विदेशीमुद्रा आर्जनमा विप्रेषण

विश्वको निर्धनतम मुलुकमध्ये नेपाल पनि एक हो । विगत २–३ दशकदेखि राजनीतिक अस्थिरताको निरन्तरताले निर्धनतम मुलुकलाई झन् निर्धनतम बनाउन थप ऊर्जा प्रदान गरिरहेको छ । सन् १९९० को दशकको सुरुमा नेपालको द्रुत विकासको परिकल्पना गरियो । विश्व परिवेश र नेपालकै पनि राजनीतिक परिवर्तनका कारण आर्थिक जग तयार गर्न आर्थिक उदारीकरण प्रणालीको सुरुवात गरियो । नेपालका दुई छिमेकी मुलुकहरू भारत र चीनले पनि खुला र उदार आर्थिक प्रणालीको अनुसरण गरे । चीनले विगत दुई–तीन दशकदेखि निरन्तर रूपले वार्षिक ७–१२ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त गरिरहेको छ । यही आर्थिक प्रणालीले चीनलाई गरिबीमुक्त बनायो । यति मात्र होइन, चीन विश्वको दोस्रो अर्थतन्त्र बन्न पुग्यो । भारतले ७–९ प्रतिशतभन्दा बढी निरन्तर रूपले आर्थिक वृद्धिदर प्राप्त गर्न सफल भइरहेको छ । छिमेकी मुलुकहरूको उदेकलाग्दो आर्थिक विकास उदार र खुला आर्थिक प्रणालीअन्तर्गत नै भइरहेको छ । छिमेकी मुलुकहरूको आर्थिक वृद्धि निर्यातमा आधारित रहेको छ । चीनले औद्योगिक वस्तुको निर्यात गर्छ भने भारतले सेवाक्षेत्रको । यी दुई मुलुकको विकास आर्थिक उदारीकरण प्रणालीको उपज हो भनेर भन्न सकिन्छ । उदार र खुला आर्थिक प्रणाली हुँदाहँुदै पनि नेपालको विकासमा छिमेकीको प्रभाव पर्न सकेन । फलस्वरूप आर्थिक वृद्धिदर वार्षिक ४ प्रतिशतभन्दा तल खुम्चिन बाध्य भइरहेको छ ।
श्रमको गतिशीलतासन्
१९८० को दशकमा तीव्र वेगमा दौडेको उदारीकरण र विश्वव्यापीकरणको प्रभाव नेपाललाई पनि प¥यो । विश्वका मुलुकहरूको आर्थिक आकार, आयतन, व्यापारको दायरा फराकिलो भयो । पुँजी, प्रविधि र उद्यमशीलता एक देशबाट अर्को देशमा स्थानान्तरण हुने प्रक्रियाको सुरुवात भयो । वैदेशिक प्रत्यक्ष लगानीले लोकप्रियता पायो । यसले अन्तर्राष्ट्रिय व्यापारलाई मलजल ग¥यो । जसरी पुँजी, उद्यमशीलता, वस्तु तथा सेवाले विश्व बजार पाउन सहजता पायो, त्यसरी नै श्रमको बजार पनि विश्वव्यापी रूपमा विस्तार हुन पुग्यो । पुँजी, प्रविधि र उद्यमशीलताको तुलनामा श्रमको बजार बढी लचिलो हुन लाग्यो । विकासशील र विकसित मुलुकहरूमा श्रमको मागको तुलनामा आपूर्ति कम हुन लाग्यो । यी मुलुकले अविकसित मुलुकहरूबाट श्रम आयात गर्न लागे । यसका दुई मुख्य कारण– अविकसित मुलुकहरूमा उच्च जनसंख्याको चाप हुनु, त्यसलाई खपत गर्ने अवसरहरूको सिर्जना हुन नसक्नु, विकासशील र विकसित मुलुकहरूमा पुँजी निर्माणको कार्यले तीव्र गति लिनु तथा जनसंख्याको चाप न्यून रहनु । नेपालमा जनसंख्या वृद्धिको चाप एकातिर उच्च छ भने अर्कातिर यसलाई खपत गर्ने विकास कार्यले तीव्रता लिन सकिरहेको छैन । त्यसैले विश्व बजारमा नेपाली श्रमको गतिशीलतामा वृद्धि भइरहेको छ । भनिन्छ, नेपालबाट ४० लाख युवायुवती बिदेसिएका छन् ।
विदेशी मुद्राका स्रोतहरू
नेपालको अर्थतन्त्र परजीवी छ । छिमेकी मुलुकहरूबाट आयात मात्र गरिन्छ । निर्यात गर्ने न वस्तुहरूको उत्पादन नै हुन्छ न सेवाको विस्तार । वस्तु आयातका निमित्त विदेशी मुद्राको आवश्यकता पर्छ । यसका निमित्त विदेशी मुद्रा आर्जन गर्न जरुरी हुन्छ । विदेशी मुद्रा आर्जन गर्ने राज्यका विभिन्न स्रोत हुन्छन् । पर्यटन, सेवा, ब्याज, निर्यात, वैदेशिक कूटनीतिज्ञ, विदेशी ऋण र सहायता, विप्रेषण र विविध स्रोतहरू पर्छन् । यी स्रोतहरूमध्ये पर्यटन, निर्यात, सेवा आदि कुनै पनि देशका विदेशी मुद्रा आर्जन गर्ने स्थायी स्रोतहरू हुन् । जति–जति देशको विकास हँुदै जान्छ, त्यति–त्यति यी स्रोतहरूबाट वैदेशिक मुद्राको बढी आर्जन हुने गर्छ । यसको कारण के हो भने देश विकास हुँदा उद्योग व्यवसायको विकास हुन्छ । पर्यटन व्यवसायले गति लिई विदेशी पर्यटकहरूलाई आकर्षित गर्छ । तर, नेपालको विकास हुन नसकेका कारणले यी स्रोतहरूबाट विदेशी मुद्राको आर्जन तीव्र वेगमा हुन सकिरहेको छैन । निर्यात र पर्यटनको तुलनामा नेपाल बढी वैदेशिक मुद्रा आर्जन गर्ने स्रोत विप्रेषण बनेको छ । विगत पाँच वर्षको अवधिमा यी तीन स्रोतहरूबाट आर्जित विदेशी मुद्राको स्थिति निम्नानुसार रहेको छ ।
१. निर्यात: विगत पाँच वर्ष (सन २०११–२०१५) को औसत आँकडाअनुसार नेपालमा आर्जित कुल वैदेशिक मुद्राको ९ प्रतिशत भाग निर्यातबाट भएको छ । त्यस्तै गरेर सन २०१६ मा कुल गाहस्थ्र्य उत्पादनको करिब ११ प्रतिशतको हाराहारीमा निर्यात भएको थियो, अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत हिस्सा निर्यातको छ । निर्यातबाट प्राप्त विदेशी मुद्राको आम्दानी पर्यटन उद्योगको भन्दा बढी देखिन्छ भने विप्रेषणको तुलनामा धेरै कम । सन् २०११–२०१५ को अवधिमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात स्थिरमात्र रहेको होइन कि ह्रासोन्मुख देखिएको छ, अर्थात् सन् २०११ मा कुल वैदेशिक आम्दानीको ९.५ प्रतिशत हिस्सा निर्यातको रहेकोमा सन् २०१५ मा यो हिस्सामा १२ प्रतिशतले ह्रास आई ८.४ प्रतिशत हुन पुगेको छ । नेपालको अर्थतन्त्रलाई भरपर्दो र दरिलो बनाउन वस्तु तथा सेवाको उत्पादन गरी निर्यात बढाउनुपर्छ । नेपालमा उपलब्ध स्रोतसाधनको दोहन गरी निर्यात बढाउन सक्दा नेपालको विकासका निमित आवश्यक विदेशी मुद्राको आम्दानी एकातिर हुन्छ भने अर्कातिर भुक्तान सन्तुलनलाई अनुकूल बनाउन सकिन्छ । यसका अतिरिक्त प्रशस्त रोजगारीका अवसर सिर्जना हुन्छन् ।
२. पर्यटन: नेपालमा विदेशी मुद्रा आर्जन गर्न सक्ने अर्को महŒवपूर्ण क्षेत्र पर्यटन हो । भौगोलिक, सांस्कृतिक, सामाजिक, धार्मिक र वातावरणीय विविधता, प्राचीन कलाकौशलको धनी, प्राकृतिक सौन्दर्य, शान्तिका दूत बुद्धको जन्मथलो, विश्वको अग्लो टाकुरो सगरमाथाको देश आदि विशेषताले विदेशी पर्यटकहरूलाई आकर्षण गराइरहेको छ । नेपालमा पर्यटन उद्योगको पर्याप्त सम्भावना भएको तथ्यको पुष्टि यी सबै विशेषताले गरिरहेका छन् । तर, पर्यटन उद्योगको उचित विकास हुन नसकेका कारणले नेपालको अर्थतन्त्रमा जति योगदान यसले दिन सक्थ्यो, त्यसको ५ प्रतिशत पनि नेपालले लिन सकिरहेको अवस्था छैन । विगत पाँच वर्षको औसतमा हेर्दा कुल वैदेशिक मुद्राको आर्जनमा ६ प्रतिशत मात्र पर्यटन उद्योगको हिस्सा रहेको छ । पर्यटन उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ८–९ प्रतिशत योगदान पु¥याउन सकेको छ । यो उद्योगको विकासले नेपालीहरूका निमित्त रोजगारीका अवसरहरूको विकास हुन्छ भने वैदेशिक मुद्राको आर्जन हुन्छ । सन् २०१५ मा नेपालबाट भएको कुल निर्यातबाट हुने आम्दानीको करिब २३ प्रतिशत पर्यटन उद्योगको हिस्सा रहेको थियो ।
३. विप्रेषण:वार्षिक ६० प्रतिशत कुल वैदेशिक मुद्राको आम्दानी विप्रेषणबाट प्राप्त भइरहेको छ । विप्रेषणको यो हिस्सा निर्यात र पर्यटनबाट प्राप्त आम्दानीको तुलनामा क्रमशः ७ गुणा र १० गुणाले बढी छ । सन् २०१६ मा विप्रेषणको आकार नेपालको कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतको हाराहारीमा रहेको छ । ग्रामीण इलाकामा अधिकांश घरपरिवारको चुलो बाल्ने महान् कार्य विप्रेषणले नै गरिरहेको छ । सन् २०११ मा कुल विदेशी मुद्राको आर्जनमा विप्रेषणको हिस्सा ५३.८ प्रतिशत थियो । यो हिस्सा १५ प्रतिशतले वृद्धि भई सन् २०१५ मा ६१.९ प्रतिशत पुगेको छ ।
विप्रेषण गरिबीलाई न्यूनीकरण गर्ने स्रोत मात्र रहेको होइन कि नेपालको प्रतिकूल भुक्तानी सन्तुलनलाई केही हदमा अनुकूल बनाउन सहयोग पनि गरिरहेको छ । सन् १९६०–१९८० का दशकहरूमा विदेशी मुद्राको स्रोतहरूमध्ये विदेशी सहायता र विदेशी ऋणले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, सन् १९९० को दशकपछि यो स्थान विप्रेषणले लिएको छ । हुन त १९९० को दशकमा पनि विदेशी ऋण र सहायता नेपालमा भित्र्याउन होडबाजी नै चलिरहेको थियो । उदार अर्थ नीति कुनै पनि देश विकासका लागि अपरिहार्य सर्त हो । यसले देशमा उपलब्ध स्रोतलाई परिचालन गरी प्रतिस्पर्धात्मक वातावरणमा वस्तु तथा सेवाको उत्पादन गरी विशिष्टीकरणतर्फ उन्मुख गराउँछ । उदाहरणस्वरुप छिमेकी मुलुकहरू चीनले वस्तु उत्पादनमा विशेषता आर्जन गर्यो भने भारतले सेवाक्षेत्र विशेष गरेर आईटीमा । चीन र भारतमा उत्पादित वस्तु तथा सेवाले विश्व बजारमा स्थान पाइरहेका छन्, तर नेपालले उदार अर्थनीतिको सदुपयोग गर्न सकेन । आफूसँग रहेको सस्तो श्रमको प्रयोग गर्नका लागि न वैदेशिक लगानी भित्र्याउन सफल भयो न बचेखुचेका उद्योगहरूको संरक्षण र संवद्र्धन गरी औद्योगिक उत्पादन बढाउनमा मद्दत पु¥यायो । उदारीकरणले नेपालको अर्थतन्त्रमा जुन योगदान पुर्याउन सक्थ्यो, फितलो र स्वार्थी कार्यान्वयनका कारणले त्यसो हुन सकेन । बेरोजगारीमा वृद्धि भयो । मानिसको रोजीरोटीका सवालहरू अनुत्तरित रहे । रोजिरोटीका लागि बिदेसिन बाध्य भए । यसको परिणाम हो— आजको विप्रेषण र यसको योगदान ।(लेखक अर्थशास्त्री हुन् ।)