सेयर किनेपछि बेच्नैपर्ने हो ? «

सेयर किनेपछि बेच्नैपर्ने हो ?

सेयर बेचेर वा किनेर कमाउने अनि क्षणिक नाफाका लागि बेच्न कि दीर्घकालीन नाफाका लागि पाल्ने व्यक्तिगत क्षमता र प्राथमिकतामा निर्भर गर्छ ।

‘सेयरमा नाफा कमाउन समयमा बेच्न जान्नुपर्छ’, ‘बेच्न जान्नेले कमाउँछ’, ‘सस्तोमा किन्ने र महँगोमा बेच्ने’, ‘त्यत्रो भाउ बढ्दा के हेरेर बसेको ?’, ‘कित्तालाई पैसा नबनाएसम्म सेयर कागजको खोस्टा’, ‘नाफा भनेको पोर्टफोलियो हेर्दै घुटुघुटु थुक मात्रै निल्ने कि सुटुसुटु बुक पनि गर्ने ?’ जस्ता मूल्य र कारोबारसम्बन्धी अनेक कुरा सुनिन्छ । सेयर लगानी भने पनि आमधारणा ‘सेयर व्यापार (कारोबार)’ नै देखिन्छ । उसो भए के सेयरको मुनाफा कारोबार वा मूल्यान्तर (किनबेच मूल्यको अन्तर) बाट मात्र हुने हो ?, सेयर नबेची मुनाफा हुन्न त ?, लगानी भन्ने अनि किन्न पाएको छैन बेच्नैपर्ने ?, के लगानीको प्रतिफल कमाइ होइन ? जस्ता सवालको सहज र स्पष्ट जवाफ सम्भव छैन ।
सम्भवतः बजार र पैसा हावी भएर सेयर कित्ता र लगानी भन्दा कारोबार र सट्टेबाजी प्राथमिकतामा परेको हुन सक्छ । यस्तै बुझाइले आजकाल कम्पनीले सर्वसाधारणबाट लगानीका लागि अङ्कित मूल्यमा निष्कासित सेयरसमेत सूचीकृत हुनेबित्तिकै बेच्न हतार हुन्छ । कम्पनीको व्यवसाय, भविष्य र मुनाफाभन्दा कति मूल्यमा बेच्ने भन्ने सवालले प्राथमिकता पाउँछ । सेयर नबेची नाफा हुन्न भन्ने सोचले क्षणिक नाफा कमाइए पनि दीर्घकालीन चक्रवृद्धि लाभ (क्युमुलेटिभ कम्पाउन्डिङ प्रफिट) गुमाइरहँदा बजार स्थिरताका लागि आवश्यक लगानीकर्ताहरू तयार हुन सकेको छैनन् ।

सेयर किनबेच
सेयर बजार अनि क्रेता र विक्रेता भएपछि सेयरको किनबेच स्वाभाविक हुन्छ । किनबेच नहुने भए बजारको आवश्यकतै हुँदैनथ्यो । राज्यले लगानी, व्यवस्थापन र नियमनमा बजार सञ्चालन पनि गर्दैनथ्यो होला । प्राथमिक बजारमा किनेको सेयर सम्पत्तिमा तरलता (नगदमा परिणत) प्रदान गर्न अनि किन्न नपाएका वा त्यहाँ पहुँच र इच्छा नहुनेहरूलाई लगानीको अवसर दिन पनि सेयर बजार (दोस्रो बजार) आवश्यक हुन्छ नै । अझ कुनै समय किनिएको सेयरमा निहित जोखिम व्यवस्थापन गर्न वा बेचेर बाहिरिने सुविधाका लागि पनि बजार चाहिन्छ । बजारमा तोकिएको प्रावधानभित्र रहेर इच्छुकले मूल्यान्तरको खेल खेल्न वा किनबेच गर्न पाउँछन् । कहिले, कतिमा, कुन सेयर किन ‘किन्ने’ वा ‘बेच्ने’ नितान्त व्यक्तिगत कुरा हो । बजार खुल्यो भन्दैमा सबैले किनबेच गर्नैपर्छ भन्ने हुँदैन ।
सबैलाई लगानीकर्ता भने पनि सेयर किनबेच नै पेसा–व्यवसाय बनाएका व्यापारी (कारोबारी) र दीर्घकालीन लगानीकर्ताको किनबेच उद्देश्य र तरिका फरक हुन्छ । लगानीकर्ता सम्पत्ति जोड्न, सम्बन्धित कम्पनीमा स्वामित्व, प्रतिफल, दीर्घकालीन लाभ र लागत व्यवस्थापन अर्थात् ‘किनेर कमाउन’ सेयर किन्छ । कारोबारी ‘बेचेर कमाउन’ सेयर किनिरहन्छ । यस्तै, लगानीकर्ता लगानी व्यवस्थापन, वित्तीय वा व्यावहारिक कारण सेयर बेच्दा कारोबारीले मुनाफाका लागि सेयर बेचिरहेको हुन्छ । सेयर किनबेचमा पार्किङ वा भण्डारणको काम लगानीकर्ता र ओसारपसार कारोबारीले गरिरहेका हुन्छन् । बजारले पैसाको लोभ र त्रासमा बेच्न र आश देखाएर किन्न उक्साइरहन्छ ।

किनबेच (कारोबार) को लाभ र लागत
किनबेच मूलतः बेचेर वा सट्टेबाजीबाट कमाउने सिद्धान्त निर्देशित हुन्छ । सेयरलाई नगदमा परिणत गर्न वा सस्तोमा किनेको सेयरबाट ‘मूल्यगत लाभ (पुँजीगत लाभ)’ लिन बेच्नुको विकल्प रहन्न । बेच्दा सेयर र मुनाफा नगदमा परिणत हुन्छ, अर्थात् सेयर गुमाएर रकम पाइन्छ । सेयर व्यापारीको व्यावसायिक धर्म र कर्म नै सस्तोमा किनेर महँगोमा बेच्ने हो । नबेचे नाफा कमाइन्न र व्यवसाय चल्दैन । यसमा भोलि किन्ने ग्राहक नपाउने, सस्तो हुने, ब्याज र मार्जिनका लागि कतिपय अवस्थामा घाटामा समेत बेच्नुपर्ने जोखिम पनि हुन्छ । किनबेच सीप अनि बिक्री मूल्य र किन्दाको प्रत्यक्ष लागतका आधारमा नाफाघाटा हुन्छ । धितोपत्र दलाली कमिसन, सेवोन शुल्क, डीपी शुल्कसहितको प्रतिकित्ता खुदमूल्य नै वास्तविक प्रत्यक्ष लागत हो । तर अप्रत्यक्ष मेहनतको पारिश्रमिक, मेरो सेयर र डिम्याट खाताको वार्षिक शुल्क र ब्याज पनि लागिरहेको हुन्छ । कारोबारीले गुमाउने लाभांश र चक्रवृद्धि लाभ पनि किनबेचको अवसरगत लागत (अपरच्युनिटी कस्ट) को रूपमा देखा पर्छ । प्रत्येक पटकको दलाली कमिसन र शुल्कले गर्दा किनबेच तुलनात्मक रूपमा महँगा पर्ने भए पनि ‘मूल्यगत लाभ’को अवसर अनि जोखिम पनि बढी हुने मान्यता राखिन्छ । ब्याजदर, रकमको स्रोत आदिले ‘अप्रत्यक्ष लागत’ भने फरक पर्न सक्छ । लागत घटाउन सस्तोमा किन्न विक्रेतासँग मोलमोलाइ वा वैधानिक सीमाभित्र तर्साउने÷फकाउने उपाय मात्र हुन्छ । नेपाली बजारमा किनबेच गर्न करिब पाँच–सात दिन लाग्ने अवस्थामा अवसरगत लागत र जोखिमसमेत बढी मानिन्छ ।

किनेर नबेच्दा (सेयरधारण वा लगानी) को लाभ र लागत
बेच्न मात्र सेयर किनिँदैन । सम्बन्धित कम्पनीमा स्वामित्व, अधिकार र जिम्मेवारीसँगै व्यावसायिक मुनाफाका आधारमा लाभसँगै लागत व्यवस्थापनका लागि पनि सेयर किन्निन्छ, जसलाई लगानी भनिन्छ । सेयर लगानीमा लाभांश खोजिन्छ र प्रतिफल हेरिन्छ, पुँजीगत लाभ दोस्रो प्राथमिकतामा पर्छ । ‘वास्तविक लागत (रियल कस्ट)’का आधारमा प्राप्त हुने लाभांशले लाभ वा प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) निर्धारण हुन्छ । लगानीमा कम्पनीले दिने नगद वा सेयर लाभांशका साथै चक्रवृद्धि लाभ अनि बिक्री गर्दाको पुँजीगत लाभको अवसरसमेत हुन्छ । खरिद गर्दा प्रतिकित्ता मूल्य, दलाली कमिसन, सेवोन र डीपी शुल्कसहित तिरिने कुल रकम वास्तविक वा प्रत्यक्ष लागत हो, तर अप्रत्यक्ष रूपमा मुद्रास्फीति, धारित (होल्ड) समयको ब्याज र कारोबार गरेर हुनसक्ने अवसरगत लागतहरू पनि हुन्छन् ।
लगानीमा लाभ वा प्रतिफल बढाउने उपाय औसत लागत घटाउने हो । कम्पनीको सेयर लाभांश र अंकित मूल्यमा प्रदान गर्ने हकप्रदले कतिपय अवस्थामा प्रतिकित्ता लागत घटाउँदै गर्दा सस्तोमा थप कित्ता किनेर औसत लागत घटाउँदै प्रतिफल बढाउने अवसर लगानीमा रहन्छ, जुन कारोबारमा सामान्यतः असम्भव हुन्छ । उदाहरणका लागि एनएमबी बैंकको रु. ३ सय ३३ प्रतिकित्ता एफपीओबाट १ सय कित्ता सेयर किनेकाहरूको भारित औसत लागत घटेर करिब रु. २ सय ३५ छ भने अझ यसमा प्राप्त ७३ कित्ता बोनसको रु. ७ हजार ३ सय र नगद लाभांश रु. ४ हजार १ सय ७३ समेत घटाउँदा खुद नगद भुक्तानीका आधारमा प्रतिकित्ता लागत केवल रु. १ सय ६८ जति हुन आउँछ । सेयर लाभांशकै कारण एफपीओ किनेकाहरूको औसत लागत रु. ३ सय ३३ बाट घट्दै रु. ३०२.६१, २८४.१९, २५२.१२ बाट करिब २३४.६४ पुगेको छ भने लाभांशका आधारमा प्रतिफल दर क्रमशः ४.५, १०.५७, ८.४५ र ६.४३ प्रतिशत देखिन्छ । जबकि बजारमा मूल्यका आधारमा बैंकको २०७६÷७७ को प्रतिफल दर करिब ३.७९ प्रतिशत मात्र थियो ।

तुलनात्मक लाभ र विकल्प
सेयर किनबेच र पालनको प्रत्यक्ष वा नगद भुक्तानीका आधारमा हुने वास्तविक र अवसरगत लागतसँगै लाभ पनि फरक छन् । कतिपयलाई तत्कालको मुनाफा रकमका कारण किनबेचको लाभ त कसैलाई लाभांश र दीर्घकालीन लाभ आकर्षक लाग्न सक्छ । दुवैको आ–आफ्नै लागत लाभसँगै अवसर र जोखिमले गर्दा तुलनात्मक रूपमा कुन बढी लाभदायक भन्ने प्रामाणिक जवाफ कसैसँग नहोला । सूचना र बजारमा विशेष पहुँच भएको, माग र आपूर्तिको सही विश्लेषण गर्दै माग र आपूर्तिसँगै मूल्यलाई स्वार्थ अनुकूल डो-याउन सक्नेका लागि किनबेच तुलानात्मक रूपमा बढी लाभदायक हुन सक्ला ।
तर लगानी गर्दै लागत व्यवस्थापनबाट प्रतिफल बढाउने र सम्पत्ति आर्जन (वेल्थ माक्सिमाइजेसन) गर्नेलाई क्षणिक ‘मूल्यगत लाभ’ आकर्षक नलाग्न सक्छ । लगानी मात्रै गर्दा पनि लागत घट्दै र प्रतिफल दर बढ्दै जाँदा तत्कालीन किनबेच लाभसँग तुलना सहज छैन । अझ सही र प्रभावकारी लगानी व्यवस्थापनमा प्राप्त हुने चक्रवृद्धि लाभ र प्रतिफल दर किनबेच मुनाफाभन्दा बढी हुने मान्यता राखिन्छ ।
एनएमबीकै उदाहरण लिँदा एफपीओको १ सय कित्ता रु. ५ सयका दरले बेचेर पाइने करिब रु. ५० हजारभन्दा नबेच्दा हुने १ सय ७३ कित्ताको रु. ४ सय १० ले हुने सेयर सम्पत्ति रु. ७० हजार ९ सय ३० लाभदायक देखिन्छ । तर बेचेको रकमबाट पुनःकारोबारमा सम्भावित नाफा अनि नबेची होल्ड समय र लागत व्यवस्थापन गर्दाको वास्तविक लाभ व्यक्तिगत क्षमता अनुसार फरक हुनेछ ।
किनबेच र लगानी दुवैको केही लाभ त्याग गर्दै मिश्रित (हाइब्रिड) तरिकाले सेयर कारोबार र लगानी व्यवस्थापन अर्को विकल्प हुन सक्छ, जसमा बेच्दाको क्षणिक र नबेच्दाको दीर्घकालीन मुनाफा दुवै पाउन र लागत घटाउँदै लाभ बढाउन सकिन्छ । सेयर बेचेर वा किनेर कमाउने अनि क्षणिक नाफाका लागि बेच्न कि दीर्घकालीन नाफाका लागि पाल्ने व्यक्तिगत जोखिमवहन क्षमता, किनबेच र लगानी सीप, धैर्यता र मुनाफाको प्राथमिकतामा निर्भर गर्छ । सेयर बेच्नै नहुने वा पाल्नै नहुने हुन्न, बेच्दा र पाल्दाको लागत–लाभ, जोखिम र अवसरमा स्पष्ट हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्