाार्जमा २० प्रतिशतसम्म छुट दिइनेछ । २० हजार तिरेर प्लाटिनम कार्ड लिनेलाई ४८ पटकसम्म वासिङ फ्रि, स्पेयर्स पार्टसमा २० प्रतिशत र लेभर चार्जमा १५ प्रतिशतसम्म छुट दिने योजना छ । मेम्बरसीप कार्डको अवधि १ वर्ष रहने छ ।

प्रतिक्रिया दिनुहोस्