नेप्से इन्डेक्स बढे पनि सेयरको मूल्य अझै बढेको छैन

सेयर बजार परिसूचक नेप्से आइतबार हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ । विगतका सबै रेकर्ड तोड्दै अघि बढिरहेको सेयर बजार परिसूचकले आइतबार पहिलो पटक २ हजार २०० विन्दुभन्दा माथि गएर इतिहासकै उच्च २ हजार २३५.७० विन्दुमा बन्द भएको छ । सेयर खरिदबिक्री रकम पनि बढेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से सूचक ४१.२२ अंकले बढेर इतिहासकै उच्च २ हजार २३५.७० विन्दुमा बन्द हुँदा कारोबार रकम पनि बढेको छ ।
आठ वर्षअघि सेयर बजार बढेर १ हजार १७५ विन्दुमा पुगेको थियो । पछि घटेर २९२ अंकसम्म पुग्यो । बजार २९२ अंकमा झर्दा लाखौं लगानीकर्ताले गुमाए भने ठूला लगानीकर्ता टाट उल्टिएर आफ्नो घरजग्गा पनि गुमाए । तर पछि फेरि सेयर बजार बढेर १ हजार ८८१ विन्दु नाघ्यो । पछिल्ला महिनामा सेयर बजारमा सकारात्मक वातावरण बन्दै जाँदा साढे चार वर्षअघिको नेप्सेको उचाइ १ हजार ८८१.४५ विन्दु पार गरेको छ । तर बजार परिसूचक बढे पनि नेप्से १ हजार ८८१.४५ हुँदाको बेलाको सेयरको मूल्य भने अझै पुगेको छैन । अर्थात् सेयरको मूल्य बढेको छैन । सेयर बजार परिसूचक नेप्से इन्डेक्स बढेको छ । सेयरको मूल्य बढ्न बाँकी छ । हाल सेयर बजार परिसूचक बढ्नुमा बैंकको सस्तो ब्याजदर तथा केही नीतिगत सुधारजस्ता कुराले भूमिका खेलेको छ । यही सन्दर्भमा कारोबारले गरेको कुराकानीको सार :
सेयरको मूल्य बढ्नै बाँकी छ
भरत रानाभाट
पूर्वअध्यक्ष
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल
पछिल्लो समय बजारमा केही सुधार भएका छन् । पुँजीबजारमा तलमाथि भइरहनु नियमित प्रक्रिया हो । तर, सरकारले अवलम्बन गरिरहेका नीतिगत कुराले बजारमा प्रभाव पार्ने हुन्छ । हाल बजारले सकारात्मक फड्को मार्नु र इन्डेक्स बढ्नु एउटा कुरा हो । तर बजारमा सेयरको मूल्य चार वर्षअघि नेप्से इन्डेक्स १ हजार ८८१.४५ हुँदाको बेलाको सेयरको मूल्यसम्म पनि पुगेको छैन । सेयरको मूल्य बढ्न बाँकी नै छ । धेरै बैंक तथा वित्तीय संस्थाको सेयरको बजार मूल्य चार वर्षअघिको भन्दा अझै कम छ । हाल बजारमा इन्डेक्स बढ्नुको कारण नियामक निकायको सकारात्मक दृष्टिकोण हो । नियामकले सबैका कुरा सुन्ने तर निर्णय चाहिँ बजारको हितमा गर्ने तथा गरेको निर्णय लागू गर्ने गर्नु पर्दछ । बजारमा लगानी गर्ने मानिस आफैंसँग भएको बचत रकम ल्याएर लगानी गर्ने मान्छे मात्र हुँदैनन् । ऋण लिएर लगानी गर्ने पनि हुन्छन् । बैंकको ऋण सस्तो ब्याजमा पाउँदा तथा यसलाई पुँजी बजारमा लगानी गर्दा बढी प्रतिफल पाइन्छ भनेर धेरै ऋण लिने लगानीकर्ता पनि छन् । जसका कारण बजार बढ्छ । तर जब ऋणको ब्याजदर नै महंँगो हुन्छ, लगानीकर्ता जोखिम उठाउँदैनन् । हाल बजारका लागि सबैभन्दा सकारात्मक भनेको बैंकको सस्तो ब्याजदर हो । हाल लगानी गर्नेका लागि उपयुक्त समय हो । साथै, धितोपत्र बोर्डले ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउन स्वीकृति दिइसकेको छ । सीडीएस एण्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको ‘टी प्लस थ्रि’ लाई ‘टी प्लस टू’ मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेस गरेकोमा बोर्डको स्वीकृतपछि सीडीएससीले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने छ । यसरी धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र घटाइ ‘टी प्लस टू’ कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई पनि थप लगानीको अवसर प्राप्त हुन्छ । साथै कारोबार रकम पनि बढ्छ ।
बजारको बुलिस गति कायमै हुन्छ
छोटेलाल रौनियार
अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम
बंैकको सस्तो ब्याजदरका कारण अहिले बजारमा लगानीयोग्य रकम प्रसस्त मात्रामा छ । यसरी सस्तो ब्याजदरमा कर्जा पाइन थालेपछि ऋण लिएरै पनि सेयरमा लगानी गर्न सजिलो भएको छ । सामान्यतया, बैंकको ब्याजदर घट्दा सेयर बजारलाई सकारात्मक असर पर्ने गरेको छ । यस्तै, नियामक निकायले पनि पुँजी बजारमैत्री नीति ल्याइरहेको छ । जसले बजार बढ्नमा थप मद्दत गरेको छ । भर्खर ब्रोकर कमिसन घटेको छ । सेयर खरिदबिक्री राफसाफ तथा फस्र्योट अवधि पनि घटाएर ‘टी प्लस टू’ अर्थात् दुई दिनमा झारिएको छ । यसबाट कारोबार झन् बढ्छ । अब सेयर खरिदबिक्री गरेको २ दिनभित्रै राफसाफ हुनेछ । सेयर बजार थप चलायमान हुन्छ । बजारको बुलिस गति पनि कायमै हुन्छ । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेलगायत नियामक निकाय सकारात्मक छन् । यसले लगानीकर्ताको हौसला बढेको छ । लगानीकर्ताको भावना बुझेर केन्द्रीय बैंकले नीति ल्याएको छ, धितोपत्र बोर्ड पनि लगानीकर्ताप्रति सकारात्मक छ । सरकार पुँजी बजारका बारेमा सकारात्मक हुँदा बजार बढ्छ । नेपालको सेयर बजारले ४ वर्षको बियरिस साइकल पार गरेर बुलिस ट्रेन्डमा फर्किएको छ । जलविद्युत्मा लगानी गर्ने सम्भावना बढेको छ । जलविद्युत् क्षेत्रका लागि निकै राम्रो मनसुन भएका कारण जलविद्युत् कम्पनीले आफ्नो क्षमताअनुसार काम गर्न पाए । त्यसको प्रभाव वित्तीय विवरणमा देखिन्छ । त्यसैले जलविद्युत् समूहले पनि सेयर बजारलाई माथि तानेको छ । त्यसपछि निर्जीवन र जीवन बीमा समूहले पनि राम्रो गरेको छ ।