द्विदेशीय रेल सञ्चालनको सपना «

द्विदेशीय रेल सञ्चालनको सपना

ठूला–ठूला द्विदेशीय योजनामा लगानी गर्न सक्ने न त नेपालको लगानी सामथ्र्य छ, न त प्राविधिक ज्ञान वा कानुन नै छ ।

वर्तमान सरकार बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको सपनामध्ये भारत–नेपाल तथा चीन–नेपाल द्विदेशीय रेल तथा पानीजहाज धेरै चर्चामा रहे । चीन–नेपाल रेल सञ्चालनमा चीन सरकार आफैं प्राविधिक रूपमा ढुक्क नभईकन नै प्रधानमन्त्री ओलीले यसको प्रचारप्रसार यसरी गरे, मानौं तुरुन्त नेपालमा रसुवाको केरुङ हुँदै चिनिया चुच्चे रेल आइहाल्छ । त्यस्तै, भारतको रेल पनि रक्सौल हुँदै काठमाडौं आइहाल्छ भन्ने सपना यसरी बाँडियो कि मानौं रेल सञ्चालन गर्नु बाटो बनाउनुभन्दा पनि सहज कार्य हो ।
यसैगरी पानीजहाजका लागि त प्रधानमन्त्रीले पुस महिनामा टिकट काट्न तयार बस्न आह्वान नै गरे, जसका कारण प्रधानमन्त्री आफैं बिनायोजना तथा लगानीको सम्भावना सपना बाँड्दै हिँड्दा विकासका काम पनि हाँसोको विषय बन्न पुग्यो । ठूला–ठूला द्विदेशीय योजनामा लगानी गर्न सक्ने न त नेपालको लगानी सामथ्र्य छ, न त प्राविधिक ज्ञान वा कानुन नै छ । त्यसमाथि नेपालका कलिला पहाड छेडेर केरुङ हुँदै चुच्चे रेल कसरी काठमाडौं आउन सक्छ, त्यसको अध्ययनबिना नै सरकार प्रमुखले भाषण गर्दै हिँड्दा नागरिकमा सरकारप्रति वितृष्णा हुनु स्वाभाविक हो । यसरी विस्तृत अध्ययनबिना लगानी तथा प्राविधिक तयारीबिना गरेका भाषण भाषणमा नै सीमित हुनु स्वाभाविक थियो, त्यस्तै भयो ।
चीनले प्राविधिक तथा भौगर्भिक कारणले नेपालमा चुच्चे रेल ल्याउन खर्चिलो हुने बताइसक्दा पनि यथार्थको धरातलमा नटेकी हावामा नै उडिरहनुले सरकार विकासलाई सस्तो तथा भाषणबाजीमै सीमित राख्न चाहन्छ भन्ने स्पष्ट हुन्छ । जबकि करिब दुईतिहाइको सरकारबापत नागरिकलाई विकासको धेरै अपेक्षा थियो । नेपालमा तत्काल सरकार आफैंले गर्न सक्ने बाटोको यथोचित मर्मत–सम्भारसमेत दुई वर्ष लाग्ने यथार्थका बीच सरकारप्रमुखको चुच्चे रेलको सपना जनकपुर–जयनगर रेलले पूरा गर्ने देखिएको छ ।
यसै चाँजोपाँजोका बीच वास्तविकतामा भने बल्ल–बल्ल सरकारले लामो प्रयासपछि जनकपुर जयनगर चल्ने वर्षौंदेखि बन्द रहेको रेल सेवा सञ्चालन गर्ने छाँट ल्याएको छ । नेपाल सरकारले भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत भ्याटबाहेक करिब ८५ करोड रुपैयाँ खरिद गरेका दुई थान रेल चार महिनाअघि असोजमा नेपाल भिœयाएको थियो । तर ती रेल इनरुवामा रहेको रेलको ट्र्याकमै पार्क गरेर राखिएको र यसको सुरक्षार्थ सशस्त्र प्रहरी खटाइएको थियो । रेलको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिए पनि रेलको ट्र्याकबाट ठूलो संख्यामा क्लिप चोरी भइसकेका छन् । यसरी थन्क्याएको चार महिनापछि रेललाई सञ्चालनमा ल्याउने तयारी बल्ल हुँदै छ । नेपाल रेल्वे कम्पनीका अनुसार आउने माघभित्र रेल सञ्चालनको तयारी भइरहेको छ ।
रेल सञ्चालनका लागि निजामती प्रशासनबाट कर्मचारी र विगतमा रेल सेवामा काम गरेका कर्मचारीको व्यवस्थापन गरेर तयारी गरिएको बताइएको छ । निजामती कर्मचारीका लागि विभागीय मन्त्रालयबाट स्वीकृति लिएको तथा विगतमा रेल सेवामा विभागमा काम गरेका कर्मचारी ज्यालादारीमा लिने योजनामा रहेको कम्पनीले २६ जना भारतीय जनशक्ति तथा १ सय ७५ स्वदेशी जनशक्ति व्यवस्थापन गरी रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
रेल सञ्चालनका लागि नेपाल सरकार र भारतीय पक्षबीच भएको सहमतिअनुसार नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम र सञ्चालन क्षमता विकास गर्ने गरी प्याकेजमा समावेश गरिएको थियो । त्यसैले पहिलो चरणमा रेल भारत बिहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरमात्र सञ्चालन हुनेछ भने दोस्रो चरणमा कुर्थादेखि बिजलपुरा खण्ड रेल सञ्चालन हुनेछ । करिब १३ सय यात्रु क्षमता भएको रेलले हाल दैनिक ६ पटकसम्म जनकपुर–जयनगर ‘अप एन्ड डाउन’ गर्ने योजना छ । तर, भाडादरका लागि भने अझै मन्त्रालयको स्वीकृति आइसकेको छैन । कम्पनीले जनरल क्लासमा प्रतिकिलोमिटर २ रुपैयाँ र वातावरण अनुकुल क्लास (एसी) मा यसभन्दा बढी भाडादर प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्