सेयर बजारमा निरन्तर नयाँ रेकर्ड «

सेयर बजारमा निरन्तर नयाँ रेकर्ड


केही महिनादेखि लगातार उकालो लागेको सेयर बजार परिसूचक नेप्सेले आइतबार हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर रेकर्ड राखेको छ । आइतबार सेयर बजार परिसूचक पहिलोपटक २२०० बिन्दुभन्दा माथि गएर इतिहासकै उच्च २२३५.७२ बिन्दुमा बन्द भएको छ ।
करिब ८ वर्षअघि सेयर बजार बढेर ११७५ बिन्दुमा पुगेको थियो । त्यसपछि बजार फेरि बढेर साढे चार वर्षअघि १८८१.४५ बिन्दु पार गरेको थियो । हाल बजार परिसूचक बढे पनि नेप्से १८८१.४५ हुँदाको बेलाको सेयरको मूल्यसम्म नपुगेको स्टक ब्रोकर्स एशोसिएशन नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् । “सेयर बजार परिसूचक नेप्से इन्डेक्स बढेको छ तर सेयरको मूल्य बढ्न बाँकी छ,” उनी भन्छन् । हाल सेयर बजार परिसूचक बढ्नुमा बैंकको सस्तो ब्याजदर तथा केही नीतिगत सुधारजस्ता विषयले भूमिका खेलेको पनि उनको भनाइ छ ।
आइतबार कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबारको उच्च रेकर्ड तोड्दै आइतबार नेप्से ४१.२४ अंकले बढेर हालसम्मकै उच्च २२३५.७२ बिन्दुमा पुग्दा बजारमा २०७ कम्पनीको एक करोड ५० लाख बढी कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा किनबेच भएको छ । गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार जीबन बिमा उपसमूहबाहेक सबै उपसमुहका सूचक सकारात्मक रहेका छन् भने प्रभु बैंकको सबैभन्दा धेरै ४० करोड २९ लाख धेरै रकमको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्