महानगरको बजेट खर्च निराशाजनक

– पोखराको १८ प्रतिशत, विराटनगरको २२ प्रतिशत र काठमाडौंको खर्च १० प्रतिशत
भगवान/दीननाथ/मीनकुमार
काठमाडौं-पोखरा-विराटनगर-पोखरा महानगरले चालू आर्थिक वर्ष २०७७-७८ को ६ महिना पूरा हुनै लाग्दा अहिलेसम्म १८ प्रतिशत बजेट खर्चिएको छ । पुस २२ गतेसम्म १ अर्ब १९ लाख ७२ हजार रुपैयाँ अर्थात् १८.४ प्रतिशत बजेट खर्च गर्न सफल भएको महानगरका लेखा अधिकृत नारायण सुवेदीले जानकारी दिए । जसमा चालू बजेटतर्फ २६.१८ प्रतिशत खर्च भएको छ । यस वर्ष चालू बजेट २ अर्ब ५१ करोड ९१ लाख ४१ हजार रुपैयाँमध्ये हालसम्म ६५ करोड ९६ लाख ५० हजार रुपैयाँ खर्च भएको सुवेदीले बताए । त्यसैगरी चालू आवको लागि २ अर्ब ९० करोड ५६ लाख ३७ हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा हालसम्म ११.७८ प्रतिशत अर्थात् ३४ करोड २३ लाख २२ हजार खर्च भएको जनाइएको छ ।
सडक तथा पुल निर्माणमा १३.४ प्रतिशत अर्थात २६ करोड १२ लाख ९९ हजार ७ सय ३३ रुपैयाँ खर्च भएको छ भने खानेपानी संरचना निर्माणमा २०.८४ प्रतिशत अर्थात १ करोड ८६ लाख २ हजार ५ सय १ रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । हालसम्म महानगरले ८५ करोड २८ लाख राजस्व संकलन गर्न सफल भएको छ । गण्डकी प्रदेश सरकारबाट चालू आवमा महानगरलाई प्रदान गर्ने सशर्त तथा राजस्व बाडफाँडको रकम नगएको सुवेदीले बताए । प्रदेश सरकारबाट ४ करोड ३७ लाख १ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको उनले जनाए ।
संघीय सरकारले १२ करोड १० लाख ६७ हजार ३ सय ७६ रुपैयाँ महानगरलाई प्रदान गरेको छ । नेपाल सरकारबाट यस वर्ष ३० करोड ६४ लाख रुपैयाँ प्राप्त हुने महानगरले अनुमान गरेको छ । कोभिड—१९ ले गर्दा र केही योाजनाको रकम भुक्तानी गर्न बाँकी रहेकोेले गर्दा बजेट खर्च कम भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । चालू बजेटतर्फ ९५ प्रतिशत र पुँजीगत बजेट तर्फ ८० प्रतिशत खर्च गर्ने लक्ष्य राखिएको उनले जनाए ।
विराटनगरमा पनि खर्चको अवस्था उस्तै छ । हालसम्म विराटनगर महानगरले पौने ७४ करोड रुपैयाँ खर्च गरेको छ । महानगरका अनुसार पुस २२ गतेसम्म ७३ करोड ७६ लाख ७० हजार २ सय ३४ रुपैयाँ खर्च भएको हो । जुन चालू र पुँजीगत दुवै शीर्षकको बजेटको तुलनामा २१.८३ प्रतिशत हो । महानगरको चालू आर्थिक वर्ष (२०७७-७८) को बजेट ३ अर्ब ३७ करोड ८१ लाख १० हजार छ ।
महानगरका लेखा अधिकृत सञ्जीव भट्टराईका अनुसार चालूतर्फ ४३ करोड ३८ लाख ९२ हजार ३ सय ८८ रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ २८ करोड ९ लाख २७ हजार २ सय ६५ रुपैयाँ खर्च भएको छ । त्यस्तै महानगरले २ करोड १५ लाख ५० हजार ५ सय ३८ रुपैयाँ नगर विकास कोषलाई साँवा र ब्याजवापत तिरेको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०७६-७७ मा यही अवधिमा महानगरले ७५ करोड ४३ लाख ५ हजार ५३ रुपैयाँ खर्च गर्न सफल भएको थियो । गत आर्थिक वर्ष यस अवधिमा चालूतर्फ ३६ करोड ७६ लाख ७५ हजार १ सय २७ रुपैयाँ र पुँजीगततर्फ ३८ करोड ६७ लाख २९ हजार ९ सय २६ खर्च गरेको थियो । कोभिड–१९ का बीच पनि पुँजीगत खर्च लक्ष्यअनुसार नै खर्च भइरहेको भट्टराईले बताए । चालू आवको लागि महानगरमा ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँ बजेट प्रस्तावित छ ।
यता, काठमाडौं महानगरले चालू आवको पहिलो चौमासिकसम्म कूल बजेटको जम्मा ९.८५ प्रतिशतमात्र खर्च गरेको छ । महानगरको चालू आवमा १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन भएकोमा चालू आवको पहिलो चौमाससम्म १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ खर्च (९.८५ प्रतिशत) खर्च भएको हो ।
काठमाडौं महानगरको चालू आवको पहिलो चौमासिक सम्म चालू खर्च २० प्रतिशत भएको छ । महानगर चालू आवको चालू शीर्षकको बजेट ४ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ रहेकोमा पहिलो चौमासिकसम्म ९७ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो । चालू बजेटअन्तर्गत धेरै बजेट खर्च भएका शीर्षकहरूमा कर्मचारीको पारिश्रमिकमा ३३.८३ प्रतिशत, खाद्यान्नमा ३१.०९ प्रतिशत, औषोधपचारमा ५७.७५ प्रतिशत, कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा ४८.७८ प्रतिशत, सवारी साधन मर्मत खर्च ४९.८९ प्रतिशत रहेका छन् भने कर्मचारी कल्याण कोषमा शतप्रतिशत खर्च भएको छ ।
यसैगरी पुँजीगत बजेट भने ४.७ प्रतिशत खर्च भएको छ । कूल ९ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बजेट मध्ये ४ करोड २६ लाख ५ लाख रुपैयाँ खर्च भएको बजेट शाखा प्रमुख बुद्धरत्न मानन्धरले बताए । पुँजीगत खर्च मध्ये पनि सबैभन्दा धेरै बजेट खर्च आवासीय भवन निर्माण तथा खरिदमा १६.८४ प्रतिशत, निर्मित भवनको संरचनात्मक सुधार खर्च ४५.७७ प्रतिशत भएको छ । यस्तै विद्युत् संरचना निर्माणमा ११.१४ प्रतिशत, सरसफाई संरचना निर्माणमा १५.४७ प्रतिशत खर्च भएको छ भने सडक तथा पुल निर्माणमा पहिलो चौमाससम्ममा ७.६१ प्रतिशत बजेट खर्च भएको छ । दुवै बजेटका कतिपय शीर्षकका बजेट भने पहिलो चौमाससम्म खर्च हुन सकेको छैन ।